हेटौँडा, कात्तिक १७ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देखिने गरी बजेट विनियोजन गर्ने बताउनुभएको छ । मंगलबार हेटौँडामा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित स्वास्थ्य कार्यक्रमको एकीकृत समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने बताउनुभएको हो । ‘आउने वर्ष हामीले शिक्षा र स्वास्थ्यमा देखिने गरी बजेट विनियोजन गर्छौँ र यहाँहरुले पनि देखिन गरी काम गर्नुहुने छ भन्ने विश्वास लिएको छु’, थापाले भन्नुभयाे । उहाँले विगतमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न असहज मान्ने परम्परा रहेको उल्लेख गर्दै आगामी वर्ष भने शिक्षा र स्वास्थ्य क्षेत्रमा स्पष्ट रूपमा देखिने गरी बजेट विनियोजन गरिने जानकारी दिनुभयो । विनियोजित बजेटअनुसार सम्बन्धित निकायले पनि परिणाम देखिने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूको स्तरवृद्धिका लागि प्रदेश सरकारले निरन्तर काम गरिरहेको भए पनि अपेक्षाअनुसार पर्याप्त हुन नसकेको स्वीकार गर्नुभयो । अस्पतालहरूमा थप विशेषज्ञ सेवा विस्तार गर्न तथा आवश्यक औजार र उपकरणको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ सेवा सञ्चालन हुन थालेको र जिल्लावासीले आफ्नै जिल्लामा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेको बताउनुभयो । प्रदेश सरकार गठन भएयता प्रादेशिक अस्पतालहरूमा उपचारका लागि आउने बिरामीको चापसमेत बढेको उहाँले जानकारी दिनुभयो । ‘आज प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा सञ्चालन भएको छ । जिल्लावासीलाई जिल्लामा नै सेवा दिन सकेका छौँ । प्रदेश सरकार बने पछि प्रादेशिक अस्पतालमा उपचार गराउन आउने बिरामीको चाप बढेको छ’, उहाँले भन्नुभयाे । स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि पूर्वाधार र उपकरणसँगै स्वास्थ्यकर्मीका समस्या समाधान पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेशको स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीका समस्या समाधान गर्न प्रदेश सरकारले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशका अस्पतालहरूमा विशेषज्ञ स्वास्थ्य सेवा थप विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार क्रियाशील रहनेसमेत बताउनुभयो ।
आउने वर्ष शिक्षा र स्वास्थ्यमा देखिने बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री किरण थापा मगर

Read Complete Original Article
Published originally on जनताटाइम्स





