Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना
Photo / Coverage: पर्दाफास

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको अधिकतम सीमा १० करोड ९० लाख अस्ट्रेलियन डलर वा विश्वव्यापी आम्दानीको पाँच प्रतिशत, जुन बढी हुन्छ, त्यही हुनेछ । नयाँ व्यवस्थाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालसँगै अनलाइन खेल, मोबाइल एप तथा कृत्रिम बौद्धिकता (एआई)मा आधारित संवाद सेवाहरूलाई समेत समेट्नेछ । विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई हानिकारक सामग्रीबाट जोगाउने, अनलाइन दुव्र्यवहार नियन्त्रण गर्ने र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने डिजिटल सुविधाहरूको जोखिम कम गर्ने कानुनको मुख्य उद्देश्य रहेको सरकारले जनाएको छ । नयाँ कानुनको अर्को महत्त्वपूर्ण पक्ष १६ वर्ष वा सोभन्दा माथिका अस्ट्रेलियाली प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफूले हेर्ने सामग्री नियन्त्रण गर्न पाउने व्यवस्था हो । उनीहरूले चाहेको अवस्थामा एल्गोरिदममा आधारित व्यक्तिगत सिफारिस बन्द गरी आफूले पछ्याएका व्यक्ति तथा संस्थाका सामग्री मात्र हेर्न सक्नेछन् । यसले सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको रुचि, गतिविधि र व्यवहारका आधारमा निरन्तर सामग्री सिफारिस गर्ने प्रणालीमाथि प्रयोगकर्तालाई थप नियन्त्रण दिनेछ । त्यसैगरी, अनलाइन सेवाबाट हानि व्यहोरेका व्यक्तिलाई सम्बन्धित प्रविधि कम्पनीविरुद्ध अस्ट्रेलियाली अदालतमा कानुनी कारबाही अघि बढाउन सक्ने अधिकारसमेत नयाँ कानुनले दिएको छ । नियामक निकायले वास्तविक तस्बिर प्रयोग गरी नक्कली अश्लील तस्बिर बनाउने एप तथा वेबसाइटमाथि कारबाही गर्न सक्ने अधिकार पनि पाउनेछ । सञ्चारमन्त्री अनिका वेल्सले नयाँ कानुनले प्रविधि कम्पनीहरूलाई आफ्ना सेवाबाट उत्पन्न हुन सक्ने जोखिमको जिम्मेवारी लिन बाध्य बनाउने बताएकी छन् । उनका अनुसार अनलाइन सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी अब प्रयोगकर्ता र अभिभावकमा मात्र सीमित नरही सेवा उपलब्ध गराउने कम्पनीहरूमा पनि रहनेछ । सरकार र ग्रिन्स पार्टीबीच भएको सहमतिपछि संसद्बाट पारित भएको यो विधेयकको विपक्षी लिबरल पार्टी तथा केही प्रविधि उद्योगका प्रतिनिधिहरूले भने आलोचना गरेका छन् । उनीहरूले हानिकारक सामग्रीको परिभाषा स्पष्ट नहुँदा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्न सक्ने र कम्पनीहरूले जरिवानाबाट बच्न कानुनी रूपमा वैध सामग्रीसमेत हटाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । कानुन कार्यान्वयनका लागि प्रविधि कम्पनीहरूलाई १२ महिनाको तयारी अवधि दिइएको छ । त्यसपछि नयाँ व्यवस्था पूर्ण रूपमा लागू हुनेछ । यसअघि सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन ल्याएको अस्ट्रेलियाले पछिल्लो व्यवस्थामार्फत विश्वका ठूला प्रविधि कम्पनीमाथि नियमन थप कडा बनाएको छ । नयाँ कानुनलाई अस्ट्रेलियाको डिजिटल सुरक्षा नीतिमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । यसले प्रविधि कम्पनीहरूको व्यावसायिक जिम्मेवारी, प्रयोगकर्ताको गोपनीयता, बाल सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताबीचको सन्तुलनबारे नयाँ बहससमेत सिर्जना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने
OthersJust now

बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ। भेटघाटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न […] ...

मकालु खबर
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
OthersJust now

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट । ...

अनलाइन खबर
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
OthersJust now

जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार

१० मंसिर, पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ पोखराका सरकारी कार्यालयहरु र निजी व्यापारिक प्रतिष्ठानमा लागेको आगो दन्किरहेकै थियो । साँझसम्म १९ वर्षीय विवश घर्तीमगर, ३२ वर्षीय रमेश शर्मा, दिपेश परियार, सौरव जैसवाललगायतलाई प्रहरीको गोली लागेको खबर सार्वजनिक भएको थियो । २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीकै गेटमा ठूलो भीड… ...

अनलाइन खबर
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
OthersJust now

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement