क्यानबेरा । अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका रूपमा हेरिएको छ । उनी यसअघि लिबरल पार्टीका नेता एङ्गस टेलरको छाया मन्त्रिपरिषद्मा जिम्मेवारीमा थिइन् । दक्षिण अस्ट्रेलियाको लिबरल पार्टीको नेतृत्वसमेत गरिसकेकी उनी सन् २०२५ मा सिनेटर साइमन बर्मिङ्घमको स्थानमा सिनेटमा नियुक्त भएकी थिइन् । पार्टी छाड्ने निर्णय सार्वजनिक गर्दै ब्लिथले लिबरल पार्टीले अस्ट्रेलियाली जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छन् । विशेषगरी आप्रवासन नीति, ऊर्जा व्यवस्था र सरकारी खर्च व्यवस्थापनका विषयमा पार्टीको नेतृत्वप्रति आफ्नो असन्तुष्टि रहेको उनको भनाइ छ । उनले लिबरल पार्टीले देशलाई आवश्यक राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्ने विश्वास गुमाएको पनि बताएकी छन् । वान नेशनकी नेता पाउलिन ह्यान्सनले ब्लिथको पार्टी प्रवेशलाई स्वागत गरेकी छन्। लिबरल पार्टीप्रति निराश भएका मतदाताको आवाजलाई आफ्नो पार्टीले संसद्मा उठाउने अवसर थपिएको उनको प्रतिक्रिया छ । यसैबीच, नेसनल्स पार्टीका नेता म्याट क्यानाभानले निर्वाचित प्रतिनिधिले निर्वाचनपछि पार्टी परिवर्तन गर्नु उचित नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्री बार्नाबी जोयसले पनि सन् २०२५ मा लिबरल–नेसनल गठबन्धन छाडेर वान नेशनमा प्रवेश गरेका थिए । ब्लिथको पछिल्लो निर्णयले अस्ट्रेलियाको परम्परागत दक्षिणपन्थी राजनीतिक समूहभित्रको विभाजन र नेतृत्वसम्बन्धी बहसलाई थप चर्चामा ल्याएको छ । पछिल्लो समय जीवनयापन खर्च, आप्रवासन, ऊर्जा नीति र राष्ट्रिय सुरक्षाका विषयमा अस्ट्रेलियाली राजनीतिमा बहस चर्किरहेका बेला भएको यो पार्टी परिवर्तनले आगामी निर्वाचनको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढाएको छ । एएनआई
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





