‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवातको मार्ग र गति अझै निश्चित भइसकेको छैन । यसको प्रभावले मध्य र पूर्वी नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने उनले बताइन् । मध्य र पूर्वी तराईमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ भने सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा शुक्रबार बेलुका र शनिबार असिनासमेत पर्न सक्ने उनको भनाइ छ । ‘भोलि बेलुकादेखि प्रभाव पर्ने देखिन्छ । वर्षा गराउने सम्भावना छ र यसको प्रभाव शनिबारसम्म रहन सक्छ । अहिले पनि प्रणाली कता सर्छ भन्ने अनिश्चित छ । हामीले अन्तिम समयसम्म अवस्था निगरानी गरेर अद्यावधिक गरिरहेका हुन्छौँ,‘ पोखरेलले नेपाल न्यूज बैंकसँग भनिन् । उनका अनुसार लामो समय वर्षा नभएका स्थानमा एकैपटक वर्षा हुँदा पहिरोको जोखिम बढ्न सक्छ । त्यसैले पहिरोको जोखिम भएका सडक तथा क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनले बताइन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना रहेकाले पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिमा पनि सतर्कता आवश्यक रहेको उनको भनाइ छ । ‘विशेषगरी पर्यटन र कृषि क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिन्छ । धान काट्ने बेला भएकाले कृषि क्षेत्रमा ध्यान दिनुपर्छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना पनि रहन्छ,‘ पोखरेलले भनिन् । यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कृषि मौसमविद् रामेश्वर रिमालले चक्रवातको सम्भावित प्रभावबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति कम गर्न किसानलाई पूर्वतयारी गर्न आग्रह गरेका छन् । उनका अनुसार फलफूल, तरकारी, धान र उखु लगाइएका खेतबारीमा पानी जम्न नदिन निकासको व्यवस्था मिलाउनुपर्छ । पाकिसकेको धान काट्न मिल्ने अवस्था भएमा उपलब्ध मेसिन तथा अन्य साधन प्रयोग गरी काट्ने र सुरक्षित रूपमा भित्र्याउने व्यवस्था मिलाउन उनले सुझाएका छन् । तर, मौसमको अवस्था हेरेर काम गर्नुपर्ने उनको भनाइ छ । ‘पाकेको धान छ र नजिकै कस्टम हायरिङ सेन्टरबाट मेसिन पाइन्छ भने आजै काटेर भित्र्याउन सकिन्छ । भोलिदेखि भने धान नकाट्दा नै राम्रो हुन्छ,‘ रिमालले भने । उनका अनुसार तराई क्षेत्रमा हावाहुरीका कारण पाकेको धान ढल्ने जोखिम छ । धान ढलेमा लामो समय खेतमै छाड्न नहुने र पानीमा डुबेको बाली मौसममा सुधार आएपछि सकेसम्म चाँडो उठाएर सुकाउनुपर्ने उनले बताए । काटिसकेको धान भिजेमा आलीकान्ला वा बाँसका भाटाको सहायताले पानी तर्काएर सुकाउन सकिने उनको सुझाव छ । राम्ररी नपाकेको धान ढलेको अवस्थामा सम्भव भएसम्म नजिकका बाला जम्मा गरी ठाडो हुने गरी बाँध्न उनले सुझाएका छन् । पाकेको धान पानीमा डुबेको छ भने चाँडै काटेर सुकाउने र आवश्यक परे मिलसँग समन्वय गरी चिउरा वा भुजा बनाएर बिक्री गर्ने विकल्प अपनाउन सकिने उनले बताए । धानखेत र उखुबालीमा पानी जम्न नदिन गराबीबीच नाली काट्नुपर्ने र फलफूल तथा तरकारी खेतीमा पनि पानी निकासको व्यवस्था मिलाउनुपर्ने रिमालले बताए । मल र विषादी छर्न रोक्न आग्रह चक्रवातको प्रभाव रहने अवधिमा खेतबारीमा मल तथा विषादी छर्ने काम स्थगित गर्न पनि रिमालले आग्रह गरेका छन् । वर्षाका कारण मल तथा विषादी बगेर जाने र बालीले आवश्यक पोषण लिन नपाउने भएकाले मौसम सुधार भएपछि मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले विषादी छर्ने वा मल हाल्ने काम गर्दा वर्षाले बगाएर लैजान सक्छ । त्यसैले मौसम सुधार भएपछि मात्रै यी काम गर्नु उचित हुन्छ,‘ उनले भने । पहाडी क्षेत्रमा गहुँ, तोरी र आलु लगाउने समय भए पनि मौसममा सुधार आएपछि मात्रै जग्गा तयारी गर्न उनले सुझाएका छन् । तराईका अग्ला जग्गामा छोटो अवधिको धान लगाएका किसानले आलु खेतीका लागि जग्गा तयार गर्ने काम पनि तत्काल स्थगित गर्नुपर्ने उनको भनाइ छ । हावाहुरीले केराका बोट ढाल्न सक्ने भएकाले टेको दिन र माछापालन गरिएका पोखरीमा बाहिरबाट धमिलो पानी तथा भल पस्न नदिन आवश्यक व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् । ठूलो वर्षाले पोखरीको पानी बाहिर निस्कने सम्भावना भएमा माछा बग्न नदिन निकासद्वारमा उपयुक्त जाली लगाउनुपर्ने उनले बताए । पशुपन्छीलाई सुरक्षित राख्न सुझाव चक्रवातका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले चौँरी तथा भेडाबाख्रालाई खुला ठाउँमा चराउन नलैजान र अस्थायी भए पनि ओतको व्यवस्था गर्न रिमालले आग्रह गरेका छन् । अत्यधिक चिसो हुँदा पशुवस्तुलाई आवश्यकताअनुसार पानी तताएर खुवाउन सकिने उनले बताए । पशुपन्छीका लागि राखिएको अन्न, पराल र दाना भिज्न नदिन पनि किसानले ध्यान दिनुपर्ने उनको भनाइ छ । भिजेको पराल, ढुसी लागेको दाना र कुहिएको खानेकुरा पशुवस्तुलाई खुवाउँदा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले त्यसबाट जोगाउन उनले सुझाएका छन् । रिमालका अनुसार पछिल्लो पूर्वानुमानमा चक्रवातको प्रभाव यसअघि अनुमान गरिएभन्दा केही कमजोर हुन सक्ने देखिए पनि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सतर्कता आवश्यक छ । खेतबारीमा पानी निकासको व्यवस्था मिलाउने, काटिसकेको बाली सुरक्षित राख्ने, भिजेको उत्पादन छिटो सुकाउने र पशुपन्छीलाई सुरक्षित स्थानमा राख्नेजस्ता उपाय अपनाएमा सम्भावित क्षति कम गर्न सकिने उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त
१२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए। चन्दले यस किसिमको सहकार्यले नेपाली खेलाडीलाई आर्थिक रूपमा… ...

कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन
सोमपाल कामीमा क्षमता छ, कठिन परिस्थितिमा पनि हार नमान्ने, अलराउन्ड प्रदर्शनबाट खेल जिताउने । त्यो कुरा बिहीबार विराटनगर किङ्स विरुद्धको खेलमा पनि देखियो । ...

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो
नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजीप्रति सचेत रहेको उल्लेख गरिएको छ। पछिल्लो समय केही सञ्चारमाध्यम ...

मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी
१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरेर तीन जनालाई पक्राउ गरेको हो । उनीहरूबाट ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी गराएको छ । साथै, उनीहरूको साथबाट पेस्तोल… ...


