अर्नब चक्रवातको प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ। बंगालको खाडीमा विकसित चक्रवात अर्नबका कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन्। उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटल तथा बस्तीहरूमा रोकिनुपरेको हो । बस्तीहरूका होटल पर्यटकले भरिएका छन् । कञ्चनजङ्घा बेसक्याम्पतर्फ भ्रमणमा गएका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन् । उनको टोली नै दुई दिनदेखि त्यही रोकिनुपरेको छ । पदमार्गका फलेका होटलसमेत पर्यटकले भरिएको भ्रमणमा रहेका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिए । त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको छ, चिसो बढेको छ भने उच्च भेगका डाँडामा हिमपात भएको छ । कञ्चनजङ्घाको उत्तरी आधार शिविरतर्फ जाने पदमार्गमा पर्ने इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायतका बस्ती तथा दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेलगायतका स्थानमा रहेका होटलहरूमा पर्यटकको चाप बढेको छ । यसैगरी, लुम्बासुम्बाहुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ । फक्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले ओलाङचुङगोलामै छन्, र उनीहरू त्यहीँका होटलहरूमा बसेका छन् । आधाजसो लुम्बासुम्बाहुँदै मकालु आधार शिविरतर्फ जाने पर्यटक छन् । ओलाङचुङगोलाहुँदै सिङ्जेसम्म पुग्ने उद्देश्यले गएका आन्तरिक पर्यटकसमेत मौसम प्रतिकूल भएपछि त्यहीँ रोकिएका छन् । मौसम प्रतिकूल भएपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लाका कुनै पनि विपत्जन्य घटना भएको छैन । उनका अनुसार स्वदेशी तथा विदेशी गरी २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेका छन् । उनीहरू त्यस क्षेत्रका बस्ती, होटलमा छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायतका क्षेत्रमा पर्यटकको संख्या बढी छ । पर्यटकलाई सुरक्षित रहन तथा मौसमको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न सचेत गराइएको र सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले जानकारी दिए । स्थानीय सर्वसाधारण नागरिकलाई समेत सचेत गराइएको उनले बताए । बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो । गए रातिदेखि वर्षा जारी छ । उच्च क्षेत्रमा हिउँ पनि परेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


