काठमाडौं, कात्तिक २० । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, सांसद तथा सार्वजनिक व्यक्तित्वहरूमाथि व्यंग्यात्मक र आलोचनात्मक टिप्पणी गर्नुभएको छ। उहाँले अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टी चिह्नबाट राजनीतिमा उदाएका नयाँ अनुहारहरू क्रमशः मौन हुँदै गएको टिप्पणी गर्नुभएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री बालेन्द्र साहदेखि रवि लामिछाने, खगेन्द्र सुनार, स्वर्णिम वाग्लेलगायत १८ जना नेता तथा सार्वजनिक व्यक्तित्वको नामै किटेर उहाँहरू विभिन्न विवाद, अभिव्यक्ति र घटनाक्रमका कारण चुपचाप हुनुपरेको धारणा राख्नु भएकाे छ । थापाले आफ्नो टिप्पणीमा उल्लेख गर्नुभएका १८ नाम र तिनका सन्दर्भ यसप्रकार छन् : १. बालेन साह – प्रतिनिधिसभाको रोष्ट्रमबाट नेपालले भारतको धेरै भूभाग मिचेको झूठो वक्तव्य दिएपछि। २. रवि लामिछाने – बालेन साह प्रधानमन्त्री भएर ‘देश बनाउने आफ्नो टिम’ सार्वजनिक गरेयता र कैचीधामदेखि कामाख्याधामसम्मको रहस्यमय तीर्थयात्रा गरेपछि। ३. खगेन्द्र सुनार – रगत पिउँछु भन्ने गैरकानुनी र राक्षसी अभिव्यक्ति दिएपछि। ४. राजु पाण्डे – सेनाको ब्यारेकको पर्खालमा डोजर लगाएर फरार भएपछि। ५. आशिका तामाङ – जर्मनीमा बुढा श्रीमानलाई छाडेर आई तमासा देखाएर चुनाव जितेकोमा धादिङमा वडा अध्यक्षहरूसँग लफडापछि। ६. कृष्णबहादुर कार्की – नाइजेरियन महिलाको उत्पीडन, अत्याचार र बलात्कार भण्डाफोर भएपछि। ७. केपी खनाल – सुकुम्बासीका रूपमा जग्गा हडपेर घर बनाएको तथ्य खुलेर चिया पसलमा व्यस्त भएपछि। ८. डा. स्वर्णिम वाग्ले – भारतको दिल्लीमा तेलमालिस वक्तव्य दिएर बदनाम भएपछि। ९. राजीव खत्री – राजावादी भएको स्वघोषणा गरेर हलुङ्गेको भाँडोजस्तो भएपछि। १०. रिमा विश्वकर्मा – पार्टीको घोषित समाचारवाचिका बनेर स्याङ्जामा बालेन र रविलाई लैजान नसकेपछि। ११. गौरीकुमारी यादव – उद्योग मन्त्रीबाट बर्खास्त भएपछि। १२. दीपक साह – श्रम मन्त्रीबाट बर्खास्त भएपछि। १३. सुनिल लम्साल – खुट्टा भाँच्ने विवादास्पद धम्की दिएपछि। १४. सुधन गुरूङ – गृहमन्त्रीबाट बर्खास्त भएर पुनः नियुक्त भएपछि चटक र स्टन्टमा लगाम लागेपछि। १५. डा. धनञ्जय रेग्मी – प्रधानमन्त्री कार्यालयमा अपमान भोगेर निराश भएपछि। १६. डा. तोसिमा कार्की – मानवअधिकार आयोगले संसद भवन जलाउन दोषी देखाएयता निःशुल्क स्वास्थ्य परामर्श दाताका रूपमा सक्रिय भएपछि। १७. सागर ढकाल – वैदेशिक रोजगारीमा जान नपाएर हाल बेरोजगार भएपछि। १८. जगदीश खरेल – मन्त्री हुँदा अनुचित लेनदेन विवादमा परी संसदमा बोल्दा सुनुवाइ नभएर र केही थाहा नपाउने पार्टीको गोलमटोल प्रवक्ता भएपछि। टिप्पणीको अन्त्यमा थापाले लेख्नुभएको छ, ‘यो संख्या अझ बढ्छ। अरू नामहरू पनि कर्मअनुसार थपिँदै जान्छ।’
अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा

Read Complete Original Article
Published originally on जनताटाइम्स






