वासिङ्टन। प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । पुराना हवाई ट्राफिक नियन्त्रण उपकरणमा समस्या आएपछि देशभरका विमानस्थलमा उडान रोकिएको थियो । अमेरिकी यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले बताएका छन् । मन्त्री डफीका अनुसार हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेका थिए । त्यसका कारण हवाई उडान सञ्चालनमा अवरोध सिर्जना भएको थियो । यस घटनाको एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो । यसैबीच, अमेरिकाका होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले हवाई सेवा अवरुद्ध हुनुमा साइबर आक्रमणको कुनै प्रमाण नभेटिएको बताएका छन् । उनले यस घटनाको माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग पनि कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । यद्यपि, सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् । अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको आश्वस्त पार्दै सेवा क्रमशः सामान्य अवस्थामा फर्किने बताएका छन् ।
अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

Read Complete Original Article
Published originally on नेपालन्युज






