धनगढी । नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले अदालतको अन्तिम फैसला नआएसम्म शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहने बताएका छन् । उनले पार्टीको नेतृत्वबारे कुनै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै शाहले आफूहरू आधिकारिक सभापति देउवाकै पक्षमा रहेको स्पष्ट पारे । ‘हामी स्पष्ट रूपमा पार्टीका आधिकारिक सभापति शेरबहादुर देउवाको पक्षमा छौँ । हामी निष्पक्ष रूपमा एक ठाउँमा छौँ र संगठित छौँ,’ उनले भने । शाहले कैलाली जिल्ला अधिवेशनलाई आपसी एकता र सहमतिका आधारमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जिल्ला अधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन । पार्टीको विचार, दृष्टिकोण, कार्यकर्ताको भावना र जनताको आधार समेट्ने दस्तावेजसहित अधिवेशन अघि बढाउन आवश्यक रहेको उनले बताए । जिल्ला संयोजक खेम डगौरा थारुको अध्यक्षतामा भएको छलफलमा पार्टीका केन्द्रीय सदस्य, कैलाली जिल्ला सभापति, कार्यवाहक सभापति, क्षेत्रीय तथा नगर सभापतिसहित विभिन्न तहका पदाधिकारीहरूको सहभागिता थियो । छलफलले नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते धनगढीमा गर्ने निर्णयसमेत गरेको छ ।
‘अदालतको अन्तिम फैसला नआएसम्म देउवा नै कांग्रेस सभापति’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






