अझ उत्कृष्ट काम गर्न चाहन्छु : मिराज अर्याल

सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने मिराज यतिबेला नेपाली कला क्षेत्रमा चिरपरिचित नाम बनेको छ । वरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीसँगको भेटले उहाँको कला यात्राले निरन्तरता पायो । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (दुबई) पुगेर फर्किनुभएका मिराज पुनः विदेशिने तयारीमा हुनुहुन्थ्यो । तर, काठमाडौंमा नारायण रायमाझीसँग भएको भेटले उहाँको जीवनको बाटो नै बदलिदियो ।स्टुडियोमा काम गर्ने अवसर पाएपछि उहाँले बाल्यकालदेखिको कला र संगीतप्रतिको रुचिलाई व्यावसायिक यात्रामा रूपान्तरण गर्ने अवसर पाउनुभयो । गीत बजाउने, नाच्ने र अरूलाई रमाइलो गराउने उहाँको बाल्यकालीन रहर आज नेपाली गीतसंगीतको प्राविधिक क्षेत्रमा पहिचान बनाउने आधार बनेको छ । छायांकन, सम्पादन, निर्देशन, कलर, पोस्टर डिजाइन तथा पोष्ट-प्रोडक्सनका विभिन्न विधामा सक्रिय मिराज चारसय भन्दा बढी सिर्जनमा काम गरिसक्को बताउनुहुन्छ । ‘बन्दीपुरैमा’ गीतबाट उत्कृष्ट सम्पादकको सम्मानसमेत पाउनुभएका उहाँले केही चलचित्रमा समेत काम गर्नुभएको छ । सबै विधामा अझ उत्कृष्ट काम गर्न चाहना भएको बताउने मिराज अर्यालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशं :- तपाईंको कसरी सुरु भयो कला क्षेत्रसँगको सम्बन्ध ?मलाई सानैदेखि नाच्न असाध्यै मन पर्थ्यो । गीत बज्नासाथ नाच्न थालिहाल्थेँ । नाच मेरो लागि मनोरञ्जनमात्र थिएन, जीवनको सपनाजस्तै थियो । गाउँघरमा जहाँ विवाह हुन्थ्यो, म गोजीमा क्यासेट बोकेर पुग्थेँ । गीत बजाउने, नाच्ने र सबैलाई रमाइलो बनाउने मेरो सानो प्रयास हुन्थ्यो । त्यसबेला नै मेरो मनमा कला र संगीतसँगै जीवन बिताउने सोच पलाएको थियो । न त ठूलो मञ्च थियो, न आधुनिक प्रविधि, न भविष्यको कुनै निश्चित योजना । तर, कला र संगीतप्रतिको लगाव भने सानैदेखि थियो । त्यही रुचिले मलाई निरन्तर यस क्षेत्रमा लागिरहन प्रेरित गरिरह्यो । नारायण सरसँगको सहकार्यबाट सुरु भएको यात्रालाई मैले एउटै विधामा सीमित राखिन । गीतको छायांकन, सम्पादन र निर्देशनसँगै कलर, पोष्टर डिजाइन तथा पोष्ट-प्रोडक्सनका विभिन्न काममा आफूलाई सक्रिय बनाउँदै लगेँ । काम गर्दै सिक्ने मेरो स्वभाव छ । कुनै नयाँ कामको अवसर आयो भने त्यसलाई चुनौतीका रूपमा लिनेगर्छु । आफूलाई नआएको कुरा सिक्ने र जानेको कामलाई अझ राम्रो बनाउने प्रयास सधैं रहन्छ । यही क्रममा फरक-फरक विधामा काम गर्ने अनुभव प्राप्त भयो । बाल्यकालको त्यही रुचिलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयास कसरी गर्नुभयो ?आफ्नो रुचिलाई निरन्तरता दिने क्रममा मैले आफ्नै ठाउँ लम्कीमा डान्स क्लास सञ्चालन गरेँ । अरूलाई नृत्य सिकाउने र आफू पनि कलासँग जोडिइरहने काम गरेँ । केही समय स्थानीय रेडियोमा समेत काम गर्ने अवसर पाए । नृत्य, संगीत र सञ्चारसँग जोडिएका ती अनुभवले धेरै कुरा सिकाए । तर, कला क्षेत्रमै भविष्य खोज्नु त्यति सहज थिएन । सपना ठूलो भए पनि आर्थिक अवस्था कमजोर थियो । परिवार र आफ्नो भविष्यका लागि पनि केही गर्नुपर्ने अवस्था थियो । त्यसैले अन्ततः रोजगारीको खोजीमा संयुक्त अरब इमिरेट्स (दुबई) जानुपर्ने भयो । विदेश पुगेपछि कला क्षेत्रसँगको सम्बन्ध टुट्यो कि निरन्तरता रहिरह्यो ?विदेश पुगे पनि मेरो मनमा कला र संगीतप्रतिको मोह कहिल्यै मरेन । शारीरिक रूपमा विदेशमा भए पनि मन भने आफ्नै रुचि र सपनातिरै थियो । केही वर्ष दुबईमा बिताए । त्यसपछि बिदामा नेपाल फर्किए । नेपाल आएपछि फेरि विदेश जाने सोच बनाएर काठमाडौं आएको थिए । तर, त्यही समय मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण संयोग बन्यो । त्यो थियो वरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी सरसँगको भेट । नारायण रायमाझीसँगको भेट कसरी भयो ?केही वर्ष दुबई बसेर म २०७२ सालतिर नेपाल फर्किएको थिए । फेरि विदेश जाने सोचले काठमाडौं आएको थिए । त्यही समयमा संयोगवश नारायण रायमाझी सरसँग भेट भयो । उहाँसँग स्टुडियोमा काम गर्ने कुरा भयो । मलाई पनि आफ्नो इच्छानुसारको क्षेत्रमा काम गर्ने अवसर मिलेको महसुस भयो । त्यसैले विदेश फर्किनुभन्दा यहीँ बसेर काम गर्ने सोच बनाए । मैले पनि आफ्नो इच्छा पूरा हुने विश्वासका साथ काम गर्न राजी भए । त्यो भेट मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण मोड बन्यो । त्यो भेटपछि विदेश फर्किने सोच कसरी परिवर्तन भयो ?नारायण सरसँगको सहकार्यपछि विदेश फर्किने सोच बिस्तारै हराउँदै गयो । बाल्यकालदेखि रुचि भएको क्षेत्रमा काम गर्ने अवसर पाएको थिए । त्यसैले आफ्नै देशमा बसेर कला र सीपलाई निखार्ने, नेपाली गीतसंगीतको क्षेत्रमा केही गर्ने र आफ्नो छुट्टै पहिचान बनाउने अठोट लिन थालेँ । नारायण रायमाझी सरले गर्दा नै म आज यो स्थानसम्म आइपुगेको हुँ । यदि उहाँसँग भेट नभएको भए सायद आज म खाडी मुलुकमा हुन्थेँ होला । उहाँसँगको भेट र सहकार्यले मेरो जीवनमा नयाँ सम्भावनाको ढोका खोलिदियो । त्यसपछि तपाईंको व्यावसायिक यात्रा कुन-कुन विधामा अघि बढ्यो ?नारायण सरसँगको सहकार्यबाट सुरु भएको यात्रालाई मैले एउटै विधामा सीमित राखिन । गीतको छायांकन, सम्पादन र निर्देशनसँगै कलर, पोस्टर डिजाइन तथा पोस्ट-प्रोडक्सनका विभिन्न काममा आफूलाई सक्रिय बनाउँदै लगेँ । काम गर्दै सिक्ने मेरो स्वभाव छ । कुनै नयाँ कामको अवसर आयो भने त्यसलाई चुनौतीका रूपमा लिनेगर्छु । आफूलाई नआएको कुरा सिक्ने र जानेको कामलाई अझ राम्रो बनाउने प्रयास सधैं रहन्छ । यही क्रममा फरक-फरक विधामा काम गर्ने अनुभव प्राप्त भयो । तपाईंले अहिलेसम्म कति जति सिर्जनामा काम गर्नुभएको छ ? तीमध्ये दर्शक-श्रोतामाझ बढी चर्चितको नाम लिनुपर्दा ?अहिलेसम्म चार सयभन्दा बढी गीतमा काम गर्ने अवसर पाएको छु । कुनै गीतमा छायांकन गरेको छु, कुनैमा निर्देशन गरेको छु भने कुनैमा सम्पादन गरेको छु । मैले सम्पादन गरेका चर्चित गीतमा ‘उनको प्रीति’, ‘नमुछे आमा दहीमा टीका’, ‘आगो पिएर बाँच्ने’, ‘बन्दीपुरैमा’ भाग १ र २, ‘हे मेरी सानु’, ‘लाइछौ बेसन’ र ‘टोपी ढाकैको’लगायतका छन् । त्यस्तै, निर्देशन गरेका गीतमा ‘यो जुनी यस्तै भो’, ‘बाकस’, ‘कालो बादल’, ‘भेटौं कसरी’, ‘तिमी अनि म’, ‘सोल्टिनी के छ त नि सुर’ र ‘आधा जीवन दैवले खाएको’ लगायतका छन् । छायांकन गरेका गीतमा ‘कदमको छायाले’, ‘हे मेरी आमा’, ‘फर्की चाँडै आउँ दाजु घर’, ‘हाम्रो माया चर्किएको’, ‘उइले अइलेको तीज’, ‘हुम्ला जुम्लामा’, ‘अब रुन्न धर्केर’ र ‘तीजको महिना छ’लगायतका छन् । यी सबै कामले मलाई फरक-फरक अनुभव दिएका छन् । हरेक गीतबाट केही न केही सिक्ने अवसर पाएको छु । गीतसंगीतसँगै चलचित्रमा क्षेत्रमा पनि काम गर्नुभएको छ । त्यो अनुभव कस्तो रह्यो ?गीतसंगीतमा काम गर्दै जाँदा सिनेमा क्षेत्रमा पनि आफ्नो सीप प्रस्तुत गर्ने अवसर पाए । ‘परदेशी’, ‘परदेशी २’, ‘के घर के डेरा’, ‘ए साथी सुन’ र ‘गुरु आमा’लगायत चलचित्रमा संगीततर्फ जोडिएर काम गरेको छु । सिनेमा र म्युजिक भिडियोको काम गर्ने शैलीमा केही फरक हुन्छ । त्यसैले सिनेमा क्षेत्रमा काम गर्दा नयाँ अनुभव र सिकाइ प्राप्त भयो । आफूले सिकेको प्राविधिक ज्ञानलाई फरक परिवेशमा प्रयोग गर्न पाउनु मेरा लागि खुशीको कुरा हो । तपाईंले ‘बन्दीपुरैमा’ गीतबाट उत्कृष्ट सम्पादकको सम्मानसमेत पाउनुभएको छ । त्यो उपलब्धिलाई कसरी लिनुहुन्छ ?‘बन्दीपुरैमा’ बाट उत्कृष्ट सम्पादकको सम्मान पाउनु मेरा लागि विशेष उपलब्धि हो । कुनै पनि काम गर्दा आफ्नो मिहिनेत र सिर्जनात्मकतालाई दर्शकले मन पराउनु नै ठूलो कुरा हो । त्यसमाथि सम्मान प्राप्त हुँदा थप जिम्मेवारी महसुस हुँदो रहेछ । यो सम्मानले मलाई अझ राम्रो काम गर्न प्रेरित गरेको छ । म आफूले पाएको उपलब्धिलाई व्यक्तिगत सफलताका रूपमा मात्र होइन, आगामी दिनमा अझ मिहिनेत गर्नुपर्ने प्रेरणाका रूपमा लिन्छु । यहाँले आधा दर्जनजति सर्ट सिनेमा निर्देशन पनि गरिसक्नु भएको छ, निर्देशनतर्फको अनुभव कस्तो रह्यो ?हो, मैलै अहिलेसम्म छ वटा सर्ट सिनेमा निर्देशन गरिसकेको छु । निर्देशन भनेको आफूले सोचेको कथा र भावनालाई दृश्यका माध्यमबाट प्रस्तुत गर्ने काम हो । यसमा सिर्जनात्मक सोचसँगै प्राविधिक ज्ञान र टिमवर्क पनि उत्तिकै आवश्यक हुन्छ । छायांकन र सम्पादनको अनुभवले निर्देशनमा धेरै सहयोग पुगेको छ । एउटा सिर्जनालाई सुरुदेखि अन्त्यसम्म कसरी प्रभावकारी बनाउने भन्ने कुरा यी सबै विधासँग जोडिएको हुन्छ । त्यसैले निर्देशन गर्दा आफूले सिकेका सबै सीप प्रयोग गर्ने प्रयास गर्छु । अबको योजना ?मेरो यात्रा अझै सकिएको छैन, यो त केवल सुरुवात हो । आगामी दिनमा नयाँ कुरा सिक्ने, आफ्नो सीपलाई अझ निखार्ने र नेपाली गीतसंगीतको क्षेत्रमा थप योगदान पुर्याउने लक्ष्य छ । म छायांकन, सम्पादन र निर्देशनलगायत आफूले काम गरिरहेका सबै विधामा अझ उत्कृष्ट काम गर्न चाहन्छु । नेपाली गीतसंगीतलाई प्राविधिक रूपमा पनि स्तरीय बनाउन आफ्नो तर्फबाट सक्दो योगदान दिने सोच छ । मलाई लाग्छ, मानिसले आफ्नो रुचि र सपनालाई कहिल्यै मार्नु हुँदैन । अवसर ढिलो आउनसक्छ, बाटो कठिन हुनसक्छ, तर निरन्तर मिहिनेत गरिरह्यो भने एकदिन आफ्नो पहिचान बनाउन सकिन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
मुगुमा वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै
मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा... ...

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
काठमाडाैं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको ...

कुलेखानीको जलाशय भरिन झन्डै १ मिटर बाँकी, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
शनिबार बिहान १० बजे जलाशयमा १ हजार ५ सय २७ दशमलव ७ सेन्टिमिटर पानी थियो भने डेढ घण्टामै १.१० मिटर पानीको सतह बढेको छ । ...
त्रिपालले ढाकियो त्रिवि क्रिकेट मैदान, वर्षाले एनपीएल प्रभावित हुने जोखिम
• निरन्तरको वर्षाका कारण त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान जलमग्न भएको छ। • नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ। • मैदानलाई वर्षाबाट जोगाउन त्रिपालले ढाकिएको छ, तर पानी जमेकोले खेल सुरु गर्न कठिनाइ हुनेछ। ...


