सीमावर्ती क्षेत्रमा बालबालिकादेखि युवा वर्ग ड्रग्सको तलतलमा

कुनै पनि राष्ट्रको आर्थिक, भौतिक र सामाजिक पक्षलाई बलियो बनाउन बालबालिका तथा युवा वर्ग एकदमै अपरिहार्य तत्त्व हुन् । मुलुकी ऐनदेखि राज्य व्यवस्थासम्म आफ्नो अर्थपूर्ण भूमिकामा अघि बढ्नुपर्ने युवा जमात आज विडम्बनापूर्ण अवस्थामा पुगेको छ । पछिल्लो समय लागूऔषध सेवन तथा ओसारपसारमा युवा वर्गको संलग्नता बढ्दै जानु केवल एउटा व्यक्तिको समस्या नभई परिवार, समाज र समग्र राष्ट्रकै चिन्ताको विषय बनेको छ । राष्ट्रको अस्थिर राजनीतिक गतिविधि, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पर्याप्त सुधार हुन नसक्नु, अशिक्षा, गरिबी तथा आर्थिक, भौतिक र सामाजिक संकटजस्ता कारणले युवा वर्ग विभिन्न समस्यामा झाँगिँदै गएको देखिन्छ । मानसपटलमा आउने नकारात्मक कुराहरूलाई पछ्याउँदै एक लयमा मस्त हुन गरिएको एउटा नकारात्मक कदमले आज एउटा सिंगो युवा जमातलाई झन् भासिँदै जाने अवस्थामा पुर्याएको छ । आफ्नो घरपरिवारदेखि आफ्नो जनसमुदायसम्म कस्तो किसिमको गतिविधि भइराखेको छ, त्यसमा ध्यान दिनैपर्छ । अभिभावक वर्गले आफ्नो कलिलो फूलजस्तो बालकलाई कस्तो कुराले मलजल गर्दैछ भन्ने कुरामा स्पष्ट हुनुपर्छ । बालबालिकाको आर्थिक, भौतिक र सामाजिक वृद्धिसँगै उनीहरूको मानसिक र भावनात्मक विकासमा उत्तिकै ध्यान दिन आवश्यक छ । मुख्यतया सीमावर्ती क्षेत्रहरूमा लागूऔषध सेवनसँगै यसको बिक्री-वितरणमा सक्रिय कुनै ठूलै गिरोहको संलग्नता रहेछ कि भन्ने आशंका पनि उठ्ने गरेको छ । राज्यसामु अहिले एउटा गम्भीर सामाजिक प्रश्न खडा भएको छ, एक सय रुपैयाँको सामान भित्रिन नदिने हाम्रो सीमामा ड्रग्सजस्ता लागूऔषध कसरी भित्रिरहेका छन् ? यसको जिम्मेवार निकाय कुन हो ? के सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी प्रशासनको निगरानी कमजोर भएको हो ? कतै नेपालमै लागूऔषध उत्पादन वा खेती हुनथालेको त होइन ? यस्ता प्रश्नहरूको तथ्यमा आधारित जवाफ खोजिनु जरुरी छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकले पनि समस्याको गम्भीरता देखाउँछ । २०८३ जेठ महिनामा देशभर लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ परेका थिए । तीमध्ये काठमाडौं उपत्यकाबाट १६९ जना, कोशी प्रदेशबाट २१२ जना, मधेस प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट ११५ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ५० जना पक्राउ परेका थिए । यस अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन तथा विभिन्न नियन्त्रित औषधिसमेत ठूलो मात्रामा बरामद गरेको जनाएको छ । नेपाल प्रहरीले लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट पर्ने नकारात्मक असरबारे समुदाय प्रहरी साझेदारीअन्तर्गत जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताएको छ । तथ्यांक हेर्दा सबैभन्दा बढी पक्राउ कोशी प्रदेशमा परेको देखिन्छ । तर, लागूऔषधको सेवन र ओसारपसारको समस्यालाई प्रदेशगत पक्राउ संख्यामा मात्र सीमित गरेर हेर्न मिल्दैन । विशेषगरी सीमावर्ती क्षेत्रमा यसको प्रवेश, वितरण र स्थानीयस्तरमा फैलावटबारे थप अध्ययन र निगरानी आवश्यक देखिन्छ । विद्यालयस्तरदेखि नै यसको समाधानका कदम चाल्न अति जरुरी छ । बालबालिका तथा युवा वर्गलाई लागूऔषधको असरबारे जानकारी दिने, उनीहरूको मानसिक अवस्था बुझ्ने तथा परिवार, विद्यालय, स्थानीय समुदाय र राज्यबीच समन्वय बढाउने काम आवश्यक छ । पछिल्लो समयमा युवा वर्गमा देखिएको बेचैनीले अर्को प्रश्न जन्माएको छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या, एनजाइटीलगायत अवस्थाले युवा वर्गलाई नकारात्मक गतिविधितर्फ धकेल्ने जोखिम हुनसक्छ । त्यसैले लागूऔषध नियन्त्रणलाई केवल प्रहरी र कानुनको विषयका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । जब सहारा भनेर हुर्काएका छोराछोरीलाई नै सहारा दिनुपर्ने अवस्थामा अभिभावक वर्गमा भयको वातावरण सिर्जना हुन्छ, त्यसले सिंगो मानव समाजलाई प्रभावित गर्छ । लागू पदार्थ सेवनले सामाजिक सहिष्णुता र सद्भावमा संकट निम्त्याउनसक्छ । यससँगै हिंसा, यौन शोषण, चोरी, डकैती, लुटपाटजस्ता विभिन्न आपराधिक गतिविधिको जोखिमसमेत बढ्नसक्छ । यहाँ अर्को महत्त्वपूर्ण पक्ष छ । माथि उल्लेखित तथ्यांकले पक्राउ परेका व्यक्तिहरूलाई मात्र समेट्छ । तर, कतिपय अवस्थामा घटना भए पनि प्रहरी चौकीसम्म विवरण नपुग्ने, परिवारभित्रै दबाइने वा सामाजिक डरका कारण बाहिर नआउने घटना हुनसक्छन् । त्यसैले पक्राउको तथ्यांकलाई मात्र समस्याको सम्पूर्ण चित्र मान्न मिल्दैन । लागू पदार्थ दुर्व्यसनका कारण राज्यले भोलिको भविष्य गुमाउँदै जानु हुँदैन । अब राज्यले एउटा महत्त्वपूर्ण कुरा बुझ्न जरुरी छ बालबालिका तथा युवा वर्गलाई केवल ‘भोलिको भविष्य’ भनेरमात्र हेर्नु पर्याप्त हुँदैन । उनीहरू आजका नागरिक हुन् । त्यसैले बालबालिकालाई आजको नागरिकका रूपमा हेर्ने सोचको जग बसाउनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा मजबुत आधार निर्माण गर्दै युवाहरूलाई स्वदेशमै बस्न लायक वातावरण निर्माण गर्नुपर्छ । नेपाली बालबालिकालाई सर्वसुलभ गुणस्तरीय शिक्षासँगै उच्चस्तरीय जीविकोपार्जन गर्न लायक सीपको अवसर दिनु उत्तिकै अपरिहार्य छ । भोलिको भविष्य भनेर आजका टुनामुना बालबालिकालाई जसरी कलिलो अवस्थामै कोइलाउन बाध्य बनाइएको छ, यसमा राज्यको ध्यानाकर्षण हुनुपर्छ । लागूपदार्थ दुर्व्यसनजस्ता घातक लतबाट युवा वर्ग र बालबालिकालाई बचाउन राज्य, परिवार, विद्यालय र समुदाय सबैको भूमिका आवश्यक छ । ड्रग्ससँगै लागूऔषध भित्रिने मूलद्वार कसरी नियन्त्रण गर्ने भन्ने विषयमा राज्यले गम्भीरतापूर्वक काम गर्नुपर्छ । यसमा संलग्न भएकालाई कानुनबमोजिम कारबाही गरेरमात्र पुग्दैन । लागूऔषधले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे स्पष्ट रूपमा सम्झाउने र बुझाउने काम उत्तिकै आवश्यक छ । लागूपदार्थ ओसारपसार गर्नेहरूका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै अनुसन्धान र कारबाहीलाई बलियो बनाउनुपर्छ । सजाय र क्षतिपूर्तिका कानुनी प्रावधानलाई प्रभावकारी बनाउँदै सुधार र पुनर्स्थापनाको पक्षलाई सँगसँगै अघि बढाउनुपर्छ । राज्यले स्थानीय तहदेखि केन्द्रसम्म स्पष्ट रणनीति बनाई शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गर्दै युवाहरूलाई देशमै स्वरोजगार बनाउन सकियो भने विभिन्न नकारात्मक गतिविधिबाट टाढा राख्न सहयोग पुग्नसक्छ । कानुनको कार्यान्वयनसँगै चेतनाको विकास गर्न सकिएमा यसको प्रभाव अझ दीर्घकालीन हुनसक्छ । राज्यले आफ्नो तर्फबाट र स्थानीय जनसमुदायले आफ्नोतर्फबाट गम्भीर ध्यानाकर्षण गरी यस समस्याको समाधानतर्फ अघि बढ्नुपर्छ । यदि यस्तै चलिरहने हो भने एकदिन नेपाली मानव समाज लागू पदार्थ दुर्व्यसनको लतमा फसेर सिंगो समाज भयावह त्रासमा बाँचिरहेको हुनसक्छ । जहाँ हत्या-हिंसाप्रति संवेदना कमजोर हुँदै जाओस्, जहाँ बलात्कारलाई सामान्य रूपमा लिन थालियोस्, जहाँ चोरी–डकैतीप्रति समाजको संवेदनशीलता हराउँदै जाओस्-त्यो अवस्था हाम्रो समाजका लागि अत्यन्तै भयावह हुनेछ । त्यो दिन आउनुअगावै हामी सबैजना सतर्क हुन जरुरी छ । आफ्नो घरपरिवारदेखि आफ्नो जनसमुदायसम्म कस्तो किसिमको गतिविधि भइराखेको छ, त्यसमा ध्यान दिनैपर्छ । अभिभावक वर्गले पनि आफ्नो कलिलो फूलजस्तो बालकलाई कस्तो कुराले मलजल गर्दैछ भन्ने कुरामा स्पष्ट हुनुपर्छ । बालबालिकाको आर्थिक, भौतिक र सामाजिक वृद्धिसँगै उनीहरूको मानसिक र भावनात्मक विकासमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । अहिलेको यो विषम परिस्थितिमा लागूऔषधका घटनालाई नियन्त्रणसँगै रोकथाम र सकेसम्म न्यूनीकरण गर्न राज्यले स्थलगत रूपमा अध्ययन तथा अवलोकन गरी त्यसैअनुसारको रणनीति बनाउन जरुरी छ । विशेषगरी संवेदनशील सीमावर्ती नाकाहरूमा सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ । लागू पदार्थ ओसारपसार गर्नेहरूका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै अनुसन्धान र कारबाहीलाई पनि बलियो बनाउनुपर्छ । सजाय र क्षतिपूर्तिका कानुनी प्रावधानलाई प्रभावकारी बनाउँदै सुधार र पुनर्स्थापनाको पक्षलाई पनि सँगसँगै अघि बढाउनुपर्छ । राज्यले स्थानीय तहदेखि केन्द्रसम्म स्पष्ट रणनीति बनाउनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गर्दै युवाहरूलाई देशमै स्वरोजगार बनाउन सकियो भने उनीहरूलाई विभिन्न नकारात्मक गतिविधिबाट टाढा राख्न सहयोग पुग्नसक्छ । यी यस्ता घटनाको समाधानका लागि राज्यले केही ठोस कदम चाल्न उत्तिकै जरुरी छ । कानुनदेखि विद्यालयस्तरसम्म सचेतना अभियान सञ्चालन गर्नुपर्छ । आवश्यक ठाउँमा लक्षित र गोप्य अनुसन्धान तथा निगरानी अभियान सञ्चालन गर्नुपर्छ । लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी होइन । यो परिवारको पनि जिम्मेवारी हो, विद्यालयको पनि जिम्मेवारी हो, स्थानीय समुदायको पनि जिम्मेवारी हो र राज्यको पनि जिम्मेवारी हो । आजका बालबालिका र युवा वर्गलाई केवल भोलिको भविष्य भनेर पर्खाइमा राख्ने होइन, उनीहरूलाई आजै सुरक्षित, शिक्षित, स्वस्थ र सक्षम नागरिक बनाउने वातावरण निर्माण गर्नुपर्छ । किनकि लागूऔषधविरुद्धको लडाइँ एउटा पुस्तालाई बचाउनेमात्र अभियान होइन–यो हाम्रो समाज, हाम्रो वर्तमान र हाम्रो भविष्य बचाउने अभियान हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


