Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फोटोनको लक्ष्य गाडी बेच्नु मात्रै होइन, ग्राहकको व्यवसाय निरन्तर चलिरहोस् भन्ने हो : सीइओ बराल

फोटोनको लक्ष्य गाडी बेच्नु मात्रै होइन, ग्राहकको व्यवसाय निरन्तर चलिरहोस् भन्ने हो : सीइओ बराल

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोटोनको लक्ष्य गाडी बेच्नु मात्रै होइन, ग्राहकको व्यवसाय निरन्तर चलिरहोस् भन्ने हो : सीइओ बराल

काठमाडौं । नेपालको अटोमोबाइल बजार पछिल्लो समय परम्परागत इन्धनमा आधारित सवारीसाधनबाट विद्युतीय तथा प्रविधिमैत्री सवारीतर्फ तीव्र रूपमा रूपान्तरण भइरहेको छ । इलेक्ट्रिक सवारीको बढ्दो आकर्षण, चिनियाँ ब्रान्डबीचको प्रतिस्पर्धा, बैंकको ब्याजदर, सरकारी कर नीति, चार्जिङ पूर्वाधार तथा उत्तरी नाकामा देखिएको अवरोधले अटोमोबाइल व्यवसायलाई नयाँ चुनौती र अवसर दुवै दिएको छ । विशेषगरी व्यावसायिक सवारीसाधनको क्षेत्रमा इलेक्ट्रिक गाडीको सम्भावना बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । तर व्यावसायिक सवारीका लागि गाडीको मूल्यभन्दा पनि सञ्चालन खर्च, चार्जिङको उपलब्धता, स्पेयर पाट्र्स र बिक्रीपछिको सेवा महत्वपूर्ण हुने देखिन्छ । रसुवागढी नाकामा आएको बाढी तथा सडक अवरोधले चीनबाट हुने सवारीसाधन तथा स्पेयर पाट्र्सको आपूर्ति प्रणालीमा समेत प्रभाव पारेको छ । यस्तो अवस्थामा व्यवसायले कसरी बजार व्यवस्थापन गरिरहेको छ ? सरकारले कस्तो नीति लिनुपर्छ ? इलेक्ट्रिक व्यावसायिक सवारीको भविष्य कस्तो छ ? भन्ने विषयमा एमएडब्लू वृद्धि कमर्सियल फोटोन नेपालका प्रमुख कार्यकारी अधिकृत(सीइओ) डाक्टर अनिल कुमार बरालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः अहिले नेपालको अटोमोबाइल बजारलाई कसरी हेर्नुभएको छ ? बजार बढिरहेको छ कि दबाबमा छ ?अहिले नेपालको अटोमोबाइल बजार परिवर्तन र पुनर्संरचनाको चरणमा छ । सबै सेग्मेन्टको अवस्था एउटै छैन । ग्राहकको क्रयशक्ति, फाइनान्सिङको अवस्था, आपूर्ति प्रणाली र सरकारी नीतिले बजारलाई प्रभावित गरिरहेको छ । विशेषगरी इलेक्ट्रिक गाडीप्रति आकर्षण बढेको छ । तर, पछिल्लो आर्थिक वर्षमा उत्तरी नाकामा आएको अवरोध र आयातसम्बन्धी नीतिगत परिवर्तनले बजारको वास्तविक सम्भावनाअनुसार गाडीको आपूर्ति हुन सकेन । आर्थिक वर्ष २०८२/८३ मा ईभी आयात अघिल्लो वर्षको तुलनामा करिब २४ प्रतिशत घटेको थियो । यसलाई माग घटेको प्रमाणका रूपमा मात्र हेर्न मिल्दैन, किनकि आपूर्ति अवरोध पनि यसको एउटा महत्त्वपूर्ण कारण थियो ।अर्कोतर्फ, सवारीसाधन कर्जामा सुधार आएको छ । सन् २०२६ को जुनसम्म बैंक तथा वित्तीय संस्थाको हायर पर्चेज कर्जा अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा १०.३ प्रतिशत बढेको रिपोर्ट गरिएको छ । त्यसैले म बजारलाई सम्भावनायुक्त तर चुनौतीपूर्ण अवस्थामा रहेको मान्छु । अबको सफलता बजारमा कति गाडी आयात गरियो भन्ने कुराले मात्र होइन, ग्राहकको आवश्यकता बुझेर उपयुक्त उत्पादन, भरपर्दो सेवा र प्रतिस्पर्धी कुल सञ्चालन लागत दिन सकियो कि सकिएन भन्ने कुराले निर्धारण गर्नेछ । पछिल्लो एक वर्षमा नेपाली ग्राहकको गाडी खरिद गर्ने प्राथमिकतामा के परिवर्तन आएको पाउनुभएको छ ?केही वर्षअघिसम्म ग्राहकले ब्रान्ड, डिजाइन र गाडीको खरिद मूल्यलाई बढी प्राथमिकता दिनुहुन्थ्यो । अहिले अवस्था केही फरक भएको छ । ग्राहकले गाडी किन्दा त्यसको सञ्चालन खर्च, प्रविधि, सुरक्षा, पुनःबिक्री मूल्य र बिक्रीपछिको सेवासमेत हेर्न थालेका छन् । विशेषगरी इलेक्ट्रिक गाडीको हकमा ग्राहकले रेन्ज कति छ, घर वा व्यवसायमा चार्ज गर्न मिल्छ कि मिल्दैन, ब्याट्रीको वारेन्टी कस्तो छ, लामो दूरीमा चार्जिङको सुविधा छ कि छैन भन्ने प्रश्न गर्छन् । व्यावसायिक गाडीका ग्राहकका लागि त यो अझ महत्वपूर्ण हुन्छ । उहाँहरूका लागि गाडी भनेको आम्दानी गर्ने साधन हो । त्यसैले गाडी कति समय चल्छ, बिग्रिँदा कति छिटो मर्मत हुन्छ र दैनिक सञ्चालनमा कति खर्च लाग्छ भन्ने विषय बढी महत्वपूर्ण हुन्छ । बैंकको ब्याजदर, कर्जा प्रवाह र सर्वसाधारणको क्रयशक्तिले अटो बजारको मागलाई कति प्रभावित गरेको छ ?यसको प्रत्यक्ष प्रभाव हुन्छ । नेपालमा धेरै ग्राहकले गाडी खरिद गर्दा बैंक फाइनान्स प्रयोग गर्नुहुन्छ । ब्याजदर घट्दा मासिक किस्ता केही सहज हुन्छ र त्यसले माग बढाउन सहयोग गर्छ । पछिल्लो समय गाडी खरिदका लागि कर्जा प्रवाहमा सुधार आएको तथ्यांक पनि देखिन्छ । सन् २०२६ को जुलाईमा प्रकाशित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सवारीसाधन हायर पर्चेज कर्जा १३.२२ अर्ब रुपैयाँले बढेको थियो। सोही अवधिमा व्यावसायिक सवारीसाधनको कर्जा ११.३ प्रतिशत र यात्रुवाहक सवारीसाधनको कर्जा ८.२ प्रतिशत बढेको रिपोर्ट गरिएको थियो । तर ब्याजदर मात्रै पर्याप्त होइन । ग्राहकको आम्दानी, रोजगारीको स्थायित्व, व्यवसायको क्यास फ्लो र गाडीबाट हुने आम्दानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । व्यावसायिक गाडीमा त गाडीले दैनिक कति आम्दानी गर्छ र त्यसबाट किस्ता तथा सञ्चालन खर्च धान्न सकिन्छ कि सकिँदैन भन्ने कुरा मुख्य हुन्छ । त्यसैले हामी ग्राहकलाई गाडीको मूल्य मात्रै होइन, यसको कुल सञ्चालन खर्च र आम्दानीको सम्भावनालाई पनि हेर्न सुझाव दिन्छौँ । अहिले ग्राहकले पेट्रोल/डिजेलभन्दा इलेक्ट्रिक गाडी रोज्नुको मुख्य कारण के हो ?मुख्य कुरा सञ्चालन खर्च हो । इलेक्ट्रिक गाडीको ऊर्जा खपत र मर्मतसम्भार खर्च तुलनात्मक रूपमा कम हुन सक्ने भएकाले ग्राहकको आकर्षण बढेको हो । नेपाल पेट्रोलियम पदार्थमा धेरै हदसम्म आयातमा निर्भर छ । अर्कोतर्फ हामीसँग जलविद्युत् उत्पादनको सम्भावना छ । त्यसैले यातायात क्षेत्रमा विद्युतीय ऊर्जाको प्रयोग बढाउनु दीर्घकालीन रूपमा महत्वपूर्ण हुन्छ । तर इलेक्ट्रिक गाडी सधैँ सबैका लागि सस्तो हुन्छ भनेर मात्र भन्न मिल्दैन । गाडीको खरिद मूल्य, दैनिक चल्ने दूरी, विद्युतको शुल्क, चार्जिङको स्रोत, मर्मतसम्भार लगायतका विषयले वास्तविक खर्च निर्धारण गर्छन् । विशेषगरी धेरै किलोमिटर दैनिक चल्ने व्यावसायिक गाडीमा इलेक्ट्रिक प्रविधिले ठूलो आर्थिक फाइदा दिन सक्छ । त्यसैले ग्राहकलाई तथ्यमा आधारित भएर सही गाडी छनोट गर्न सहयोग गर्नु हाम्रो जिम्मेवारी हो । नेपालमा चिनियाँ इलेक्ट्रिक गाडीका ब्रान्ड बढिरहेका छन् । यसलाई अवसर मान्ने कि चुनौती ?म यसलाई अवसर र चुनौती दुवैका रूपमा हेर्छु । चिनियाँ अटोमोबाइल उद्योगले ब्याट्री, मोटर, सफ्टवेयर र उत्पादन प्रविधिमा ठूलो प्रगति गरेको छ । त्यसले नेपाली ग्राहकलाई धेरै विकल्प दिएको छ । एक बजार विश्लेषण तथ्यांक अनुसार नेपालमा करिब ६० ईभी ब्रान्ड उपलब्ध रहेको उल्लेख छ । तर ब्रान्डको संख्या बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढ्छ । प्रतिस्पर्धा केवल मूल्यमा केन्द्रित भयो भने दीर्घकालमा उद्योग र ग्राहक दुवैका लागि राम्रो हुँदैन । फोटोन मोटरले चीनको कमर्सियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान बनाएको छ । ‘ड्राइभ टु ग्रेट’ भन्ने आफ्नो ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ लाई प्रभावशाली उपलब्धिसहित समापन गरेको थियो । सन् २०२५ मा फोटोन मोटरले विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्सियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको थियो । हामी पनि फोटोनमा व्यावसायिक ग्राहकलाई केन्द्रमा राख्छौँ । ग्राहकले गाडी किनेपछि त्यसलाई नियमित रूपमा चलाएर आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नुपर्छ । हाम्रो वास्तविक प्रतिस्पर्धात्मक लाभ त्यहीँबाट स्थापित हुनुपर्छ । फोटोनले नेपाली बजारमा अरू ब्रान्डभन्दा के फरक दिन खोजिरहेको छ ?फोटोनको मुख्य पहिचान नै व्यावसायिक सवारीसाधन हो । हामी गाडीलाई केवल यातायातको साधनका रूपमा हेर्दैनौँ । ग्राहकका लागि यो आम्दानी र व्यवसायसँग जोडिएको सम्पत्ति हो । स्कुल, पर्यटन, सार्वजनिक यातायात, संस्थागत प्रयोजन वा अन्य व्यावसायिक प्रयोगका लागि सबै गाडी एउटै हुँदैनन् । त्यसैले ग्राहकको वास्तविक आवश्यकता बुझेर उपयुक्त मोडल छनोट गर्नुपर्छ । हाम्रो प्रयास गाडी बेचेर मात्र सकिँदैन । चार्जिङ, सर्भिस, स्पेयर पाट्र्स र प्राविधिक सहयोगसमेत जोडेर एउटा पूर्ण व्यावसायिक मोबिलिटी समाधान दिने हो । फोटोनका गाडीमा बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स र सर्भिस नेटवर्क पर्याप्त छ भन्ने आधार के हो ?व्यावसायिक गाडीमा सबैभन्दा महत्वपूर्ण कुरा ‘अपटाइम’ हो । गाडी बिग्रिएर दुई–तीन दिन ग्यारेजमा बस्यो भने ग्राहकको आम्दानी नै रोकिन्छ ।त्यसैले एमएडब्लू वृद्धिले देशभर बिक्रीपछिको सेवा पहुँच विस्तारमा काम गरिरहेको छ । अहिले नेपालमा २१ वटा फोटोन सर्भिस सेन्टर छन् । ती सर्भिस सेन्टरले ग्राहकलाई प्राविधिक सहयोग तथा मर्मतसम्भार सेवा उपलब्ध गराउन सहयोग पु¥याइरहेका छन् । काठमाडौंको पेप्सीकोलामा व्यावसायिक इलेक्ट्रिक सवारीका लागि अत्याधुनिक सर्भिस सेन्टर पनि तयार गरिरहेका छौँ । उक्त यो सेवा केन्द्र नेपालको कर्मिसियल ईभी सेग्मेन्टकै सबैभन्दा ठूलो सर्भिस सेन्टरमध्ये एक बनाउने हाम्रो लक्ष्य छ । तर सर्भिस सेन्टरको संख्या मात्रै पर्याप्त हुँदैन । आवश्यक स्पेयर पाट्र्स समयमा उपलब्ध हुनु, दक्ष प्राविधिक हुनु र गाडीलाई सकेसम्म छिटो सञ्चालनमा फर्काउन सक्नु महत्वपूर्ण हुन्छ । हामीले यही कुरामा बढी ध्यान दिएका छौँ । विशेषगरी व्यावसायिक विद्युतीय सवारीको बजारमा फोटोनको माग कस्तो छ ? कुन क्षेत्रमा बढी सम्भावना देख्नुहुन्छ ?व्यावसायिक इलेक्ट्रिक गाडीको सम्भावना निकै राम्रो छ । विशेषगरी नियमित दूरी र निश्चित रुटमा चल्ने सवारीमा यसको सम्भावना बढी देखिन्छ ।स्कुल, संस्थागत यातायात, सहरभित्रको सार्वजनिक यातायात, निश्चित रुटका माइक्रोबस तथा पर्यटन क्षेत्रमा यसको प्रयोग बढ्न सक्छ ।तर गाडी बेच्नुअघि ग्राहकको रुट, दैनिक दूरी, यात्रु संख्या, चार्जिङ समय र सञ्चालन तालिका बुझ्नुपर्छ । गाडी मात्रै इलेक्ट्रिक भएर पुग्दैन, चार्जिङ र सर्भिसको व्यवस्था पनि त्यसअनुसार हुनुपर्छ । बजेटमार्फत कर तथा भन्सारमा हुने परिवर्तनले अटो व्यवसायमा कस्तो असर गर्छ ?कर नीतिले अटोमोबाइल व्यवसायमा प्रत्यक्ष प्रभाव पार्छ । आयात लागत परिवर्तन हुँदा त्यसको प्रभाव अन्ततः गाडीको मूल्यमा पर्छ । इलेक्ट्रिक गाडीमा पनि सरकारले कर संरचनामा परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८३÷८४ को बजेटले ईभीको कर संरचनामा परिवर्तन गरेको छ । अघिल्लो मोटरको किलोवाट क्षमतामा आधारित व्यवस्थाको सट्टा नयाँ व्यवस्थाले भन्सार मूल्यमा आधारित तहगत शुल्क प्रणाली ल्याएको छ । यसले विभिन्न मूल्य समूहका गाडीमा फरक प्रभाव पार्न सक्छ। यस्तो परिवर्तन आफैँमा गलत हो भन्ने होइन । सरकारले राजस्व, वातावरण र औद्योगिक नीतिलाई हेरेर निर्णय गर्नुपर्छ । तर व्यवसायका लागि सबैभन्दा महत्वपूर्ण कुरा नीतिको स्थिरता हो । हामीले गाडी अर्डर गर्छौँ, आयात गर्छौँ, स्टक व्यवस्थापन गर्छौँ र लगानी गर्छौँ । बीचमै नीति धेरै परिवर्तन भयो भने व्यवसायिक जोखिम बढ्छ । त्यसैले हाम्रो मुख्य आग्रह दर के राख्ने भन्नेभन्दा पनि दीर्घकालीन, स्पष्ट र अनुमान गर्न सकिने नीति बनोस् भन्ने हो । इलेक्ट्रिक गाडी प्रवद्र्धन गर्ने नीति र करमा हुने उतारचढावबीच कम्पनीले दीर्घकालीन लगानी कसरी योजना बनाउँछ ?हामी सरकारी नीति मात्रै हेरेर लगानी गर्दैनौँ । बजारको माग, ग्राहकको क्रयशक्ति, प्रविधिको विकास र सञ्चालनको सम्भावनालाई पनि हेर्छौँ ।तर चार्जिङ स्टेशन, सर्भिस सेन्टर, स्पेयर पाट्र्स र दक्ष जनशक्तिमा गरिएको लगानीको प्रतिफल आउन समय लाग्छ । त्यसैले नीतिगत अस्थिरताले जोखिम बढाउँछ । त्यसैले व्यवसायीले फरक–फरक सम्भावित अवस्थालाई आधार बनाएर योजना बनाउनुपर्छ । उदाहरणका लागि– कर बढेमा वा घटेमा मूल्य र मागमा कस्तो प्रभाव पर्छ, आयात ढिलो भएमा स्टक कसरी व्यवस्थापन गर्ने र नयाँ प्रविधि आएमा सेवा क्षमता कसरी विकास गर्ने भन्ने विषय पहिले नै विचार गर्नुपर्छ । हाम्रो चाहना सरकारबाट पनि यही हो—इलेक्ट्रिक मोबिलिटीलाई छोटो अवधिको कर नीतिका रूपमा मात्र नभई ऊर्जा, यातायात, उद्योग र रोजगारीसँग जोडिएको दीर्घकालीन नीतिका रूपमा हेरियोस् । अहिले नेपालमा इलेक्ट्रिक गाडीको चार्जिङ पूर्वाधार बजार विस्तारका लागि पर्याप्त छ ?पूर्वाधार विस्तार भइरहेको छ, तर सबै प्रकारका इलेक्ट्रिक गाडी र सबै रुटका लागि पर्याप्त भइसकेको अवस्था छैन । निजी कारको हकमा घर वा कार्यालयमा चार्ज गर्न सकिन्छ । तर व्यावसायिक गाडीका लागि चार्जिङको विषय अझ संवेदनशील हुन्छ । रुटमा कहाँ चार्ज गर्ने, कति समयमा चार्ज हुन्छ, चार्जर भरपर्दो छ कि छैन र गाडीलाई कति समय सञ्चालनमा राख्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । एमएडब्लू वृद्धिले देशभर २०६ वटा सीसीएस–२ चार्जिङ स्टेसन विस्तार गरेको छ । तर हाम्रो उद्देश्य संख्या बढाउनु मात्र होइन, व्यावसायिक प्रयोगका लागि भरपर्दो चार्जिङ पहुँच बनाउनु हो । त्यसैले चार्जिङ पूर्वाधारको मूल्याङ्कन चार्जरको कुल संख्याका आधारमा मात्र गर्नु हुँदैन। ती कुन स्थानमा छन्, कति क्षमताका छन्, नियमित रूपमा सञ्चालनमा छन् कि छैनन् र व्यावसायिक सवारीसाधनका आवश्यकतासँग मेल खान्छन् कि खाँदैनन् भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छन् । फोटोनजस्ता व्यावसायिक सवारीसाधनको बजार विस्तार चार्जिङ पूर्वाधारको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैले हामी चार्जिङ नेटवर्कको विस्तारसँगै यसको सञ्चालन, मर्मतसम्भार र ग्राहकले सहज रूपमा प्रयोग गर्न सक्ने व्यवस्था सुदृढ बनाउन प्रतिबद्ध छौँ । आगामी दिनमा सरकार, नेपाल विद्युत् प्राधिकरण, निजी क्षेत्र र सवारीसाधन वितरकबीचको सहकार्यमा मुख्य राजमार्ग, व्यापारिक केन्द्र र व्यावसायिक सवारीसाधन सञ्चालन हुने प्रमुख रुटहरूमा चार्जिङ सुविधा विस्तार गर्न आवश्यक छ । आयातभन्दा स्वदेशमै एसेम्ब्ली वा उत्पादन उद्योग विकास गर्न सरकारले के गर्नुपर्छ ?नेपालमा एसेम्ब्ली र उत्पादनको सम्भावना छ । यसबाट रोजगारी, सीप विकास, प्रविधि हस्तान्तरण र स्थानीय मूल्य अभिवृद्धि हुन्छ । तर केवल कर छुट दिएर एसेम्ब्ली उद्योग विकास हुँदैन। दीर्घकालीन औद्योगिक नीति, लगानीको सुरक्षा, बजारको सुनिश्चितता, दक्ष जनशक्ति र आपूर्ति शृंखला आवश्यक हुन्छ । सरकारले दीर्घकालीन कर नीति बनाउनुपर्छ, उत्पादन तथा स्थानीय मूल्य अभिवृद्धिसँग जोडिएको प्रोत्साहन दिनुपर्छ, प्राविधिक सीप र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्छ र पाट्र्स आयातदेखि भन्सार तथा गुणस्तर परीक्षणसम्मको प्रक्रिया सहज बनाउनुपर्छ । अटो व्यवसायीका रूपमा अहिले सरकारसँग तपाईंहरूको तत्कालको माग के हो ?हाम्रो मुख्य माग स्थिर र अनुमान गर्न सकिने व्यवसायिक वातावरण हो । कर तथा भन्सार नीति स्पष्ट र स्थिर हुनुपर्छ । रसुवागढी र तातोपानीजस्ता नाकाको सञ्चालन व्यवस्थित हुनुपर्छ । वैकल्पिक आपूर्ति मार्गलाई पनि प्राथमिकता दिनुपर्छ । त्यसैगरी चार्जिङ पूर्वाधार विस्तारसँगै त्यसको नियमित सञ्चालन र मर्मतमा ध्यान दिनुपर्छ । व्यावसायिक विद्युतीय सवारीका लागि फाइनान्सिङ, प्राविधिक तालिम र पूर्वाधारको व्यवस्था पनि आवश्यक छ । हामी कुनै एउटा ब्रान्डलाई मात्र फाइदा हुने नीति मागिरहेका छैनौँ । प्रतिस्पर्धी र दीर्घकालीन रूपमा दिगो अटोमोबाइल उद्योग निर्माण हुने वातावरण चाहेका हौँ । रसुवामा आएको बाढी र सडक अवरोधले अटो व्यवसायमा कस्तो असर पारेको छ ?रसुवागढी नेपाल–चीन व्यापारका लागि निकै महत्वपूर्ण नाका हो । त्यहाँ सडक वा पुलमा समस्या आउँदा त्यसको प्रभाव गाडीमा मात्र होइन, स्पेयर पाट्र्स र अन्य आयातित सामग्रीको आपूर्ति शृंखलामा पनि पर्छ । वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढ्छ, ढुवानी समय बढ्छ र लागत पनि बढ्न सक्छ। व्यावसायिक गाडीमा स्पेयर पाट्र्स समयमा नआउनु अझ ठूलो समस्या हो । त्यसैले अहिले हाम्रो ध्यान आपूर्ति व्यवस्थापन, आवश्यक पाट्र्सको स्टक र ग्राहकलाई समयमै जानकारी दिने विषयमा केन्द्रित छ ।हाम्रो जस्तो व्यावसायिक सवारीसाधनको व्यवसायमा यसको असर नयाँ गाडीको डेलिभरीमा मात्र सीमित हुँदैन । ग्राहकको नियमित मर्मतसम्भारका लागि आवश्यक पाट्र्स समयमै उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसैले यस्तो अवस्थामा आपूर्ति योजनालाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्छ । नियमित मर्मतमा प्रयोग हुने महत्त्वपूर्ण पाट्र्सको स्टक, ग्राहकलाई डेलिभरीसम्बन्धी स्पष्ट जानकारी र वैकल्पिक ढुवानी व्यवस्थामा ध्यान दिनुपर्छ । ढुवानी लागत बढ्दा त्यसको भार गाडीको मूल्यमा पनि पर्छ ?सम्भावना हुन्छ । तर सबै अतिरिक्त लागत ग्राहकलाई नै सार्नुपर्छ भन्ने हुँदैन । गाडीको अन्तिम मूल्यमा आयात लागत, ढुवानी, बीमा, भन्सार, कर र वितरण खर्चलगायत धेरै पक्ष जोडिएका हुन्छन् । वैकल्पिक रुट प्रयोग गर्दा दूरी र समय बढ्यो भने लागत पनि बढ्न सक्छ । हाम्रो प्रयास सकेसम्म लागत नियन्त्रण गर्ने हो । यदि लागतमा ठूलो परिवर्तन आयो भने त्यसलाई ग्राहकसँग पारदर्शी रूपमा राख्नुपर्छ । दीर्घकालीन समाधान भनेको भरपर्दो र कम जोखिम भएको आपूर्ति मार्ग निर्माण गर्नु हो । रसुवागढीको अवरोधले फोटोनका गाडी तथा स्पेयर पाट्र्सको आपूर्तिमा कस्तो असर गरेको छ ?समग्रमा चीनबाट आउने सवारीसाधन र पाट्र्सको आपूर्ति वातावरणमा चुनौती थपिएको छ । त्यसैले आयात योजना र स्टक व्यवस्थापनमा अझ बढी ध्यान दिनुपर्ने अवस्था आएको छ । विशेषगरी स्पेयर पाट्र्सको उपलब्धता महत्वपूर्ण छ । ग्राहकले गाडी किनेपछि आवश्यक पाट्र्स नपाएर लामो समय गाडी रोक्नुपर्ने अवस्था आउनु हुँदैन । त्यसैले हामीले आवश्यक पाट्र्सको प्राथमिकता निर्धारण, स्टक व्यवस्थापन र वैकल्पिक ढुवानीका उपायमा काम गरिरहेका छौँ । रसुवागढीको विकल्पमा अन्य व्यापारिक मार्ग र सडकमा सरकारले लगानी गर्नुपर्छ भन्ने लाग्छ ?अवश्य लाग्न नि । अहिलेको अवस्थाले एउटा मात्र व्यापारिक नाकामा निर्भर हुनु कति जोखिमपूर्ण हुन्छ भन्ने देखाएको छ । रसुवागढी वा तातोपानीमा समस्या आउँदा गाडी, इलेक्ट्रिक गाडीका पाट्र्स, इलेक्ट्रोनिक्स तथा अन्य सामग्रीको आपूर्ति प्रभावित हुन्छ । त्यसैले वैकल्पिक नाकाको विकास आवश्यक छ । सरकारले अहिलेका नाकाको पुनर्निर्माण र मर्मतसँगै कोरला लगायतका वैकल्पिक मार्गमा सडक, भन्सार, गोदाम, सुरक्षा र ढुवानी क्षमताको विकास गर्नुपर्छ । यो सडकमा गरिएको सामान्य लगानी मात्र होइन । यो नेपालको आपूर्ति प्रणाली, व्यापार, रोजगारी र अर्थतन्त्रको सुरक्षासँग जोडिएको विषय हो । अन्त्यमा, नेपालको अटोमोबाइल बजार र फोटोनको आगामी यात्राबारे तपाईंको सन्देश के छ ?नेपालको अटोमोबाइल उद्योग अहिले परम्परागत इन्धनमा आधारित यातायातबाट इलेक्ट्रिक र प्रविधिमैत्री मोबिलिटीतर्फ जाने चरणमा छ ।यसमा अवसर धेरै छन्, तर पूर्वाधार, नीतिगत स्थिरता, आपूर्ति शृंखला र ग्राहकको विश्वासजस्ता चुनौती पनि छन् । फोटोनका लागि व्यावसायिक गाडी बेच्नु मात्रै लक्ष्य होइन । ग्राहकको व्यवसाय निरन्तर चलिरहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । त्यसका लागि उपयुक्त गाडी, भरपर्दो बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स र चार्जिङ पूर्वाधार आवश्यक हुन्छ । सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच सहकार्य भयो भने नेपालको यातायात लागत घटाउन, पेट्रोलियम आयातमा निर्भरता कम गर्न र स्वच्छ यातायात प्रणाली विकास गर्न सकिन्छ । हाम्रो लक्ष्य तत्काल धेरै गाडी बिक्री गर्ने मात्र होइन, नेपालमा विश्वासिलो र दीर्घकालीन व्यावसायिक मोबिलिटी प्रणाली निर्माण गर्नु हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
ताजा खबरJust now

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

कान्तिपुर
सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
ताजा खबरJust now

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो

काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

रातोपाटी
अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
ताजा खबरJust now

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play