साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, सेवा प्रवाहमा सुधार र द्विपक्षीय सम्बन्ध विस्तारलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको छ। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतक नेपाली श्रमिकको शव नेपाल पठाउने प्रक्रिया छिटो बनाउने तथा दुई देशबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता जनाउनुभएको हो। सुनारले सन् २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने योजना पनि प्रस्तुत गर्नुभएको छ। सरकारी तथ्याङ्कअनुसार हाल साउदी अरेबियामा करिब ३ लाख ८५ हजार नेपाली कार्यरत छन्। उहाँले विशेषगरी श्रम सम्झौताको अभाव तथा ‘हुरुब’ अर्थात् कामदार काम छाडेर भागेको आरोप लगाइने अवस्थाका कारण नेपाली श्रमिकले भोग्नुपरेका समस्याप्रति चासो व्यक्त गर्नुभएको छ। श्रमिकको अधिकार संरक्षण र उनीहरूले भोग्ने कानुनी तथा प्रशासनिक झन्झट न्यूनीकरण गर्न पहल गर्ने उहाँको योजना छ। पहिलो ३० दिनमा पेन्डिङ मुद्दाको अडिट प्रस्तावित राजदूत सुनारले आफ्नो १०० दिने कार्ययोजनाअन्तर्गत पहिलो ३० दिनभित्र दूतावासमा रहेका पेन्डिङ मुद्दाहरूको अडिट गर्ने बताउनुभएको छ। नेपाली श्रमिकको राहदानी नवीकरण तथा प्रमाणीकरणमा देखिएका झन्झट हटाउन अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि उहाँले अघि सार्नुभएको छ। राहदानी वितरण प्रक्रियालाई छिटो र सहज बनाउन राष्ट्रिय परिचयपत्रको विवरणसँग प्रणाली जोड्ने तथा दूतावासमा अरबी भाषा जान्ने दोभासे कर्मचारीको व्यवस्था गर्ने उहाँको प्रस्ताव छ। मेगा परियोजनामा नेपाली दक्ष श्रमिकको सहभागिता बढाइने आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुभएका सुनारले साउदी अरेबियाका नियोम, रेड सी र किदिया जस्ता ठूला परियोजनामा नेपाली दक्ष श्रमिकको सहभागिता बढाउन पहल गर्ने बताउनुभएको छ। साथै, नेपालमा साउदी लगानी आकर्षित गर्ने तथा दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि काम गर्ने उहाँको योजना छ। दुई देशबीच दोहोरो कर प्रणाली (डबल ट्याक्सेसन) सम्बन्धी समस्या समाधानका लागि समेत पहल गर्ने उहाँले स्पष्ट पार्नुभएको छ। मृतक श्रमिकको शव सात दिनभित्र नेपाल पठाउने लक्ष्य साउदी अरेबियामा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल पठाउन लाग्ने समय घटाउनु आफ्नो प्राथमिकतामा रहेको सुनारले बताउनुभएको छ। हालको प्रक्रियालाई छोट्याएर शव नेपाल पठाउने काम सात दिनभित्र सम्पन्न गर्ने गरी पहल गर्ने उहाँको प्रतिबद्धता छ। श्रमिकको सुरक्षा, दूतावासको सेवा प्रवाहमा सुधार, आर्थिक कूटनीतिको विस्तार र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई प्रस्तावित राजदूत सुनारले आफ्नो कार्ययोजनामा प्राथमिकताका साथ समेट्नुभएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जलवायु संकट, एआई र पश्चिम एसिया युद्धबारे बैंककमा विश्व नेताहरूको छलफल
बैंकक । जलवायु संकट, एआई, पश्चिम एशियाको युद्ध, विश्व व्यापारमा देखिएको अवरोध र स्वच्छ ऊर्जाको भविष्यबारे विश्वका राजनीतिक तथा व्यावसायिक नेताहरूले थाइल्यान्डको राजधानी बैंककमा छलफल गरिरहेका छन् । सीएनएन इन्टरनेसनलको ‘ग्लोबल... ...

‘बाटुलो जून’को छायांकनका तस्विर छताछुल्ल भएपछि…
काठमाडौं । चलचित्र ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका दृश्यहरू निर्माण पक्षको अनुमति र स्वीकृतिबिना सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रालिले आपत्ति जनाएको छ। कम्पनीले अनधिकृत रूपमा सार्वजनिक गरिएका दृश्य तत्काल हटाउन र आगामी दिनमा पुनः अपलोड नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। निर्माण पक्षका अनुसार चलचित्र छायांकनका क्रममा खिचिएका दृश्य तथा बिहाइन्ड द सिन्स (बीटीएस) सामग्री चलचित्रको प्रचारप्रसार, ...

बूढीगण्डकीको बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरी अन्धकार
उत्तरी गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका करिब पाँच हजार घरधुरी विद्युत्विहीन बनेका छन्। ...

कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ
कैलाली । कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बस्ने १९ वर्षीय निशान शाहीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित... ...


