चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा जादु वा चमत्कार गर्ने दाबी नगर्ने, बरु इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । ‘म जादु गर्छु, चमत्कार गर्छु भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु । बेइमानी नगरीकन, नचुकीकन आफ्नो कर्म गर्छु,’ उनले भने । थापाले आफ्नो पहिलो प्रतिबद्धता लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायप्रति रहेको स्पष्ट पारे । आगामी दिनमा नेपाली कांग्रेसले सरकार, सत्ता र राजनीतिक सहकार्यभन्दा लोकतन्त्र, नागरिकको सम्मान तथा सामाजिक न्यायलाई प्राथमिकता दिने उनको भनाइ थियो । ‘नेपाली कांग्रेसको आगामी यात्रा लोकतन्त्र, गरिमा र सामाजिक न्यायका आधारमा अघि बढ्नेछ । कुनै पनि दल, संस्था, सरकार वा शक्तिसँग सहकार्य गर्ने अथवा संघर्ष गर्ने भन्ने कुरा यी मूल्यप्रतिको प्रतिबद्धताले निर्धारण गर्नेछ,’ थापाले भने । सभापति थापाले पार्टीको सफलता निर्वाचनमा प्राप्त हुने जित, आयोजना गरिने सभा वा जुलुसको संख्याले मात्र मापन नहुने बताए । नागरिकले कांग्रेसलाई कति विश्वास गर्छन् भन्ने विषय पार्टीको सफलताको मुख्य आधार हुने उनको भनाइ थियो । उनले कांग्रेसलाई नागरिकका समस्या र अप्ठ्यारामा भरोसा गर्न सकिने पार्टी बनाउने प्रतिबद्धता जनाए । पार्टीका आन्तरिक गतिविधिमा केन्द्रित हुने समय र ऊर्जा घटाएर नागरिकका मुद्दामा बढी ध्यान दिनुपर्ने उनले बताए । थापाले कांग्रेसलाई वर्तमान समयको वैचारिक नेतृत्व गर्ने पार्टीका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरे । नेपालको राजनीतिलाई लोकप्रियतावादबाट लोकतन्त्र र देखावटी गतिविधिमा केन्द्रित राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजान आवश्यक रहेको उनको भनाइ थियो । अर्थतन्त्रको न्यून वृद्धि, स्रोत परिचालनका चुनौती र समाजमा कायम विभेदका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता विषयको समाधान खोज्ने नेतृत्व कांग्रेसले लिनुपर्ने बताए। कांग्रेसलाई पार्टी कार्यालय र आन्तरिक बैठकमा मात्र सीमित नराखी नागरिक, युवा, किसान तथा समुदायका बीचमा पुर्याउनुपर्ने उनले बताए । ‘नेपाली कांग्रेसको तागत पार्टीका बन्द कोठाहरूबाट आउँदैन, कांग्रेसको तागत आम नागरिकहरूको विश्वासबाट आउँछ,’ उनले भने । उनले पार्टीका प्रत्येक सदस्यलाई कुनै न कुनै सामाजिक आन्दोलनसँग जोड्दै कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित
३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान गरिएको हो । पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ । सत्य, तथ्य र निष्पक्षताका साथ जनसरोकारका विषयहरू उजागर गर्दै पत्रकारिता क्षेत्रमार्फत समाजलाई जवाफदेही… ...

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने त्रिवि क्रिकेट मैदानको स्फेरिकल भ्यू । ...

छलफलपछि पत्रकार किशोर श्रेष्ठ घर फर्किए
भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार साइबर ब्युरोमा भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् । ...


