नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने मान्यता छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवम् ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराणमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवत्लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यी नै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष लाम लाग्ने गर्छ । बडादसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबारलगायत दिनमा देवीको विशेष रुपमा मठ, मन्दिरमा आराधना गर्न मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । नवरात्रका अवसरमा राजधानी काठमाडौँका साथै देशका मुख्यमुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि आउने भक्तजनको लाम नै लाग्ने गर्छ । नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा शक्तिपीठमा पुगेर पूजा, आराधना एवं दर्शन गर्नुपर्ने भन्दै कतिपय भक्तजन विभिन्न मन्दिरमा पुगिरहेको देखिन्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


