चाडबाडको मुखमा बूढीगण्डकीको विनाशकारी बाढी, घरबस्ती र पुलमा क्षति

काठमाडौं– अघिल्ला बाढीपहिरोको घाउ निको नहुँदै गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति गरेको छ । आइतबार आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका बस्ती, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले तीन दर्जनभन्दा बढी घर बगाएको छ । गोरखा र धादिङ जोड्ने आरुघाट पुलको एक भाग, सोतीखोलाको पक्की पुल तथा विभिन्न झोलुंगे पुलमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन जलविद्युत् आयोजनाका क्याम्प, उपकरण, टेलिफोन टावर र विद्युत्का पोलसमेत बगाएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–विशालनगरका करिब १०० घरमा लेदो पसेको छ । बाढीबाट प्रभावित तथा जोखिममा परेका बासिन्दाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । नेपाली सेनाका हेलिकप्टरबाट चार दर्जनभन्दा बढी मानिसको उद्धार गरिएको प्रारम्भिक विवरण छ । सम्पर्कविहीन भएकाहरूको खोजी तथा क्षतिको विवरण संकलन भइरहेको छ । बाढीको कारण अझै पुष्टि भएको छैन । प्रारम्भिक अनुमानअनुसार चुमनुब्री गाउँपालिका–३ आसपासको माथिल्लो क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि खुलेपछि लेदो तथा गेग्रानसहितको आकस्मिक बाढी आएको हुनसक्छ । भूगर्भविद्सहितको टोलीले बाढीको उद्गम क्षेत्र र भौगर्भिक अवस्थाबारे अध्ययन गर्ने तयारी गरेको छ । दशैँ–तिहारको मुखमा आएको यो विपत्तिले प्रभावित परिवारलाई थप संकटमा पारेको छ । घरबास गुमाएका परिवारको पुनःस्थापना, सडक तथा पुलको मर्मत र विद्युत् तथा सञ्चार सेवा सञ्चालन तत्कालका चुनौती बनेका छन् । यसअघि भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र असोजमा देशका विभिन्न भागमा परेको अविरल वर्षा तथा बाढीपहिरोले ठूलो क्षति गरेको थियो । ती विपत्तिको असर कायम रहँदै बूढीगण्डकीमा आएको बाढीले फेरि अर्को संकट थपेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



