दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार रूपैयाँ जरिवाना

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रूपैयाँ जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार प्राधिकरणको निर्देशन नमानेको, स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कारबाही गरिएको हो । प्राधिकरणले स्वीकृत गरेको इन्टरनेटको गति र प्याकेजअनुसार सेवा उपलब्ध नगराउने तथा स्वीकृत दरभन्दा बढी शुल्क लिने कार्य उपभोक्ताको हितविपरीत भएको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न कारबाही गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । प्राधिकरणका अनुसार सेवा प्रदायकले शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम प्रस्तावित दर र लागू हुने मितिसमेत उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था छ । तर, केही सेवा प्रदायकले उक्त व्यवस्थाको पालना नगरेको पाइएको छ । जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रा.लि, फाइबरवर्ल्ड कम्युनिकेसन प्रालि, भायानेट कम्युनिकेसन्स लिमिटेड, एरोनेट प्रालि, डिश मिडिया नेटवर्क लिमिटेड, वाइफाइ नेपाल प्रालि, सिजी कम्युनिकेसन लिमिटेड, वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड, फर्स्ट लिङ्क कम्युनिकेसन प्रालि, पोखरा इन्टरनेट प्रालि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड र सुबिसु लिमिटेड रहेका छन् । प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशनसमेत दिएको छ । त्यस्ता गतिविधिका कारण कुनै ग्राहकलाई हानिनोक्सानी भएको भए ग्राहकको मागका आधारमा क्षतिपूर्ति वा हानिनोक्सानीको बिगो भराउन पनि निर्देशन दिइएको छ । प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना कुनै पनि प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ । प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्त पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ । यसअघि प्राधिकरणले असोज २४ गते इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो । सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको जनाउँदै प्राधिकरणले स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो । स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्नसमेत सेवाग्राहीलाई आग्रह गरिएको छ । उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धाको प्रवर्द्धन तथा इन्टरनेट सेवालाई व्यवस्थित बनाउन प्रचलित कानुनअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...


