Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसको १५औं महाधिवेशनः पदाधिकारीमा कसले जिते, कसले हारे ?

कांग्रेसको १५औं महाधिवेशनः पदाधिकारीमा कसले जिते, कसले हारे ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको १५औं महाधिवेशनः पदाधिकारीमा कसले जिते, कसले हारे ?

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नेतृत्वमा दोस्रो पुस्ताको उदयलाई बलियोसँग स्थापित गरेको छ। सभापतिदेखि महामन्त्री र सहमहामन्त्रीसम्मका पदमा निर्वाचित अनुहार हेर्दा कांग्रेसको नयाँ नेतृत्वमा विद्यार्थी राजनीति, पत्रकारिता, सामाजिक अभियान र लामो राजनीतिक संघर्षबाट खारिएका नेताहरूको मिश्रण देखिन्छ । तर, नेतृत्वमा आएको यो परिवर्तनले कांग्रेसको राजनीतिक शैली र कार्यशैलीसमेत बदल्न सक्छ कि सक्दैन भन्ने प्रश्न अब थप पेचिलो बनेको छ। कांग्रेसको सभापतिमा गगनकुमार थापाले भारी मतान्तरसहित विजय हासिल गरे। कुल ७ हजार १३ मतमध्ये ६ हजार ५८४ मत प्राप्त गरेका थापाको विजय केवल एउटा पदमा भएको निर्वाचनको परिणाम मात्र होइन, पार्टीभित्र नेतृत्व परिवर्तनको चाहनाको संकेतका रूपमा समेत हेरिएको छ । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत मात्र पाए । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका थापा विद्यार्थी आन्दोलन, संसद्, स्वास्थ्य मन्त्रालय र सामाजिक अभियान हुँदै पार्टीको सर्वोच्च पदमा पुगेका हुन्। थापाको उदयसँगै कांग्रेसमा विद्यार्थी राजनीतिबाट शीर्ष नेतृत्वसम्म पुग्ने अर्को अध्याय थपिएको छ। तर, उनको वास्तविक परीक्षा अब सुरु भएको छ। पार्टीलाई निर्वाचनमा प्रतिस्पर्धी बनाउने, संगठनलाई चलायमान बनाउने र जनतामा गुम्दै गएको विश्वास फर्काउने चुनौती उनको काँधमा छ। थापाको नेतृत्वलाई बलियो बनाउने अर्को अनुहार हुन्, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मा। लामो समय पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका शर्मा भाषणकला, राजनीतिक अभिव्यक्ति र वैचारिक प्रस्तुतिका कारण परिचित छन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी पत्रकारिता र साहित्यिक पृष्ठभूमिसमेत भएका नेता हुन्। यसअघि कांग्रेसमा वरिष्ठ उपसभापति पद थिएन, अहिले उनकै सिट सुरक्षित पार्न वरिष्ठ उपसभापतिको थप गरिएको हो । संयोग पनि उनी निर्विरोध चयन भए, कसैले उम्मेदवारी दिने आँट गरेनन् । महिला उपसभापतिमा निर्विरोध निर्वाचित पुष्पा भुसालले पनि नेतृत्वमा महिला प्रतिनिधित्वलाई निरन्तरता दिएकी छन्। संविधानसभा सदस्य तथा पूर्वउपसभामुखको अनुभव बोकेकी भुसालको उपस्थितिले नयाँ नेतृत्वमा संसदीय र संस्थागत अनुभवको पक्षलाई बलियो बनाएको छ। उपसभापतिको खुला दुई पदमा डा. चन्द्रकान्त भण्डारीर मधु आचार्य विजयी भएका छन् । भण्डारीले सबैभन्दा बढी ३ हजार ७३५ मत ल्याएर जित हात पार्दा आचार्यले २ हजार ३४२ मत ल्याएका थिए । भण्डारी २०३३ सालदेखि कांग्रेसमा सक्रिय, ५ वर्ष जेल बसेका र गुल्मीबाट दुई पटक सांसद जितेका पुराना नेता समेत हुन् । आचार्य इन्जिनियर पृष्ठभूमिका नेता हुन् । यो पदमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत ल्याएर हार व्यहोरेका छन् । समावेशी उपसभापतिको एक पदमा भने निकै कडा प्रतिस्पर्धा भएको थियो । उद्योगपति विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित विजयी हुँदा जीवन परियार १ हजार ६५८ मतसहित जम्मा ८७ मतले पराजित भए । चौधरी कांग्रेसमा उद्यमी प्रतिनिधित्व गर्ने नेता हुन् । यसै पदमा फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका थिए । महामन्त्रीको खुला दुई पदमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । पौडेलले ४ हजार १९४ मतसहित समग्रमा सर्वाधिक मत ल्याएर जितेका छन् । राणाले २ हजार ३३० मत ल्याएका थिए । पौडेल विद्यार्थी राजनीति हुँदै एक विद्यालय–एक पुस्तकालय अभियानका अभियन्ता, ०७९ को निर्वाचनमा काठमाडौं–५ बाट ईश्वर पोखरेललाई हराएर सांसद बनेका नेता हुन् । यता राणा परिवारबाट राजनीतिमा आएका उदयशमशेर ललितपुरका प्रभावशाली नेता मानिन्छन् । उनका निकटतम प्रतिस्पर्धी डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत ल्याएर ७३ मतको झिनो अन्तरले हारेका छन् । यसैगरी गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे। महिला महामन्त्रीमा डा. डिला संग्रौला पन्त ३ हजार ११८ मतसहित विजयी भएकी छन् । उनी पूर्व सांसद र महिला अधिकारको क्षेत्रमा सक्रिय नेतृ हुन् । उनकी मुख्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले २ हजार ८६४ र रीता खनालले ८०४ मत पाइन् । कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुला सहमहामन्त्रीतर्फ खतिवडाले २ हजार ९१९ मतसहित फराकिलो जित निकालेका छन् । खतिवडा ओखलढुंगाका पुराना नेता, पूर्व सांसद र कांग्रेसको संगठन विभागमा लामो अनुभव भएका नेता हुन् । शिवाकोटीले २ हजार १७२ मत सहित निर्वाचित भएका छन् । शिवाकोटी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन्, उनी लामो समयदेखि खोज पत्रकारितामा सक्रिय थिए । उक्त पदमा डिल्लीराम सुवेदी, देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री प्रतिस्पर्धामा थिए । कांग्रेसका जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रबाट उम्मेदवार रहेका शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन् । शाही कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री समेत हुन् । शाही र गिरीसँगै अरु ३ जना प्रतिस्पर्धामा थिए । जसअनुसार नारायणप्रसाद भट्टराईले ७३१, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन् । अन्य पदमा अझै मतगणना जारी छ । अब प्रश्न नेतृत्वमा को आयो भन्नेमा मात्र सीमित छैन। नयाँ नेतृत्वले पार्टीको संगठन कति सुधार्छ, आन्तरिक गुटबन्दी कति घटाउँछ, नीतिगत बहसलाई कति प्राथमिकता दिन्छ र जनताका मुद्दामा कति प्रभावकारी रूपमा प्रस्तुत हुन्छ भन्ने विषयले नै यसको सफलता निर्धारण गर्नेछ। गगन थापाको नेतृत्वमा कांग्रेसले परिवर्तनको सन्देश दिएको छ। तर, सन्देशलाई परिणाममा बदल्नु सजिलो छैन। नेतृत्वमा नयाँ अनुहार आउनु एउटा उपलब्धि हो; पार्टीको सोच, व्यवहार र जनताप्रतिको जवाफदेहितामा परिवर्तन ल्याउनु वास्तविक चुनौती हो। कांग्रेसमा अहिले आधिकारिकताकाे लडाइँ छ, पार्टी पनि एक छैन । शेरबहादुर देउवा र डा. शेखर काेइराला पक्ष यस महाधिवेशनमा समेटिएकै छैन । देउवा लामो समय कांग्रेसको नेतृत्वमा रहेका नेता हुन् भने शेखर कोइराला पार्टीभित्र छुट्टै राजनीतिक धारको प्रतिनिधित्व गर्दै आएका छन्। याे प्रमुख चुनाैती हाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

स्थानीय तह निर्वाचनका आधारभूत आयाम
ताजा खबरJust now

स्थानीय तह निर्वाचनका आधारभूत आयाम

स्थानीय तहको तेस्रो कार्यकालको निर्वाचनलाई केवल नयाँ जनप्रतिनिधि छनोट गर्ने प्रक्रियाका रूपमा होइन, एक दशकको संघीय अभ्यासबाट सिकेका पाठलाई संस्थागत गर्ने अवसरका रूपमा लिनुपर्छ । ...

कान्तिपुर
१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार
ताजा खबरJust now

१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार

आज २०८३ असोज २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– ...

रातोपाटी
रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित
ताजा खबरJust now

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित

ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play