प्रेरणा र पारिजात

गोविन्द गिरी ‘प्रेरणा’ नेपाली साहित्यका चर्चित साहित्यकार, लेखक तथा समीक्षक हुन् । उनले कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, संस्मरण, व्यक्तित्व लेखन, समीक्षा तथा अनुवादजस्ता विभिन्न विधामा कलम चलाएका छन् । उनका रचनामा सामाजिक जीवन, मानवीय संवेदना, देशप्रेम तथा समसामयिक विषयवस्तुको प्रभाव पाइन्छ । व्यक्तित्व लेखनमा उनले विभिन्न साहित्यकार तथा व्यक्तिहरूको जीवन, योगदान र व्यक्तित्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । समीक्षकका रूपमा पनि उनले नेपाली साहित्यका विभिन्न कृति र प्रवृत्तिको विश्लेषण तथा मूल्यांकन गरेका छन् । सरल, सहज र प्रभावकारी भाषाशैलीका कारण उनी नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । चार दशकभन्दा अघिदेखि निरन्तर नेपाली भाषा, साहित्य वा पत्रकारिताको क्षेत्रमा अनवरत सेवा गरिरहेका एक जुझारु साहित्यकार प्रेरणाका २८ वटा मौलिक तथा अन्य अनुवादिंत, सम्पादित गरी चालिस जति कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये ‘सुश्री पारिजात’ उहाँको पछिल्लो तर बहुचर्चित र महत्त्वपूर्ण कृति पनि हो । पारिजातलाई माया गर्ने पाठकका लागि यो आत्मीय पाठ हुनसक्छ भने नयाँ पुस्ताका लागि पारिजातको जीवन र साहित्यतर्फ प्रवेश गर्ने एउटा उपयोगी सहज मार्ग पनि बन्नसक्छ । पारिजातलाई पढ्नु भनेको एउटा व्यक्तिलाई मात्र पढ्नु होइन-एउटा विद्रोही चेतना, एउटा युग र एउटा असहज तर अत्यन्त जीवन्त प्रश्नको उत्तरलाई पढ्नु हो । करिब तीन वर्षअघि प्रकाशित गोविन्द गिरि प्रेरणाको उक्त कृति ‘सुश्री पारिजात’ को हामीलाई पनि कोलोराडोमा लोकार्पण गर्ने मौका प्राप्त भएको थियो । त्यही अवसरमा स्वयं लेखकको हातबाट उक्त कृति प्राप्त गरि त्यसैबेला सरसर्ती पढेको पनि हुँ । समयको अन्तरालपछि पुनः त्यस कृतितर्फ फर्किँदा पारिजातको व्यक्तित्व, संघर्ष, विद्रोही चेतना र साहित्यिक योगदानलाई लेखकले प्रस्तुत गरेको ढंगले मलाई फेरि सोच्न र अनुभूत गर्न प्रेरित गर्यो । उक्त कृति पढेपछि मनमा उब्जिएका केही संक्षिप्त विचार तथा अनुभूतिहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । ‘सुश्री पारिजात’ नेपाली साहित्यकी विशिष्ट स्रष्टा पारिजातलाई केवल एक लेखिकाका रूपमा होइन, आफ्नो समयसँग निरन्तर प्रश्न गर्ने विद्रोही, संवेदनशील र जटिल व्यक्तित्वका रूपमा बुझ्ने प्रयत्न हो । पारिजातको जीवन, चिन्तन, संघर्ष र साहित्यिक यात्रालाई नजिकबाट नियाल्ने क्रममा कृतिले उनको व्यक्तित्वका उज्याला र केही विरोधाभासी पाटाहरूलाई समेत पाठकसामु ल्याउने प्रयास गरेको छ । कृतिको सबैभन्दा सबल पक्ष पारिजातको मानवीय र साहित्यिक व्यक्तित्वलाई एकै ठाउँमा उभ्याउनु हो । उनीभित्रको विद्रोह, नारी चेतना, सामाजिक विसंगतिप्रतिको असहमति, वैचारिक स्वतन्त्रता र साहित्यप्रतिको गहिरो समर्पणलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् । यस अर्थमा ‘सुश्री पारिजात’ एउटा जीवनीपरक कृतिमात्र नभई पारिजातको समय, समाज र चेतनालाई बुझ्ने एउटा महत्त्वपूर्ण झ्याल बनेको छ । त्यसैगरी, संस्मरणात्मक र तथ्यपरक प्रस्तुतिको संयोजन पनि कृतिको उल्लेखनीय विशेषता हो । पारिजातलाई देवत्वकरण नगरी उनका मानवीय कमजोरी, जटिलता र अन्तर्विरोधलाई समेत देखाउने लेखकको प्रयासले कृतिलाई बढी विश्वसनीय बनाएको छ । कृति पढ्ने पाठकहरूले पारिजातको साहित्यमात्र होइन, उनको पछाडि रहेको संघर्षशील जीवन र संवेदनशील हृदयलाई पनि अनुभूत गर्न सक्नेछन् । कृति अब्बल भइकन पनि यसका केही सीमाहरू पनि छन् । कतिपय प्रसंगमा पारिजातप्रतिको लेखकको आत्मीयता र प्रशंसाभाव यति प्रबल देखिन्छ कि आलोचनात्मक दूरी केही कमजोर भएको अनुभूति हुन्छ । घटनाहरूको विवरण र संस्मरणात्मक प्रसंगको बहुलताले कतिपय ठाउँमा विश्लेषणात्मक गहिराइलाई ओझेल पार्न सक्छ। विशेषतः पारिजातका साहित्यिक कृतिहरूको सौन्दर्यशास्त्रीय तथा वैचारिक विश्लेषण अझ विस्तृत भएको भए कृतिको आलोचनात्मक आयाम थप समृद्ध बन्न सक्थ्यो । त्यसैले भन्न सकिन्छ कि, यो कृति पारिजातको बारेमा लेखिएको हो, उनको सिर्जनात्मक खुबी र सौन्दर्यको बारेमा मात्र होइन । यस्ता केही सीमाका बाबजुद पनि ‘सुश्री पारिजात’ पारिजातलाई पढ्न, बुझ्न र उनका जीवन-चिन्तनमाथि प्रष्ट धारणा बनाउन मद्धत गर्ने कृति हो । पारिजातको व्यक्तित्व आफैंमा एउटा प्रश्न थियो- समाजप्रति, समयप्रति र स्वयंप्रति । गोविन्द गिरि प्रेरणाको यो कृति तीनै प्रश्नहरूको वरिपरि खेलेको एउटा अर्थपूर्ण साहित्यिक संवादजस्तो लाग्छ । ‘सुश्री पारिजात’ पारिजातको जीवनको अभिलेखमात्र होइन; एउटा असाधारण स्रष्टालाई मानवीय आँखाले हेर्ने प्रयत्न हो । उनका उज्याला पक्षसँगै अन्तर्विरोध र सीमाहरूलाई पनि स्वीकार्दै पढ्दा कृतिको अर्थ अझ फराकिलो हुन्छ । पारिजातलाई माया गर्ने पाठकका लागि यो आत्मीय पाठ हुनसक्छ भने नयाँ पुस्ताका लागि पारिजातको जीवन र साहित्यतर्फ प्रवेश गर्ने एउटा उपयोगी सहज मार्ग पनि बन्नसक्छ । पारिजातलाई पढ्नु भनेको एउटा व्यक्तिलाई मात्र पढ्नु होइन-एउटा विद्रोही चेतना, एउटा युग र एउटा असहज तर अत्यन्त जीवन्त प्रश्नको उत्तरलाई पढ्नु हो । कृति निर्माणमा लेखकको परिश्रम र आँट खेर गएको छैन । वर्षौंको मिहिनेत, खोज, अनुसन्धान र चिन्तन खर्चेर तयार पारिएको नेपाली साहित्यको एउटा अमूल्य सम्पत्ति ‘सुश्री पारिजात’ का लागि मेरा अग्रज साहित्यकार एवं अनन्य मित्र गोविन्द गिरि प्रेरणालाई धन्यवाद सहित हार्दिक बधाई तथा शुभकामना ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


