व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर

काठमाडौं । काठमाडौं उपत्यकामा गत आइतबारदेखि सुरु गरिएको फरक कम्पनीका ग्यास बिक्रीवितरण बन्द हुने भएको छ । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका ११ स्थानबाट फरक कम्पनीका ग्यास बिक्रीवितरण गरिँदै आएको थियो । ३० असोजसम्म साट्ने निर्णय गरेको संघले बुधबारसम्म मात्रै लागू हुने बताएको छ । बिहीबारदेखि भने डिलरहरूबाट नै एलपी ग्यास नियमित बिक्री हुने संघले जानकारी दिएको छ । वितरण केन्द्रहरूमा उपभोक्ताको अत्यधिक भीड नियन्त्रण गर्न नसकेपपछि बिक्री वितरण रोक्ने निर्णय गरिएको संघ अध्यक्ष दिवान चन्दले जनाए । ‘भीड घट्दै जान्छ भन्ने हाम्रो अपेक्षा थियो । तर अपेक्षाविपरीत बढ्दै गएपछि डिलरमार्फत वितरण गर्ने निर्णय गरिएको हो,’ चन्दले भने, ‘दसैंको समयमा डिलरहरूले बेच्न नपाएको गुनासो पनि आयो । डिलरमार्फत ग्यास वितरण गर्दा वास्तविक उपभोक्ता चिन्न सकिने पनि भएकाले बिहीबारदेखि डिलरबाटै वितरण गर्ने निर्णय भएको हो ।’ फरक कम्पनीका सिलिन्डर साट्ने व्यवस्थाले तत्काल केही उपभोक्तालाई राहत दिए पनि खाली सिलिन्डरको संख्या र ग्यास भर्ने परिमाणबीच तालमेल मिलाउन समय लाग्ने उनको भनाइ छ । ‘पहिले जति खपत हुन्थ्यो, त्यति नै ग्यास आइरहेको छ, करिब पाँच प्रतिशत बढी पनि आएको छ,’ चन्दले भने, ‘तर अहिले खाली भएका अतिरिक्त सिलिन्डर भर्न थप ग्यास चाहिन्छ ।’ खाली सिलिन्डरको संख्या धेरै भएकाले आयात भएको ग्यासले सबै सिलिन्डर एकैपटक भर्न सम्भव छैन । आयात बढ्दै गएसँगै सिलिन्डर भर्ने र बजारमा पठाउने प्रक्रिया पनि बिस्तारै अघि बढ्नेछ । नेपाल आयल निगमले भने दसैंमा सहज बनाउने तयारी गरेको दाबी छ । दसैंसम्म उपभोक्तलाई ग्यास सहज बनाउने तयारी थालिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको उनको भनाइ छ । भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उनले जानकारी दिए । भारतबाट आयात हुने एलपी ग्यास पर्याप्त रहेको निगमको तथ्यांक छ । सामान्य अवस्थामा मासिक ४५ देखि ४६ हजार टन एलपी ग्यास खपत हुने निगमको तथ्यांक छ । तथ्यांकअनुसार साउनमा ५७ हजार टन ग्यास आयात भएको थियो । भदौमा निगमले ६० हजार टन ग्यास आयातका लागि आग्रह गरेकामा ५९ हजार टन आयात भएको थियो । २६ असोजसम्म ४६ हजार टन ग्यास आयात भएको ठाकुरले बताए । ‘हाम्रो मासिक खपत ४५ देखि ४६ हजार हो,’ ठाकुरले भने, ‘भदौमा खपतभन्दा १२ हजार बढी आयात भएको छ । आयातमा कमी छैन । धेरै सिलिन्डर मौज्दातले समस्या देखिएको हो ।’ धनगढी, विराटनगर, भैरहवालगायत क्षेत्रमा ग्यासको अभाव नरहेको निगमले जनाएको छ । केही ग्यास उद्योगमा मौज्दातसमेत रहन थालेको छ । पाँच–छ महिनादेखि उद्योगमा ग्यासको मौज्दात रहन नसकेको अवस्थामा अहिले सुधार देखिएको हो । पछिल्लो समय ग्यास अभाव चर्किनुमा आधा सिलिन्डर बिक्रीको मुख्य कारण रहेको ठाकुरले बताए । गत फागुनमा पश्चिम एसियामा द्वन्द्वका कारण ग्यासको अभाव चुलिएको थियो । अभाव कम गर्न सरकारले ९ फागुन २०८२ देखि ३१ असार २०८३ सम्म आधा सिलिन्डर बेचेको थियो । फागुनयता ८ महिना बितिसक्दा पनि ग्यास आपूर्ति सहज हुन सकेको छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...


