Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग

10/15/2026, 7:26:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग

राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, भौतिक पूर्वाधारको पुनर्निर्माण र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उर्मिला अर्यालले जलवायु परिवर्तन र बाढीबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताइन् । उनले जलवायु पुनरुत्थानका लागि छुट्टै मोडल र विश्वव्यापी मञ्च निर्माण गर्न नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । अर्यालले सिँचाइ, जग्गा व्यवस्थापन, परम्परागत खेती प्रणाली र मानव बस्तीको व्यवस्थित विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । कृषि, वन तथा मानव बस्तीको उचित व्यवस्थापनका लागि भूदृश्य नक्साङ्कन गरी योजनाबद्ध रूपमा विकासका काम अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘जलवायु पुनरुत्थानका लागि हामीले एउटा छुट्टै मोडल र ग्लोबल प्लेटफर्म पनि बनाउनुपर्ने आवश्यकता छ । यसका लागि नेपाल सरकारले पहल गरोस्,’ उनले भनिन् । उनले पछिल्ला बाढीका घटनाले जलवायु परिवर्तनका चुनौती र परम्परागत व्यवस्थापन प्रणालीको महत्त्वलाई थप उजागर गरेको बताइन् । अन्तर्राष्ट्रिय रूपमा बढ्दो तापक्रमको असर कमजोर आर्थिक अवस्था भएका मुलुकले बढी भोग्नुपरेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखिन् । नेपाली कांग्रेसकी सांसद कमला पन्तले जलवायु प्रतिकार्य तथा विपद् व्यवस्थापनका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको बताइन् । बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघीय सरकारले प्रदेश र स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिइन् । ‘तीन वटा सरकारको बीचमा समन्वय छैन । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्न पनि दिनुपर्‍यो,’ पन्तले भनिन् । उनले बाढीका कारण जलविद्युत् क्षेत्रको विकासमा असर परेको र हिमनदीबाट विद्युत् उत्पादन गर्ने सम्भावनाप्रतिको उत्साहसमेत कमजोर हुँदै गएको बताइन् । बाढीले पर्यटन विकासमा पनि बाधा पुर्‍याएको उल्लेख गर्दै पन्तले पर्यटकको मनोबल बढाउन र नेपालमा पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् । नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वित्तीय व्यवस्थापन र जलवायु कोष परिचालनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले आगामी कोप–३१ सम्मेलनमा जलवायु वित्तको विषय प्रभावकारी रूपमा उठाउन सरकारले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिइन् । देवकोटाले जोखिममा रहेका लाङटाङ र मनास्लु संरक्षण क्षेत्र आसपासका नागरिकको आवागमन सहज बनाउन पहल गर्नुपर्ने बताउँदै मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखिन् । ‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु प्रतिकार्यका लागि वित्तीय व्यवस्थापन र कोष ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ,’ उनले भनिन्, ‘कोप–३१ मा जाँदा जलवायु वित्तको विषयमा प्रभावकारी तयारी गरेर उठाउनुपर्छ । मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि हामीले कानून नै बनाएर जानुपर्छ ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरूले विपद्पछिको पुनर्निर्माण तथा पुनर्वासका क्रममा परम्परागत खेती प्रणालीलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । सांसदहरूले जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रको पुनरुत्थान, स्थानीय जीविकोपार्जनको संरक्षण, जलविद्युत् तथा पर्यटन क्षेत्रको पुनरुत्थान र विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन तथा समन्वयात्मक योजना आवश्यक रहेको औँल्याएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मधेशमा कर्मचारी सरुवामा चलखेल
OthersJust now

मधेशमा कर्मचारी सरुवामा चलखेल

मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ । ...

अनलाइन खबर
आईएमएफले भन्यो– नेपालले केन्द्रीय बैंकको स्वायत्तता जोगाओस्
OthersJust now

आईएमएफले भन्यो– नेपालले केन्द्रीय बैंकको स्वायत्तता जोगाओस्

आईएमएफकी उपनिर्देशक सोनाली जैन–चन्द्राले भनिन्– नेपालमा सञ्चालित ईसीएफ कार्यक्रमका अवधिमा केन्द्रीय बैंकको स्वायत्ततामा हासिल भएका उपलब्धिहरूलाई कायम राख्न र संरक्षण गर्न अत्यन्तै महत्वपूर्ण छ भन्ने मान्यता राख्छौं । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play