Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा

अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन केवल नेतृत्व चयन गर्ने नियमित राजनीतिक प्रक्रिया होइन । यो पार्टीको ऐतिहासिक विरासतको समीक्षा गर्ने, वर्तमानका कमजोरी पहिचान गर्ने र भविष्यको राजनीतिक दिशा निर्धारण गर्ने महŒवपूर्ण अवसर हो । महाधिवेशनको सफलता कसले कुन पद प्राप्त गर्‍यो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । यसले पार्टीलाई कति रूपान्तरण गर्‍यो, जनताको विश्वास कति फर्कायो र नयाँ पुस्तालाई भविष्यप्रति कति आशावादी बनायो भन्ने कुराले यसको वास्तविक महत्व निर्धारण गर्नेछ । नेपाली कांग्रेसको इतिहास लोकतन्त्र, नागरिक स्वतन्त्रता र जनअधिकारका लागि भएका सङ्घर्षसँग जोडिएको छ । राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्रको पुनःस्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका विभिन्न राजनीतिक यात्रामा कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस ऐतिहासिक योगदानप्रति गर्व गर्नु स्वाभाविक हो तर इतिहासप्रतिको सम्मान विगतका उपलब्धि गनेरमात्र पूरा हुँदैन । ती उपलब्धिका पछाडि रहेका आदर्श, त्याग, निष्ठा र जनताप्रतिको उत्तरदायित्वलाई वर्तमान व्यवहारमा उतार्न सक्नुपर्छ । विरासत जोगाउनु भनेको पुरानै शैली, सोच र संरचनालाई जस्ताको तस्तै निरन्तरता दिनु होइन । विरासतको सार जोगाउँदै समयानुसार आफूलाई बदल्नु नै वास्तविक संरक्षण हो । समय परिवर्तन भएको छ, जनताको अपेक्षा फेरिएको छ र नयाँ पुस्ताको चेतना तथा आकांक्षा फराकिलो भएको छ । कांग्रेसले महाधिवेशनमार्फत प्राप्त गरेको विजयलाई व्यवहारबाट प्रमाणित गर्नुपर्छ । पार्टीका विधान, नियम र निर्णय सबैका लागि समान रूपमा लागू हुनुपर्छ । त्यसैले कांग्रेसले इतिहासको गौरवलाई वर्तमानको कार्यशैली र भविष्यको स्पष्ट दृष्टिकोणसँग जोड्न सक्नुपर्छ । यही पन्ध्रौं महाधिवेशनको प्रमुख सन्देश हुनुपर्छ । कांग्रेसको प्रमुख चुनौतीमध्ये एउटा नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्नु हो । युवालाई केवल चुनावी अभियानमा परिचालन गर्ने शक्ति वा सभा–समारोहमा उपस्थिति देखाउने समूहका रूपमा बुझ्नु हुँदैन । उनीहरू विचार निर्माण, नीति निर्धारण, संगठन सञ्चालन र नेतृत्व विकासका महत्वपूर्ण साझेदार हुन् । युवालाई अवसर दिने भाषण धेरै भइसके । अब उनीहरूलाई विश्वास गर्ने, जिम्मेवारी दिने र निर्णय प्रक्रियामा सहभागी गराउने व्यवहार आवश्यक छ । नेतृत्वमा पुस्तान्तरणको अर्थ उमेरका आधारमा अग्रजलाई विस्थापित गर्नु होइन अनुभव र ऊर्जाबीच सन्तुलन कायम गर्नु हो । अग्रजको अनुभव, त्याग र योगदानलाई सम्मान गर्दै युवाको नवीन सोच, प्रविधिमैत्री क्षमता र परिवर्तनप्रतिको आकांक्षालाई उचित स्थान दिनुपर्छ । पार्टीका विभिन्न तहमा लामो समयदेखि जिम्मेवारी सम्हालिरहेका नेताहरूको अनुभव अमूल्य छ तर अनुभवको सम्मानका नाममा अवसरको ढोका सधैं सीमित व्यक्तिका लागि मात्र खुला राखियो भने संगठन संकुचित हुँदै जान्छ । नयाँ पुस्तालाई नेतृत्वमा आउन स्पष्ट मार्ग, निष्पक्ष प्रतिस्पर्धा र पर्याप्त अवसर उपलब्ध गराउनु आवश्यक छ । युवाले पार्टीभित्र आफ्नो भविष्य देख्न सकेनन् भने उनीहरूलाई पार्टीबाहिर सम्भावना खोज्नबाट रोक्न सकिँदैन । राजनीतिक दलको शक्ति त्यसका नेता कति शक्तिशाली छन् भन्नेमा मात्र होइन, त्यसको विधि कति बलियो छ भन्नेमा निर्भर हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा र विचारमा मतभिन्नता हुनु लोकतान्त्रिक अभ्यासकै अंग हो । कांग्रेसले महाधिवेशनमार्फत प्राप्त गरेको विजयलाई व्यवहारबाट प्रमाणित गर्नुपर्छ । पार्टीका विधान, नियम र निर्णय सबैका लागि समान रूपमा लागू हुनुपर्छ । पद र प्रभावका आधारमा फरक व्यवहार हुने अवस्था अन्त्य हुनुपर्छ । महाधिवेशनमा कसैले जित्नु र कसैले हार्नु लोकतान्त्रिक प्रक्रियाको सामान्य परिणाम हो तर परिणामपछि पनि मनमुटाव कायम रहनु, पराजित पक्षलाई उपेक्षा गर्नु र विजयी पक्षले सम्पूर्ण पार्टी आफ्नै समूहको सम्पत्ति ठान्नु दुर्भाग्यपूर्ण हुन्छ । चुनावी प्रतिस्पर्धा सकिएपछि सबै पक्षले पार्टीको साझा उद्देश्यमा जोडिन सक्नुपर्छ । विजेताले विनम्रता देखाउनुपर्छ र पराजित पक्षको सम्मान गर्नुपर्छ । मतभिन्नताका बाबजुद सहकार्य गर्ने संस्कार नै लोकतन्त्रको सुन्दरता हो । महाधिवेशनले पार्टी कुनै व्यक्ति वा गुटको निजी सम्पत्ति होइन । यो विचार, आदर्श र सामूहिक संघर्षबाट निर्माण भएको साझा संस्था हो भन्ने एउटा स्पष्ट मान्यता स्थापित गरेको छ । पद प्राप्त गर्नु अन्तिम उपलब्धि होइन पदमार्फत जनताको सेवा गर्नु मुख्य दायित्व हो । परम्परा तोड्नुभनेको इतिहास मेटाउनु होइन, इतिहासका आदर्शलाई समयानुकूल बनाउनु हो । युवालाई अवसर दिनु भनेको अग्रजलाई अलग गर्नु होइन, अनुभव र ऊर्जाबीच सहकार्यको पुल बनाउनु हो । निर्वाचनकाट प्राप्त मतलाई केवल जित र हारको गणितका रूपमा बुझ्नु पर्याप्त हुँदैन । मत जनताको विश्वासको अभिव्यक्ति हो । जनताले मत दिएर जिम्मेवारी सुम्पेका हुन्छन् । त्यसैले जनादेशको सम्मान गर्नु लोकतान्त्रिक राजनीतिको आधारभूत दायित्व हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र पनि यही मान्यतामा आधारित हुनुपर्छ । कांग्रेसले अब आफ्नो राजनीतिक यात्रामा जनताको विश्वास किन कमजोर भयो भन्ने प्रश्नको इमानदार समीक्षा गर्नुपर्छ । जनताले उठाएका सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, महँगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणका सवालमा पार्टीको भूमिका के रह्यो भन्ने विषयमा आत्ममूल्यांकन आवश्यक छ । गल्ती स्वीकार गर्नु कमजोरी होइन गल्तीबाट नसिक्नु चाहिँ कमजोरी हो । राजनीतिक दलप्रतिको विश्वास भाषणबाट मात्र फर्किंदैन । व्यवहारमा इमानदारी, निर्णयमा पारदर्शिता र काममा परिणाम देखिनुपर्छ । सार्वजनिक पदमा रहने व्यक्तिले आफ्नो जिम्मेवारीलाई अधिकार र सुविधाको माध्यम होइन, सेवाको अवसरका रूपमा लिनुपर्छ । भ्रष्टाचार र अनियमितताका विषयमा आफ्ना र अरूका लागि फरक मापदण्ड राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । पार्टीभित्र आलोचनालाई शत्रुता ठान्ने होइन, सुधारको अवसरका रूपमा ग्रहण गर्ने संस्कार विकास गर्नुपर्छ । नागरिकका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र आफ्ना निर्णयप्रति जनतासामु जवाफदेही हुने राजनीतिक संस्कार स्थापित गर्नु आवश्यक छ । जनताको विश्वास जित्ने बाटो उनीहरूका समस्या बुझ्ने र प्रतिबद्धता अनुसार काम गर्ने व्यवहारबाटै हो । कुनै पनि राजनीतिक दलको भविष्य नेतृत्वको अनुहारले मात्र निर्धारण गर्दैन । उसले देशलाई कुन दिशामा लैजान चाहन्छ, नागरिकका समस्याको समाधान कसरी गर्छ र बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराले निर्धारण गर्छ । कांग्रेसले लोकतान्त्रिक समाजवादको आफ्नो वैचारिक आधारलाई वर्तमान समयका आवश्यकता र चुनौतीसँग जोडेर व्याख्या गर्नुपर्छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलताको विकास, गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा तथा सुशासनका विषयमा स्पष्ट र कार्यान्वयनयोग्य कार्यक्रम प्रस्तुत गर्नुपर्छ । युवालाई विदेशिन बाध्य पार्ने परिस्थितिको अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्ने ठोस योजना आवश्यक छ । कृषि, पर्यटन, सूचना प्रविधि, साना तथा मझौला उद्योग र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति व्यवहारमा लागू हुनुपर्छ । राज्यका स्रोतसाधनको उपयोग जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्छ । आर्थिक विकास र सामाजिक न्यायलाई परस्परविरोधी होइन, एकअर्काका पूरक मान्ने दृष्टिकोण आवश्यक छ । राजनीतिक संगठन केवल पदाधिकारी र निर्वाचित प्रतिनिधिबाट बनेको हुँदैन । यसको वास्तविक आधार गाउँटोलमा बसेर पार्टीको विचार बोकेका कार्यकर्ता, कठिन समयमा साथ दिएका समर्थक र कुनै व्यक्तिगत लाभको अपेक्षाबिना योगदान गर्ने नागरिक हुन् । उनीहरूको योगदानको कदर गर्नु पार्टीको नैतिक जिम्मेवारी हो । राजनीतिमा अवसर खोज्नु स्वाभाविक हो तर अवसर प्राप्त गर्ने माध्यम निष्ठा र योगदानभन्दा पहुँच, आर्थिक प्रभाव वा गुटगत निकटता बन्नु हुँदैन । लामो समय संगठनमा काम गरेका कार्यकर्ताले उपेक्षित महसुस गर्ने र अवसरवादी प्रवृत्तिले सहजै स्थान पाउने अवस्था रहेमा पार्टीको आन्तरिक मनोबल कमजोर हुन्छ । जिम्मेवारी वितरण गर्दा योग्यता, क्षमता, योगदान, इमानदारी र जनसम्बन्धलाई महŒव दिनुपर्छ । फरक विचार राख्ने व्यक्तिलाई पनि सम्मानपूर्वक सुन्ने संस्कार हुनुपर्छ । आलोचना गर्ने कार्यकर्तालाई पन्छाउने र प्रशंसा गर्नेहरूलाई मात्र नजिक राख्ने प्रवृत्तिले नेतृत्वलाई वास्तविकताबाट टाढा पुर्‍याउँछ । पार्टीभित्र विचारको विविधता स्वीकार गर्दै साझा उद्देश्यमा एकताबद्ध हुने वातावरण निर्माण गर्नुपर्छ । कांग्रेसको पुनर्जागरण कुनै एउटा नेताको चाहना वा समूहको अभियानबाट मात्र सम्भव हुँदैन । यसका लागि नेतृत्वदेखि सामान्य सदस्यसम्म सबैले आफ्नो भूमिका र जिम्मेवारीको समीक्षा गर्नुपर्छ । अरूलाई बदल्न आग्रह गर्नुअघि आफू बदलिन तयार हुनुपर्छ । यही आत्मसमीक्षा र सामूहिक सुधारको प्रक्रियाले पार्टीलाई नयाँ जीवन दिनसक्छ । पन्ध्रौं महाधिवेशनबाट ऐतिहासिक विरासतको सम्मान, युवाको अर्थपूर्ण सहभागिता, विधि र विधानको निष्पक्ष पालना, गुटगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकता, जनादेशको सम्मान, जनविश्वासको पुनःस्थापना, नीतिगत स्पष्टता र संगठनभित्र योगदानको कदरजस्ता नीतिगत अवधारणालाई अगाडि सारिएको थियो । अब परिणमसमेत आइसकेको सन्दर्भमा यी विषय व्यवहारमा उतार्न सक्नुपर्छ । नेपाली कांग्रेसको पुनर्जागरणका लागि नेतृत्वमा इच्छाशक्ति, कार्यकर्तामा आत्मविश्वास र जनतासँगको सम्बन्धमा विश्वसनीयता आवश्यक छ । विगतका कमजोरी ढाकछोप गरेर भविष्य उज्यालो हुँदैन । विगतबाट सिक्ने, वर्तमान सुधार्ने र भविष्यप्रति स्पष्ट दृष्टिकोण राख्ने राजनीतिक दलमात्र जनताको भरोसाको केन्द्र बन्नसक्छ । महाधिवेशनले नेतृत्व चयन गर्नु अनिवार्य थियो तर चयन भइसकेको नेतृत्वलाई मात्र यसको एकमात्र उपलब्धि मान्नु हुँदैन । यसले पार्टीभित्र आशा जगाउनुपर्छ, निराश कार्यकर्तामा उत्साह भर्नुपर्छ र कांग्रेसलाई देशका समसामयिक चुनौतीको सामना गर्न सक्षम बनाउनुपर्छ । पार्टीको शक्ति पदमा बसेका व्यक्तिको संख्यामा होइन, जनताको मनमा रहेको विश्वासमा निहित हुन्छ । विरासतले पहिचान दिन्छ, विधिले संस्थालाई बलियो बनाउँछ, युवाले ऊर्जा दिन्छन् र जनविश्वासले भविष्य सुनिश्चित गर्छ । पन्ध्रौं महाधिवेशन पार्टीको इतिहासमा अर्को औपचारिक अध्याय सावत हुनसकेको छ र यो वास्तविक पुनर्जागरणको प्रारम्भ बन्नसक्ने सम्भावना छ । परम्परा तोड्नु भनेको इतिहास मेटाउनु होइन, इतिहासका आदर्शलाई समयानुकूल बनाउनु हो । युवालाई अवसर दिनुभनेको अग्रजलाई अलग गर्नु होइन, अनुभव र ऊर्जाबीच सहकार्यको पुल बनाउनु हो । नेतृत्व परिवर्तन गर्नु भनेको अनुहार बदल्नुमात्र होइन, सोच, संस्कार र कार्यशैलीमा परिवर्तन ल्याउनु हो । पन्ध्रौं महाधिवेशनले सम्पन्न भइसकेको अवस्थामा कांग्रेसले आफ्नो विरासतप्रति न्याय गर्नेछ र भावी पुस्ताप्रतिको जिम्मेवारी पूरा गर्नेछ । यही बाटोबाट कांग्रेसले आफ्नो ऐतिहासिक गौरवलाई भविष्यको सम्भावनासँग जोड्न सक्नुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

खसी खोज्न गाउँमै ग्राहक
ताजा खबरJust now

खसी खोज्न गाउँमै ग्राहक

उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

गोरखापत्र
अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
ताजा खबरJust now

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

कान्तिपुर
सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
ताजा खबरJust now

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

कर्पोरट खबर
वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
ताजा खबरJust now

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play