Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘सुरक्षित गर्भपतनबारे अझै छ भ्रम’

‘सुरक्षित गर्भपतनबारे अझै छ भ्रम’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सुरक्षित गर्भपतनबारे अझै छ भ्रम’

गर्भपतन महिलाको प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो। अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतनका जोखिम, यससम्बन्धी सामाजिक भ्रम र कानुनी व्यवस्थाबारे सही जानकारी हुनु आवश्यक छ। गर्भपतनलाई कानुनी मान्यता दिइए पनि सुरक्षित सेवा सबै महिलाको पहुँचमा पुर्‍याउनु चुनौतीपूर्ण छ। गर्भपतनसम्बन्धी भ्रम, कानुनी व्यवस्था, सुरक्षित सेवाको आवश्यकता र महिलाको प्रजनन स्वास्थ्यमा पर्ने असरलगायत विषयमा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँग सृष्टि बरालले गरेको बातचितको सम्पादित अंश : पछिल्लो समय गर्भपतनका घटना बढिरहेको चर्चा हुन्छ। गर्भपतन भनेको के हो? गर्भपतन बुझ्नुअघि सुरक्षित र असुरक्षित गर्भपतनबीचको भिन्नता बुझ्न आवश्यक छ। गर्भ आफैँ खेर जानु र औषधि वा अन्य चिकित्सकीय विधिबाट गर्भ अन्त्य गर्नु फरक अवस्था हुन्। गर्भपतन सही विधि, उपयुक्त समयमा र दक्ष स्वास्थ्यकर्मीबाट गरिएमा सुरक्षित हुन सक्छ। आवश्यक जाँच र सुरक्षाका मापदण्ड पूरा नगरी गरिने गर्भपतन भने जोखिमपूर्ण हुन्छ। नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन लामो समयदेखि पहल गर्नुभएको रहेछ। कारण के थियो? नेपालमा गर्भपतन कानुनी नहुँदाको अवस्था मैले नजिकबाट देखेको छु। २०३९ सालतिर गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर सार्वजनिक रूपमा आवाज उठाएको थिएँ। त्यसबेला ‘द राइजिङ नेपाल’ मा यस विषयमा मेरो अन्तर्वार्तासमेत प्रकाशित भएको थियो। प्रसूति गृहमा काम गर्दा असुरक्षित गर्भपतनका कारण गम्भीर अवस्थामा अस्पताल ल्याइएका महिलाहरू देखेको थिएँ। कतिपयको ज्यानसमेत जोखिममा हुन्थ्यो। उनीहरूको उपचार गरेर ज्यान बचाउनुपर्थ्यो। यही अनुभवले गर्भपतनलाई कानुनी मान्यता दिन र सुरक्षित सेवा उपलब्ध गराउन आवश्यक छ भन्ने महसुस गरायो। बंगलादेशमा तालिम लिने क्रममा पनि गर्भपतनसम्बन्धी सेवा र तालिमका क्षेत्रमा काम गर्ने अवसर पाएँ। त्यसपछि नेपालमा सुरक्षित गर्भपतनको पक्षमा निरन्तर आवाज उठाएँ। स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल। त्यतिबेला कस्ता चुनौती थिए? त्यतिबेला यस विषयमा खुलेर कुरा गर्न पनि सजिलो थिएन। गर्भपतनलाई कानुनी मान्यता दिँदा अविवाहित युवतीहरूले दुरुपयोग गर्छन् भन्ने धारणा राख्नेहरू थिए। केही धार्मिक तथा सामाजिक समूहले पनि विरोध गरेका थिए। मैले विभिन्न बैठक, छलफल र गोलमेच सम्मेलनमा सहभागी भएर मानिसहरूलाई बुझाउने प्रयास गरेँ। महिला अधिकार, सुरक्षित मातृत्व र असुरक्षित गर्भपतनका कारण हुने मृत्यु रोक्नुपर्ने विषयमा निरन्तर छलफल भयो। महिला अधिकारकर्मी, विभिन्न व्यक्तित्व र नीतिनिर्माताको सहयोगमा यो विषय अघि बढ्यो र अन्ततः गर्भपतनले कानुनी मान्यता पायो। मान्यता पाएपछि पनि असुरक्षित गर्भपतन भइरहेका छन्। यसको कारण के हो? कानुन बनाउनु एउटा कुरा हो, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अर्को। सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन दक्ष जनशक्ति, उपयुक्त स्वास्थ्य संस्था, आवश्यक उपकरण, औषधि र जटिलता भएमा आकस्मिक उपचारको व्यवस्था चाहिन्छ। कानुन बनेपछि आवश्यक बजेट, जनशक्ति र व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ। तर हाम्रो स्वास्थ्य प्रणालीमा यी विषयको कार्यान्वयन पर्याप्त प्रभावकारी हुन सकेको छैन। असुरक्षित गर्भपतनलाई सुरक्षित सेवामा रूपान्तरण गर्न तालिमप्राप्त स्वास्थ्यकर्मी, सेवा दिने उपयुक्त स्थान र आवश्यक सामग्री तीनै पक्ष बलियो हुनुपर्छ। अविवाहित महिलाले गर्भपतन सेवा लिन सक्छन्? गर्भपतन सेवा पाउन महिला विवाहित हुनैपर्छ भन्ने सोच सही होइन। विवाह भएको वा नभएको आधारमा मात्र महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकता निर्धारण गर्नु हुँदैन। महिलाको उमेर, स्वास्थ्य अवस्था, गर्भावस्थाको अवधि र कानुनले तोकेका सर्त महत्त्वपूर्ण हुन्छन्। किशोरीको हकमा उमेरअनुसार लागू हुने कानुनी व्यवस्था र आवश्यक संरक्षणको पनि ख्याल गर्नुपर्छ। महिलालाई सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो। स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल। गर्भपतनसम्बन्धी कानुन र सेवाको कार्यान्वयन सुधार्न के गर्नुपर्छ? सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नुपर्छ। दक्ष जनशक्ति तयार पार्ने र स्वास्थ्य संस्थाको क्षमता बढाउने काम पनि सँगसँगै अघि बढाउनुपर्छ। गर्भपतन सेवा दिने स्वास्थ्यकर्मीले आवश्यक तालिम पाएको हुनुपर्छ। सुरक्षित सेवा भनेको गर्भपतन गराउने प्रक्रिया मात्र होइन। महिलाको स्वास्थ्य जाँच्ने, गर्भको अवधि पत्ता लगाउने, जटिलता भए उपचार गर्ने र आवश्यक परे अर्को अस्पतालमा पठाउने व्यवस्था पनि हुनुपर्छ। गर्भावस्थाको कति हप्तासम्म गर्भपतन गर्न सकिन्छ? गर्भपतनका लागि गर्भावस्थाको अवधि र कानुनी सर्त महत्त्वपूर्ण हुन्छन्। सबै अवस्थामा एउटै नियम लागू हुँदैन। सामान्य अवस्थामा कानुनले तोकेको अवधिभित्र सेवा लिन सकिन्छ भने विशेष परिस्थितिमा छुट्टै कानुनी प्रावधान लागू हुन सक्छ। गर्भको अवधि बढ्दै जाँदा प्रक्रिया जटिल हुन सक्छ। त्यसैले समयमै परामर्श लिनुपर्छ र कानुनले तोकेका मापदण्डअनुसार उपयुक्त स्वास्थ्य संस्थाबाट मात्रै सेवा लिनुपर्छ। महिलाको उमेर बढ्दै जाँदा प्रजनन क्षमता पनि क्रमशः घट्न सक्छ। विशेषगरी ३५ वर्षपछि गर्भधारण गर्न कठिनाइ हुने र गर्भावस्थामा केही जटिलताको जोखिम बढ्ने सम्भावना हुन्छ। पछिल्लो पुस्तामा करियर बनाएपछि मात्र विवाह र सन्तान जन्माउने प्रवृत्ति बढेको छ। ढिलो उमेरमा गर्भधारण गर्दा के जोखिम हुन्छ? कम उमेरमा गर्भधारण गर्दा पनि समस्या आउन सक्छ। शरीर, मानसिक अवस्था र आर्थिक पक्ष पूर्ण रूपमा तयार नभएको अवस्थामा गर्भधारण गर्दा महिला र शिशु दुवैको स्वास्थ्यमा असर पर्न सक्छ। महिलाको उमेर बढ्दै जाँदा प्रजनन क्षमता पनि क्रमशः घट्न सक्छ। विशेषगरी ३५ वर्षपछि गर्भधारण गर्न कठिनाइ हुने र गर्भावस्थामा केही जटिलताको जोखिम बढ्ने सम्भावना हुन्छ। अण्डाको संख्या र गुणस्तरमा पनि परिवर्तन आउन सक्छ। तर ३५ वा ४० वर्षपछि सन्तान जन्माउनै सकिँदैन भन्ने होइन। प्रत्येक महिलाको स्वास्थ्य अवस्था फरक हुन्छ। त्यसैले गर्भधारणको योजना बनाउँदा स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ। विवाह र सन्तान जन्माउने उमेरबारे यहाँको सुझाव के छ? विवाह र सन्तान जन्माउने निर्णय गर्दा शारीरिक परिपक्वता, मानसिक तयारी, शिक्षा र आर्थिक अवस्थालाई ध्यान दिनुपर्छ। किशोरावस्थामा गर्भधारण गर्दा शरीर पूर्ण रूपमा विकसित नभएको हुन सक्छ, जसले स्वास्थ्य जोखिम बढाउन सक्छ। धेरै ढिलो उमेरमा सन्तान जन्माउने योजना बनाउँदा पनि प्रजननसम्बन्धी चुनौती आउन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य र परिस्थितिअनुसार निर्णय लिनुपर्छ। विवाह वा सन्तान जन्माउने विषयमा सामाजिक दबाबभन्दा व्यक्तिगत इच्छा, स्वास्थ्य र जिम्मेवारीलाई महत्त्व दिनुपर्छ। स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल। किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीको कमीले अनिच्छित गर्भधारण बढाउँछ? यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही शिक्षा अत्यन्त आवश्यक छ। किशोरकिशोरीले आफ्नो शरीरमा हुने परिवर्तन, यौन स्वास्थ्य, सहमति, व्यक्तिगत सुरक्षा र गर्भनिरोधक उपायबारे जानकारी पाउनुपर्छ। विद्यालय तहदेखि नै उमेरअनुसार उपयुक्त शिक्षा दिनुपर्छ। अहिले मोबाइल र इन्टरनेटबाट विभिन्न सामग्री सजिलै उपलब्ध हुन्छन्, तर तीमध्ये कतिपय गलत वा भ्रामक हुन सक्छन्। सही जानकारी नपाउँदा किशोरकिशोरीले गलत स्रोतबाट सिक्न सक्छन्। त्यसैले उनीहरूलाई दोष दिनुभन्दा परिवार, विद्यालय र समाजले सही शिक्षा दिने जिम्मेवारी पूरा गर्नुपर्छ। गर्भपतन गराउँदा भविष्यमा बाँझोपन हुन्छ भन्ने धारणा सही हो? सुरक्षित गर्भपतन सही विधिबाट गरिएमा सामान्यतया भविष्यमा बाँझोपन हुँदैन। गर्भपतनको संख्या मात्रैका आधारमा महिलाले भविष्यमा सन्तान जन्माउन सक्दैनन् भन्न मिल्दैन। तर असुरक्षित गर्भपतनबाट संक्रमण, अत्यधिक रक्तस्राव वा पाठेघरमा चोटपटकजस्ता जटिलता हुन सक्छन्। यस्ता समस्याले भविष्यको प्रजनन स्वास्थ्यमा असर पार्न सक्छन्। त्यसैले सुरक्षित सेवा लिनु महत्त्वपूर्ण हुन्छ। गर्भपतन गर्नुअघि गर्भ पाठेघरभित्रै छ कि छैन भनेर जाँच्नु किन आवश्यक छ? गर्भ कहाँ बसेको छ भन्ने थाहा पाउनु महत्त्वपूर्ण हुन्छ। सामान्यतया गर्भ पाठेघरभित्र बस्छ, तर कहिलेकाहीँ फलोपियन ट्युबमा पनि बस्न सक्छ। यसलाई पाठेघरबाहिरको गर्भ अर्थात् एक्टोपिक प्रेग्नेन्सी भनिन्छ। यस्तो अवस्थामा गर्भपतनका सामान्य औषधि वा प्रक्रिया प्रयोग गरेर समस्या समाधान हुँदैन। ट्युब फुटेमा आन्तरिक रक्तस्राव भएर महिलाको ज्यानसमेत जोखिममा पर्न सक्छ। त्यसैले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण र अल्ट्रासाउन्ड गरेर गर्भको अवस्था पत्ता लगाउनुपर्छ। स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँग बातचित गर्दै सृष्टि बराल। काँचो मेवा, कुभिण्डो वा अन्य खानेकुरा खाँदा गर्भपतन हुन्छ भन्ने मान्यतामा वैज्ञानिक आधार छ? गर्भपतनबारे समाजमा अनेकौँ भ्रम छन्। केही खानेकुरा खाँदा गर्भ खेर जान्छ भन्ने विश्वास पनि सुनिन्छ। तर कुनै खास खानेकुरा खाएर सुरक्षित र भरपर्दो रूपमा गर्भपतन गराउन सकिन्छ भन्ने मान्यता वैज्ञानिक रूपमा स्थापित छैन। मेवालगायत फलफूललाई सामान्य खाद्य पदार्थका रूपमा हेर्नुपर्छ। गर्भपतन गराउने उद्देश्यले घरेलु उपाय, जडीबुटी वा अज्ञात पदार्थ प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ। गर्भावस्थामा खानपानबारे स्वास्थ्यकर्मीसँग परामर्श लिनु उचित हुन्छ। गर्भपतनका औषधि आफूखुसी सेवन गर्दा के जोखिम हुन्छ? गर्भपतनका लागि औषधि प्रयोग गर्न सकिन्छ, तर कुन अवस्थामा र कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। गर्भको अवधि, महिलाको स्वास्थ्य अवस्था र गर्भ पाठेघरभित्र छ कि छैन भन्ने विषय विचार गर्नुपर्छ। गर्भ खेर जानु महिलाले कुनै सामान्य काम गरेको कारणले मात्रै हुन्छ भन्ने होइन। त्यसैले महिलालाई दोष दिनु हुँदैन। आफूखुसी औषधि सेवन गर्दा गर्भपतन अपूर्ण हुन सक्छ, अत्यधिक रक्तस्राव हुन सक्छ वा पाठेघरबाहिरको गर्भको पहिचान छुट्न सक्छ। त्यसैले योग्य स्वास्थ्यकर्मीको सल्लाहअनुसार सेवा लिनुपर्छ। जटिलता भएमा तत्काल उपचार पाउने व्यवस्था पनि हुनुपर्छ। गर्भ खेर जाने मुख्य कारण के-के हुन्? गर्भ खेर जाने विभिन्न कारण हुन सक्छन्। भ्रूणमा हुने आनुवंशिक वा विकाससम्बन्धी समस्या, महिलाको स्वास्थ्य अवस्था, संक्रमण, पाठेघरको बनावट वा पाठेघरको मुखसम्बन्धी समस्या यसका सम्भावित कारण हुन्। गर्भ खेर जानु महिलाले कुनै सामान्य काम गरेको कारणले मात्रै हुन्छ भन्ने होइन। त्यसैले महिलालाई दोष दिनु हुँदैन। बारम्बार गर्भ खेर गएको अवस्थामा कारण पत्ता लगाउन आवश्यक परीक्षण गराउनुपर्छ। गर्भावस्थामा कस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ? रक्तस्राव, पेटमा तीव्र दुखाइ, चक्कर लाग्ने वा बेहोस हुनेजस्ता लक्षणलाई गम्भीर रूपमा लिनुपर्छ। विशेषगरी पेटको एकातिर तीव्र दुखाइ र रक्तस्राव भएमा पाठेघरबाहिरको गर्भको सम्भावना पनि विचार गर्नुपर्छ। यस्ता लक्षण देखिएमा घरमै बसेर प्रतीक्षा गर्नु वा आफूखुसी औषधि सेवन गर्नु हुँदैन। तुरुन्त स्वास्थ्य संस्थामा गएर परीक्षण र आवश्यक उपचार गराउनुपर्छ। गर्भावस्थामा दैनिक कामकाज, हिँडडुल वा यौनसम्बन्ध राख्दा गर्भ खेर जाने जोखिम हुन्छ? गर्भावस्थामा सबै महिलालाई एउटै किसिमको प्रतिबन्ध लगाउन आवश्यक हुँदैन। सामान्य गर्भावस्थामा हल्का दैनिक गतिविधि र हिँडडुल प्रायः गर्न सकिन्छ। तर रक्तस्राव, पेट दुखाइ वा गर्भ खेर जाने जोखिम छ भने व्यक्तिगत अवस्थाअनुसार सावधानी अपनाउनुपर्छ। यौनसम्बन्ध राख्ने वा शारीरिक गतिविधि गर्ने विषयमा पनि स्वास्थ्य अवस्थाअनुसार निर्णय गर्नुपर्छ। कुनै समस्या देखिएमा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ। स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल। नेपालमा मातृ मृत्युदर घटाउन अझै चुनौती छ। यसको मुख्य कारण के हो? मातृ मृत्युदर घटाउन सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, दक्ष प्रसूति सेवा र आकस्मिक उपचारमा पहुँच महत्त्वपूर्ण हुन्छ। दुर्गम क्षेत्रका महिलाले समयमै स्वास्थ्य सेवा पाउन नसक्दा समस्या बढ्न सक्छ। अस्पतालमा बिरामीको चाप धेरै हुनु, पर्याप्त स्वास्थ्यकर्मी नहुनु, आवश्यक उपकरण तथा स्रोतको अभाव र कमजोर व्यवस्थापन पनि चुनौती हुन्। कति बिरामी आउँछन्, कति स्वास्थ्यकर्मी आवश्यक छन् र आकस्मिक अवस्थामा कसरी सेवा दिने भन्ने विषयमा उचित योजना बनाउनुपर्छ। स्वास्थ्य जनशक्तिको अभाव र स्वास्थ्य शिक्षासम्बन्धी नीतिले सेवामा कस्तो असर पारेको छ? स्वास्थ्य सेवा प्रभावकारी बनाउन पर्याप्त र दक्ष जनशक्ति आवश्यक हुन्छ। नर्स, मिडवाइफ, चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र व्यावहारिक अनुभव दिनुपर्छ। तालिमप्राप्त जनशक्तिको अभाव हुँदा सेवाको गुणस्तरमा असर पर्न सक्छ।दुर्गम क्षेत्रका महिलाले पनि समयमै गुणस्तरीय सेवा पाउनुपर्छ। त्यसका लागि स्वास्थ्य शिक्षा, जनशक्ति उत्पादन, स्वास्थ्य संस्थाको व्यवस्थापन र सेवा विस्तारमा दीर्घकालीन योजना आवश्यक छ। भ्रूणको लिङ्ग पहिचान गरेर छोरी भएकै कारण गर्भपतन गराउने प्रवृत्ति कसरी रोक्न सकिन्छ? भ्रूणको लिङ्गका आधारमा गर्भपतन गराउनु गम्भीर सामाजिक समस्या हो। छोरा र छोरीबीच भेदभाव गर्ने सोच परिवर्तन नगरेसम्म यसलाई पूर्ण रूपमा रोक्न कठिन हुन्छ। छोरीलाई बोझ ठान्ने प्रवृत्ति अन्त्य गर्न परिवार र समाजमा जनचेतना आवश्यक छ। गर्भपतनलाई हल्का रूपमा लिनु हुँदैन। अनिच्छित गर्भधारण रोक्न गर्भनिरोधक साधनबारे जानकारी लिनुपर्छ। भ्रूणको लिङ्ग पहिचान गरेर त्यसकै आधारमा गर्भपतन गराउने गैरकानुनी गतिविधिमाथि प्रभावकारी निगरानी र कानुनअनुसार कारबाही हुनुपर्छ। छोरी र छोरालाई समान अवसर र सम्मान दिनु सबैको जिम्मेवारी हो। अनिच्छित गर्भधारण रोक्न गर्भनिरोधक साधनको प्रयोग कत्तिको महत्त्वपूर्ण छ? अनिच्छित गर्भधारण रोक्न परिवार नियोजन र गर्भनिरोधक साधनबारे सही जानकारी दिनु आवश्यक छ। विभिन्न विधि उपलब्ध छन्। व्यक्तिको स्वास्थ्य, आवश्यकता र प्राथमिकताअनुसार उपयुक्त विधि छनोट गर्न सकिन्छ। गर्भनिरोधक साधनको सही प्रयोगबारे जानकारी दिँदा अनिच्छित गर्भधारण घटाउन सकिन्छ। सुरक्षित गर्भपतन सेवा र गर्भनिरोधकसम्बन्धी शिक्षा एकअर्काका पूरक हुन्। दुवैलाई सँगसँगै अघि बढाउनुपर्छ। सुरक्षित गर्भपतन सेवा लिन चाहने महिलाले के कुरामा ध्यान दिनुपर्छ? मान्यताप्राप्त स्वास्थ्य संस्था र दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिनुपर्छ। गर्भको अवधि र अवस्था पत्ता लगाउन आवश्यक परीक्षण गराउनुपर्छ। आफूखुसी औषधि सेवन गर्ने वा अप्रमाणित घरेलु उपाय अपनाउनु हुँदैन। सेवा लिनुअघि र पछि आवश्यक परामर्श लिनु, जटिलताका लक्षणबारे जानकारी राख्नु र समस्या भएमा तत्काल उपचार पाउने व्यवस्था गर्नु महत्त्वपूर्ण हुन्छ। अन्त्यमा, सुरक्षित गर्भपतन र महिला स्वास्थ्यबारे के सन्देश दिन चाहनुहुन्छ? मैले जीवनको लामो समय सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र निःसन्तान दम्पतीका समस्याबारे जनचेतना जगाउन खर्चिएको छु। पहिले निःसन्तान हुनु भगवान्को सराप हो भन्ने धारणा थियो। अहिले धेरै मानिस उपचारको सम्भावना बुझेर स्वास्थ्य संस्थामा आउन थालेका छन्। यो सकारात्मक परिवर्तन हो। गर्भपतनलाई हल्का रूपमा लिनु हुँदैन। अनिच्छित गर्भधारण रोक्न गर्भनिरोधक साधनबारे जानकारी लिनुपर्छ। गर्भपतन आवश्यक परेमा सुरक्षित र कानुनी सेवा लिनुपर्छ। असुरक्षित ठाउँमा गएर आफ्नो ज्यान जोखिममा पार्नु हुँदैन। सरकारले पनि स्वास्थ्य संस्थाको क्षमता बढाउन, दक्ष जनशक्ति तयार गर्न र सुरक्षित सेवा सबै महिलाको पहुँचमा पुर्‍याउन ध्यान दिनुपर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
ताजा खबरJust now

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६... ...

रातोपाटी
‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’
ताजा खबरJust now

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र... ...

रातोपाटी
जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग
ताजा खबरJust now

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान... ...

रातोपाटी
सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
ताजा खबरJust now

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति

चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play