Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आकाशबाट चंगा हराए, चौरमा पिङ

आकाशबाट चंगा हराए, चौरमा पिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
आकाशबाट चंगा हराए, चौरमा पिङ

चंगासँग जोडिएको कृषि जीवन, मौसम र धार्मिक विश्वास उसो त चंगा त्यसै हराएका होइनन् । पहिले चंगा उडाउन फराकिला चौर र खुला फाँट थिए । अहिले अग्ला भवन र घरले खुला ठाउँ साँघुरिएका छन् । शहर तारैतारे गुजुल्टिकएको छ । चंगाले आकाश छुन नपाउँदै तारले खान्छ । भवनमा अल्झिएर दुर्घटना हुन्छ । छिमेकीले कराउन थाल्छ । चंगा उडाउन सुरक्षित र खुला ठाउँ गुगल म्यापमा खोज्नुपर्ने अवस्था छ । अनि चंगा उडाउनेहरू पनि गाउँ/शहरमा छैनन् । कोही विशेदमा गल्लीमा पुगे, केहीलाई मोबाइलको लत लागेको छ । युवा पुस्ता फ्री फायर र पब्जीमा फसेको छ । जतिखेरै मोबाइल बोकेर कुना पसेको छ । बा-आमालाई बाल्यकालमा चंगा उडाएको सम्झना छ । चेट भएको चंगा भेट्टाउँदाको खुसी झल्झली आउँछ । तर, छोराछोरी डिजिटल दुनियाँको दास भएका छन् । त्यसैले पहिलेको जस्तो उत्साह छैन । दशैँ उही हो, टीका र जमरा लगाउने चलन पनि उस्तै नै छ । तर, पर्वलाई जीवन्त बनाउने चंगा, पिङ, घर लिपपोत र सामूहिक भेटघाटका पुराना अभ्यास हराउँदै छन् । आज चंगा कम देखिनु र पिङ हराउँदै जानु समय परिवर्तनको संकेत होला । तर, यसलाई अपरिहार्य मानेर छाड्ने हो भने भोलिका पुस्ताले यी परम्पराबारे पुस्तक र तस्बिरबाट मात्र थाहा पाउनुपर्ने अवस्था आउनसक्छ । नेपाली बजारमा पाइने चंगा मुख्यतः भारतबाट आयात हुने गरेको छ । लट्टाई भने नेपालमै पनि बनाइन्छ । तर, स्वदेशी उत्पादनले बजारको माग पूरा गर्न नसकेको अवस्था छ । चंगाको व्यापार पूर्णरूपमा हराएको भने छैन । दशैँमा पसल, कार्यालय र सोरुम सजाउन साना रंगीविरंगी चंगा प्रयोग गर्ने चलन बढेको छ । चंगाको माग अहिले सजावटका लागि पनि हुन थालेको छ । अलिअलि चंगा उडाउनेहरू पनि नभएका होइनन् । चंगाको इतिहास लामो छ । यसको आविष्कार चीनमा भएको मानिन्छ । नेपालमा चंगा उडाउने चलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण छैन । मल्लकालमा भारतबाट चंगा उडाउने कला भित्रिएको भन्ने मत पनि पाइन्छ । नेपालमा दशैँका बेला चंगा उडाउनुसँग जोडिएको एउटा प्रचलित किंवदन्ती छ । वर्षाका देवता इन्द्रलाई खेतीबालीका लागि पर्याप्त पानी पुगिसकेको सन्देश दिन चंगा उडाउने गरिएको जनविश्वास छ । वर्षा सकिएर धान पाक्ने समय नजिकिँदा आकाशमा चंगा उडाउन थालिन्थ्यो भन्ने मान्यता छ । काठमाडौं उपत्यकामा नागपञ्चमीदेखि हरिबोधिनी एकादशीसम्म चंगा उडाउने परम्परा रहेको पनि बताइन्छ । चंगाको सम्बन्ध मनोरञ्जनसँग मात्र नभई कृषि जीवन, मौसम र धार्मिक विश्वाससँग पनि जोडिएको छ । वर्षायामको व्यस्तता सकिएपछि सफा आकाशमा चंगा उडाउनु ऋतु परिवर्तनसँगै आउने उत्सवको अनुभव थियो । चंगा उडाउन सीप, धैर्य र हावाको गति बुझ्ने क्षमता चाहिन्छ । यही सांस्कृतिक पक्षलाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ । सामूहिक श्रम र भेटघाटका अवसर पनि कमचंगाजस्तै दशैँको अर्को आकर्षण पिङ हो । कुनै समय दशैँ र तिहारका बेला गाउँमा पिङ हाल्ने तयारी हप्तौँअघि सुरु हुन्थ्यो । गाउँका युवा बाबियो खोज्न निस्कन्थे । डोरी बाट्न र पिङ तयार पार्न धेरै मानिस जुट्थे । काठबाट बनेका चर्खे पिङ र बाबियो वा बलियो डोरीबाट बनाइने लिंगे पिङ गाउँका चौरमा देखिन्थे । बारीका कान्लामा पिङ बनाउन प्रयोग गरिने बाबियो संरक्षण गरेर राखिन्थ्यो । दशैँ नजिकिँदा वल्लो–पल्लो गाउँका मानिस बाबियो खोज्न आउँथे । बाबियो काटेर लैजाने चहलपहलले पर्वको आगमनको अनुभूति गराउँथ्यो । अहिले त्यो दृश्य पातलिएको छ । प्रचलित काठका चर्खे पिङ क्रमशः हराउँदै गएका छन् । लिंगे पिङ केही ठाउँमा देखिए पनि पहिलेको जस्तो बाक्लो रूपमा राख्ने चलन छैन । पहिले गाउँलेहरू भेला भएर पिङ मच्चाउँथे । टाढाका गाउँबाट समेत मानिस खेल्न आउँथे । पिङ खेल्ने क्रममा आफन्त र साथीभाइ भेटिन्थे । शुभकामना साटासाट हुन्थ्यो । दशैँको रौनक घरभित्र मात्र होइन, सार्वजनिक ठाउँमा पनि फैलिन्थ्यो ।तर, अहिले पिङ बनाउने काम खर्चिलो हुँदै गएको छ । चर्खे पिङ बनाउन काठ र धेरै जनशक्ति चाहिन्छ । काठ जुटाउन कठिन भएको र वनमा काठ काट्नसम्बन्धी प्रतिबन्धले पनि समस्या उत्पन्न भएको छ । पिङ खेल्ने रहर घटेपछि त्यसलाई बनाउन आवश्यक श्रम जुटाउने उत्साहसमेत कम भएको छ । अहिले मानिस आफ्नै दैनिकीमा व्यस्त हुन थालेका छन् । बस्ती विस्तारसँगै पार्क बढेका छन् । बालबालिकालाई कृत्रिम पिङ खेलाउन पार्कमा लैजाने चलन पनि बढेको छ । यसले मनोरञ्जनको विकल्प दिएको छ । तर, गाउँलेहरू मिलेर पिङ बनाउने पुरानो अभ्यासलाई निरन्तरता दिन सकिएको छैन । बाबियो खोज्नेदेखि डोरी बाट्ने र खम्बा गाड्नेसम्मको कामले गाउँलेलाई एउटै उद्देश्यमा जोड्थ्यो । अहिले त्यो अभ्यास घट्दा सामूहिक श्रम र भेटघाटका अवसर पनि कम भएका छन् । पर्वलाई जीवन्त बनाउने सामाजिक अभ्यास कमजोरगाउँमा पहिले दशैँ र तिहारका बेला पिङ हाल्नु सामूहिक काम मानिन्थ्यो । युवा क्लबले अगुवाइ गर्थे । गाउँलेहरू सार्वजनिक चौरमा भेला हुन्थे । पिङ बनाउनेसँगै बाटो सफा गर्ने, नाचगान गर्ने र रोधी बस्ने चलन पनि थियो । अहिले गाउँमा युवा कम छन् । विदेश गएका मानिस छोटो समयका लागि मात्रै घर आउँछन् । गाउँमा भएका मानिस पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल र इन्टरनेटले मनोरञ्जनका नयाँ विकल्प दिएका छन्, तर सार्वजनिक गतिविधिमा सहभागी हुने बानी कमजोर हुँदै गएको छ । दशैँ आउन लागेको संकेत पहिले पात्रोले होइन, वरपरको वातावरणले दिन्थ्यो । घमाइलो दिन, चौरमा पिङ र खुला आकाशमा रंगीचंगी चंगा उड्न थालेपछि लाग्थ्यो दशैँ आएछ । युवा तथा बालबालिका चंगाको धागो र लट्टाई बोकेर दौडिन्थे र गाउँ/शहरमा दशैँ आउँथ्यो । अहिले वातावरणले दशैँ आएको आभास दिन छाडेको छ । न आकाशमा रंगीविरंगी चंगा देखिन्छन् न गाउँघरमा पिङको रौनक । दशैँ थाहा पाउन पात्रै हेर्नुपर्छ । मोबाइलमा मिति नै खोज्नुपर्छ । दशैँ उही हो । तर, मौलिकता हराउँदै गएको छ । दशैँको सांस्कृतिक रङ पनि फिक्का हुँदै गएको छ । प्रविधि नै संस्कृतिको शत्रु होइन । समस्या नयाँ सुविधा प्रयोग गर्दै गर्दा सामूहिक जीवनका पुराना अभ्यासलाई निरन्तरता दिन नसक्नुमा छ । आधुनिक जीवनशैली अपनाउनु स्वाभाविक हो । तर, त्यस क्रममा स्थानीय सीप, सामाजिक सम्बन्ध र सांस्कृतिक अनुभव हराउँदै जानु चिन्ताको विषय हो । दशैँमा कम्तीमा एकपटक जमिन छाड्नुपर्छ भन्ने मान्यतासँग पनि पिङ खेल्ने परम्परा जोडिएको छ । अहिले कतिपय घरमा साना बालबालिकाका लागि प्लास्टिकको डोरी बाँधेर पिङ राख्ने चलन बढेको छ । यसले खेल्ने अभ्यासलाई केही निरन्तरता दिए पनि गाउँलेहरू मिलेर बनाउने परम्परागत पिङको सामाजिक स्वरूपलाई प्रतिस्थापन गर्न सकेको छैन । दशैँका मौलिकता चंगा र पिङमा मात्रै सीमित छैनन् । पहिले पर्व आउनुभन्दा महिना दिनअघि गाउँका घर लिपपोत गर्ने चलन थियो । सेतो कमेरो, रातो र कालो माटो खोजेर ल्याइन्थ्यो । घरका भित्ता सिँगारिन्थे । छिमेकीबीच घर चिटिक्क पार्ने प्रतिस्पर्धा चल्थ्यो । माटो खोज्न जाने र घर लिपपोत गर्ने काममा परिवार तथा छिमेकीको सहभागिता हुन्थ्यो । अहिले बजारमा पाइने रङरोगन र सजावटका सामग्रीले त्यो ठाउँ लिएका छन् । घर सजाउन कम समय लाग्छ, तर परम्परागत सीप र स्थानीय स्रोतको प्रयोग घटेको छ । दशैँमा गाउँ जाने, टीका लगाउने र आफन्त भेट्ने चलन बाँकी रहे पनि पर्वलाई जीवन्त बनाउने सामाजिक अभ्यास कमजोर हुँदै गएका छन् । संस्कृतिलाई सम्झनामा मात्र सीमित नराखौँचंगा उडाउनु र पिङ खेल्नु पुरानो पुस्ताको सम्झनामा मात्र सीमित हुनुहुँदैन । केही विद्यालयले दशैँको बिदाअघि बालबालिकालाई चंगा बनाउन र उडाउन सिकाउने गरेका छन् । यस्ता प्रयासलाई विद्यालयमा मात्र सीमित नराखी समुदायसम्म विस्तार गर्न सकिन्छ । स्थानीय तह, विद्यालय, बाल क्लब र युवा समूहले मिलेर सुरक्षित खुला ठाउँ पहिचान गर्नुपर्छ । दशैँका बेला चंगा उडाउने कार्यक्रम र परम्परागत पिङ खेल्ने अवसर सिर्जना गर्न सकिन्छ । त्यसका लागि आवश्यक सामग्री र सुरक्षा व्यवस्थामा स्थानीय सरकारले सहयोग गर्नसक्छ । चंगा उडाउँदा बार नलगाइएका अग्ला छतबाट खेल्नु जोखिमपूर्ण हुन्छ । चंगा पछ्याउँदै सडकमा दौडिनु पनि खतरनाक हुनसक्छ । त्यसैले खुला चौर वा सुरक्षित स्थानमा मात्र चंगा उडाउनुपर्छ । पिङ निर्माण गर्दा पनि बलियो संरचना र सुरक्षित दूरीको व्यवस्था आवश्यक हुन्छ ।चंगा र पिङको संरक्षण विगतमा फर्किने प्रयास होइन । नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने अभ्यास हो । पुराना परम्पराका हानिकारक पक्ष हटाउनुपर्छ, समयअनुसार आवश्यक परिमार्जन गर्नुपर्छ । तर, चाडपर्वलाई जीवन्त बनाउने सामूहिकता र मौलिकता गुम्न दिनु हुँदैन । दशैँ आउँदा आकाशमा चंगा उड्नु र चौरमा पिङ मच्चिनु केवल रमाइलो दृश्य थिएन । त्यो गाउँ र सहरको सामूहिक जीवनको हिस्सा थियो । आज चंगा कम देखिनु र पिङ हराउँदै जानु समय परिवर्तनको संकेत हो । तर, यसलाई अपरिहार्य मानेर छाड्ने हो भने भोलिका पुस्ताले यी परम्पराबारे पुस्तक र तस्बिरबाट मात्र थाहा पाउनुपर्ने अवस्था आउन सक्छ । दशैँको रौनक टीका, जमरा र पारिवारिक भेटघाटमा मात्र सीमित नरहोस् । आकाशमा फेरि चंगा उडून्, गाउँका चौरमा पिङ मच्चिऊन् र नयाँ पुस्ताले पनि परम्पराको आनन्द अनुभव गर्न पाओस् । दशैँको शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
ताजा खबरJust now

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

रातोपाटी
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
ताजा खबरJust now

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

रातोपाटी
कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
ताजा खबरJust now

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play