Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘आफूलाई पनि निर्मम भएर नियाल्न सक्नुपर्छ’

‘आफूलाई पनि निर्मम भएर नियाल्न सक्नुपर्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘आफूलाई पनि निर्मम भएर नियाल्न सक्नुपर्छ’

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अङ्ग्रेजी विषय प्राध्यापन गर्दै आएकी अस्मिता विष्ट कविता, निबन्ध र समालोचना लेखनमा सक्रिय छिन्। नेपाली आख्यान र सिनेमामा लैङ्गिक भूमिकाबारे विद्यावारिधि गरेकी उनको पहिलो कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरू २०८२ सालमा प्रकाशित भएको थियो। हालै उनको निबन्धसङ्ग्रह समयशालामा नृत्यमग्न आकृति सार्वजनिक भएको छ। रत्न पुस्तक भण्डारबाट प्रकाशित सङ्ग्रहमा जीवनका भोगाइ, स्मृति, समाज र निजात्मक अनुभूतिसँग जोडिएका १७ निबन्ध छन्। कविता र निबन्ध लेखन, नयाँ कृति तथा साहित्यिक सरोकारबारे विष्टसँग टुमराज कोइरालाले गरेका सात सवालका जवाफ: १. तपाईंको निबन्धसङ्ग्रहको नाम समयशालामा नृत्यमग्न आकृति छ। यो शीर्षक आफैँमा रोचक र अर्थपूर्ण लाग्छ। यसमा ‘समयशाला’ र ‘नृत्यमग्न आकृति’ले के संकेत गर्छन्? पुस्तकका निबन्धहरूलाई जोड्ने मूल विचार के हो? यस निबन्धसङ्ग्रहको शीर्षकमा रहेको ‘समयशाला’ शब्दले समयको निरन्तर प्रवाह र व्यापकतालाई सङ्केत गर्छ भने ‘नृत्यमग्न आकृति’ले समयको प्रवाहसँगै निरन्तर क्रियाशील र परिवर्तनशील रहेका मानिस तथा तिनका गतिविधिलाई जनाउँछ। यस पुस्तकका निबन्धहरूलाई जोड्ने मूल विचारसूत्र समय र अनुभव हुन्। सङ्ग्रहमा लेखकले विभिन्न समयमा समाजलाई नजिकबाट नियाल्दा देखेका-भोगेका विषयलाई दार्शनिक दृष्टिकोणका साथ प्रस्तुत गरेका छन्। समग्रमा भन्नुपर्दा यस सङ्ग्रहका निबन्धहरूमा समय, सामाजिक गतिविधि, मानवीय अनुभव र जीवनदर्शनको संयोजन नै निबन्धसङ्ग्रहको मूल भावका रूपमा देखिन्छ। अस्मिता विष्टको निबन्धकृति। २. यो निबन्धसङ्ग्रह लेख्ने प्रेरणा कहाँबाट आयो? यसमा समेटिएका निबन्धहरू तपाईंका निजी अनुभूति, सामाजिक अवलोकन र प्राज्ञिक चिन्तनमध्ये कुनसँग बढी नजिक छन्? तपाईं आफैँलाई सबैभन्दा बढी उद्वेलित बनाएको निबन्ध कुन हो र किन? आफ्ना विचार निर्बाध रूपमा प्रस्तुत गर्न सकिने सशक्त माध्यम निबन्ध भएकाले समाजमा विद्यमान समस्याहरूबाट जब मन उद्वेलित हुन्थ्यो वा कुनै घटना वा विषय रोचक लाग्थ्यो, म तिनलाई शब्दमा उतार्ने गर्थें। जब पत्रपत्रिकामा प्रकाशित भएका मेरा आलेखहरू पाठकहरूले रुचाउन थाल्नुभयो, मैले आफूसँग भएका अप्रकाशित पाण्डुलिपिहरूलाई पुस्तकका रूपमा प्रकाशित गर्ने निर्णय लिएँ, जुन यहाँहरूसामु ‘समयशालामा नृत्यमग्न आकृति’का रूपमा आएको छ। मलाई सबैभन्दा उद्वेलित बनाएको निबन्ध ‘जिन्दगीको रूखबाट खसेको पहेँलो पात’ हो। यस निबन्धमा मसँग अनायासै जोडिन आएको एउटा कुकुरको कथा छ। यस पृथ्वीमा रहेका हरेक प्राणीलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ, तर हामीले तिनलाई कसरी त्यस अधिकारबाट वञ्चित गरिरहेका छौँ र तिनका अधिकारको हनन गरिरहेका छौँ भन्ने कुराले मलाई सधैँ विचलित बनाउँथ्यो। यही संवेदना र प्रश्नलाई मैले यस निबन्धमा अभिव्यक्त गरेकी छु। म यही समाजको हिस्सा हुँ। यस अर्थमा मेरा निजी अनुभूतिहरू समाजको बृहत्तर यथार्थबाट अलग हुन सक्दैनन्। यस निबन्धमा मेरो दैनिकीका कुरा छन्, मेरा डर अनि करुणाका कुरा छन्, मेरा बाल्यकालका अनुभूतिहरू छन् र मैले अत्यन्त प्रेम गरेको पात्रको कथा छ। त्यो पात्र मेरो जीवनमा अप्रत्याशित रूपमा जोडिन आएको थियो, तर मैले उसलाई अनायासै गुमाएँ। बिर्सन भने कहिल्यै सकिनँ। यो निबन्ध मेरा निम्ति प्रेम, वियोग, करुणा र हरेक प्राणीको अस्तित्व तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारप्रतिको मेरो संवेदनाको अभिव्यक्ति र अपिल पनि हो। ३. व्यक्तिगत अनुभवलाई साहित्यमा प्रस्तुत गर्दा लेखकको निजी संसार सार्वजनिक बहसको विषय पनि बन्न सक्छ। निबन्ध लेख्दा तपाईंले आफ्नो निजी अनुभवलाई समाजको बृहत्तर यथार्थसँग कसरी जोड्नुभएको छ? आफैँप्रति निर्मम हुन लेखकलाई कति कठिन हुन्छ? म यही समाजको हिस्सा हुँ। यस अर्थमा मेरा निजी अनुभूतिहरू समाजको बृहत्तर यथार्थबाट अलग हुन सक्दैनन्। मैले व्यक्तिगत जीवनमा भोगेका घटना, अनुभव र अनुभूतिहरू पनि कुनै न कुनै रूपमा सामाजिक परिवेश, सम्बन्ध, मूल्य, मान्यता र विसङ्गतिसँग जोडिएका हुन्छन्। त्यसैले म आफ्ना निजी अनुभव र भोगाइलाई साहित्यमा प्रस्तुत गर्दा तिनलाई केवल व्यक्तिगत भोगाइमा सीमित नराखेर तिनमा अन्तर्निहित सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गर्छु। नेपाली आख्यान र चलचित्रमा लैङ्गिक भूमिकाबारे विद्यावारिधि गरेपछि संस्कृति र मानवीय सम्बन्धलाई हेर्ने मेरो दृष्टिकोणमा अवश्य पनि बृहत् परिवर्तन आएको छ। आफैँप्रति निर्मम हुनु लेखकका लागि केही हदसम्म कठिन नै हुन्छ। किनकि आफ्ना गल्ती र कमजोरी पहिचान गर्न जति कठिन हुन्छ, तिनलाई निःसङ्कोच स्वीकार गर्न झन् कठिन हुन्छ। आफूभित्रका सुन्दर पक्ष र शौर्य मात्र समाजले देखोस् भन्ने मोहले मानिसलाई हरबखत गाँजिरहेको हुन्छ। आफ्ना कमजोरी, अन्तर्विरोध र असुन्दर पक्षलाई अरूसामु उजागर गर्न सहज हुँदैन। तर साहित्यमा इमानदार हुन लेखकले अरूको जीवन र समाजलाई मात्र होइन, आफूलाई पनि निर्मम भएर नियाल्न सक्नुपर्छ। यो साहस देखाउन सके मात्र लेखन विश्वसनीय र अर्थपूर्ण बन्छ। ४. तपाईंले नेपाली आख्यान र चलचित्रमा लैङ्गिक भूमिकाबारे विद्यावारिधि गर्नुभएको छ। त्यसले समाज, संस्कृति र मानवीय सम्बन्धलाई हेर्ने तपाईंको दृष्टि कति बदलेको छ? नयाँ निबन्धसङ्ग्रहमा एउटा अनुसन्धानकर्ताको आलोचनात्मक चेतना र साहित्यकारको संवेदनशीलता कसरी भेटिन्छन्? नेपाली आख्यान र चलचित्रमा लैङ्गिक भूमिकाबारे विद्यावारिधि गरेपछि संस्कृति र मानवीय सम्बन्धलाई हेर्ने मेरो दृष्टिकोणमा अवश्य पनि बृहत् परिवर्तन आएको छ। मानिसको व्यवहार, मनोविज्ञान र विचारसमेत सामाजिक मूल्य, मान्यता र संरचनाद्वारा कसरी निर्मित तथा निर्ममतापूर्वक नियन्त्रण गरिन्छ भन्ने कुरा बुझ्ने अवसर पाएँ। यस क्रममा कुनै व्यक्तिको व्यक्तित्व र क्षमतालाई जन्मजात गुण वा दोषका रूपमा मात्र हेर्नु र त्यही आधारमा उसलाई अधिकार र सम्मान प्रदान गर्नु वा त्यसबाट वञ्चित गर्नु दुवै गलत हो भन्ने बोध भयो। त्यस्तै, महिला र तेस्रो लिङ्गी समुदाय मात्र होइन, पितृसत्तात्मक सोचका कारण पुरुषहरू स्वयं पनि कसरी विभिन्न बन्धन र अपेक्षाको सिकार भइरहेका छन् भन्ने कुरा बुझ्न सक्ने क्षमता विकसित भयो। कविता र निबन्ध अभिव्यक्तिका भिन्न माध्यम हुन्। तथापि यिनलाई अक्सर एकअर्काको पूरकका रूपमा पनि प्रयोग गर्न सकिन्छ। जहाँसम्म नयाँ निबन्धसङ्ग्रहमा अनुसन्धानकर्ताको आलोचनात्मक चेतना र साहित्यकारको संवेदनशीलता कसरी भेटिन्छन् भन्ने प्रश्न छ, त्यसको अन्तिम मूल्याङ्कन सचेत पाठक, समालोचक र समीक्षकले गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। लेखकले आफ्नो लेखनबारे आफ्ना धारणा राख्न सक्छ, तर त्यसको अर्थ र प्रभावबारे अन्तिम निर्णय आफैँले गर्नु उचित नहुन सक्छ। मेरो प्रयास भने समाज, संस्कृति र मानवीय सम्बन्धलाई आलोचनात्मक दृष्टिले नियाल्दै तिनभित्रका अन्तर्विरोध, समानता र संवेदनालाई इमानदारीपूर्वक अभिव्यक्त गर्नु हो। मेरो लेखनमा यी पक्ष कुन हदसम्म र कसरी प्रस्तुत भएका छन् भन्ने कुराको अवलोकन र निर्णय म पाठक र समालोचककै विवेकमा छाड्नु उचित ठान्दछु। ५. तपाईंको कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरूपछि अहिले निबन्धसङ्ग्रह आएको छ। कवितामा व्यक्त गर्न नसकिएका कुरा निबन्धले व्यक्त गर्न सघायो कि निबन्ध लेखनको आवश्यकता नै फरक थियो? तपाईंका लागि कुन विधामा लेख्दा आफ्ना विचार र अनुभवसँग बढी न्याय गर्न सकिन्छ? कविता र निबन्ध अभिव्यक्तिका भिन्न माध्यम हुन्। तथापि यिनलाई अक्सर एकअर्काको पूरकका रूपमा पनि प्रयोग गर्न सकिन्छ। कवितामा विचार र अनुभूति प्रस्तुत गर्नका निम्ति स्थान सीमित हुने भएकाले थोरै शब्दहरूमा अभिव्यक्त गरिन्छ। त्यसैले कवितामा कविताका तत्त्वहरू – बिम्ब, सङ्केत र प्रतीकको – सघन प्रयोग गरिन्छ। निबन्धमा विचार र अनुभूति निर्बाध रूपमा प्रस्तुत गर्न सकिन्छ। त्यसैले निबन्ध आफ्ना विचार, अनुभव अनि भावनालाई विस्तृत रूपमा तार्किक र विश्लेषणात्मक ढङ्गले अभिव्यक्त गर्ने अब्बल माध्यम हो। मेरो निबन्धसङ्ग्रह कवितामा व्यक्त गर्न नसकिएका कुरा व्यक्त गर्नका निम्ति आएको होइन। कविता र निबन्धका बेग्लाबेग्लै विशेषता हुन्छन्। पाठकसमेत बेग्लाबेग्लै हुन सक्छन्। लेखकको समाज, समय र जीवनप्रतिको दृष्टिकोणलाई सरल, स्पष्ट र फराकिलो ढङ्गबाट प्रस्तुत गरियोस् भन्ने चाहने पाठकहरूको रोजाइमा कविताभन्दा पनि निबन्ध विधा पर्न सक्छ। निबन्धमा लेखकलाई पनि समाजका विसङ्गतिहरूमाथि प्रश्न गर्न सहज हुने भएकाले मैले यो विधा रोजेकी हुँ। अस्मिता विष्टको कविताकृति। मेरो विचारमा आफ्ना विचार र अनुभवसँग बढी न्याय गर्न कुनै खास विधामा मात्र सकिन्छ भन्ने होइन। अभिव्यक्तिका निम्ति कुन विधा चयन गर्ने भन्ने कुरा लेखकले व्यक्त गर्न खोजेको विषय, त्यसको प्रकृति र अभिव्यक्तिको आवश्यकताले निर्धारण गर्छ। कवितामा अनुभूतिलाई सघन रूपमा व्यक्त गर्न सकिने हुनाले सो उद्देश्य परिपूर्तिका लागि कविता विधा चयन गर्न सकिन्छ। यदि विचार र अनुभूतिका पत्र बिस्तारै खोल्दै, तिनलाई विश्लेषणसमेत गर्दै अभिव्यक्त हुने चाहना छ भने निबन्ध उपयुक्त लाग्न सक्छ। जस्तो कि, बाको सन्तानप्रतिको प्रेमलाई सघन रूपमा प्रस्तुत गर्न मैले मेरो कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’मा कवितालाई माध्यम बनाएकी छु। बाप्रतिको आममानिसको बुझाइ, धारणा र आफ्ना व्यक्तिगत अनुभूतिलाई समग्रमा विश्लेषणसहित प्रस्तुत गर्न मेरो निबन्धसङ्ग्रह समयशालामा नृत्यमग्न आकृतिमा ‘बाहरूको संसार: संसारकै सुन्दरतम् महाकाव्य’ निबन्ध रोजेँ। त्यसैले यी दुवै विधालाई बेग्लाबेग्लै र प्रभावकारी ढङ्गले अभिव्यक्तिको माध्यम बनाउन सकिन्छ भन्ने लाग्छ। ६. तपाईंको कवितासङ्ग्रहबारे समीक्षा हुँदा प्रेम, महिला अनुभव र सामाजिक प्रतिरोधका पक्षको चर्चा भयो। तर कविताको मूल्याङ्कन विषयवस्तु र वैचारिक पक्षका आधारमा मात्र पर्याप्त हुन्छ? आफ्नै कविता र समकालीन नेपाली कविताका सन्दर्भमा विचार र कलात्मक शिल्पबिच कस्तो सम्बन्ध देख्नुहुन्छ? सर्वप्रथम त म यहाँलाई स्पष्ट पार्न चाहन्छु– मेरो कवितासङ्ग्रहबारे समीक्षा हुँदा प्रेम, महिला अनुभव र सामाजिक प्रतिरोधका पक्षको मात्र चर्चा भएको थिएन, कवितामा प्रयोग भएका कलात्मक पक्षको पनि उत्तिकै चर्चा भएको थियो। कवितामा विचार र अनुभूतिको सघनता हुने भएकाले तिनलाई बिम्ब, प्रतीक, सङ्केत, लय र भाषाको कलात्मक संयोजनमार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गर्न आवश्यक हुन्छ। विचारले कवितालाई वैचारिक गहिराइ प्रदान गर्छ भने कलात्मक शिल्पले त्यस विचारलाई सौन्दर्य, अर्थको बहुलता र संवेदनात्मक प्रभाव दिन्छ। विचार र शिल्पमध्ये कुनै एक पक्ष कमजोर हुँदा कविताको प्रभावकारिता पनि सीमित हुन सक्छ। मेरो विचारमा कविता वैचारिक अभिव्यक्तिको माध्यम मात्र होइन, कलात्मक सिर्जना पनि हो। विचार र शिल्प एकअर्काका पूरक हुन् र यी दुवैको सन्तुलित संयोजनबाट नै कविता प्रभावकारी र अर्थपूर्ण बन्न सक्छ। मेरा आफ्नै कविता र समकालीन नेपाली कविताका सन्दर्भमा पनि विचार र कलात्मक शिल्पबिच अटुट सम्बन्ध रहेको देख्छु। सामाजिक यथार्थ, महिला अनुभव, प्रेम वा प्रतिरोधजस्ता विषयलाई कवितामा प्रस्तुत गर्दा विषयवस्तु मात्र महत्त्वपूर्ण हुँदैन; त्यसलाई कस्तो भाषामा, कस्ता बिम्ब र प्रतीकमार्फत अनि कस्तो संरचनामा प्रस्तुत गरिएको छ भन्ने कुराले पनि कविताको प्रभाव निर्धारण गर्छ। मेरो कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरूमा रहेका कविताहरूमा विचार र अनुभूतिलाई कलात्मक शिल्पसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेकी छु। त्यसैले मेरो विचारमा कविता वैचारिक अभिव्यक्तिको माध्यम मात्र होइन, कलात्मक सिर्जना पनि हो। विचार र शिल्प एकअर्काका पूरक हुन् र यी दुवैको सन्तुलित संयोजनबाट नै कविता प्रभावकारी र अर्थपूर्ण बन्न सक्छ। उदाहरणका निम्ति मेरो कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरूमा रहेको कविता ‘सम्झनाको धागोमा उनेर’को एक अंशलाई लिन सक्नुहुन्छ: तिम्रो अनुपस्थितिमा म अनन्त रात भएकी छु भासिएको छ पातालमा तिमीले गुञ्जाइरहने सङ्गीत ठोक्किएर फर्किँदैनन् पहाडबाट कुनै गीत सुनसान छ सहर आपसमा बात मार्दैनन् भित्ताहरू अचेल टुलुटुलु हेरिबस्छन् घरका झ्याल पनि प्रत्येक बिहान आँसु खसाल्छ बलेसी अनिकालमा रित्तिएको छ घरको हरेक कुना। ७. नेपाली साहित्यमा पुस्तक प्रकाशित भएपछि प्रशंसा गर्ने चलन चर्कै छ, कठोर र स्वतन्त्र समालोचनाको अभ्यास कत्तिको बलियो छ? विशेषगरी समकालीन नेपाली कविता र निबन्धमा तपाईंले देखेका मुख्य कमजोरी के हुन्? अनि आफ्नै सिर्जनामाथि आउने आलोचनालाई तपाईं कसरी लिनुहुन्छ? नेपाली साहित्यमा पुस्तक प्रकाशित भएपछि कठोर र स्वतन्त्र समालोचनाको अभ्यास केही फितलो भएको महसुस मैले पनि गरेकी छु। समकालीन नेपाली कविता र निबन्धमा यी विधालाई उकास्न सक्ने क्षमता भएका केही सकारात्मक र बलिया सिर्जनाहरू छन्। यसका बाबजुद केही कमजोरी नभएका पनि होइनन्। लोकप्रियताको लोभमा विषयको गम्भीरता नबुझी र अनुभूतिको गहिराइमा नपसी कविता लेख्ने चलन बढ्दो छ। भाषिक सजगता, शिल्प र कवितात्मक संवेदनालाई पर्याप्त ध्यान पुर्‍याउन चुकेका कविताहरू पनि छन्। त्यस्तै, कला र विचारको सन्तुलनलाई अलि बेवास्ता गर्दै वक्तव्य र नाराजस्ता देखिने कविताहरू पनि छन्। निबन्धमा पनि विषयको गहिरो अध्ययन, विश्लेषण, विचारमा स्पष्टता र गम्भीरता आदिलाई कम ध्यान दिएर लेखिएका निबन्धहरू छन्। निबन्धमा आफूले उठान गरेको विषयलाई तथ्य, तर्क आदिको प्रयोग गरी विश्वसनीय बनाउन अनि अनुभव र सूक्ष्म विश्लेषणका आधारमा आकर्षक र स्पष्ट ढङ्गले प्रस्तुत गर्न नसकिएको देखिन्छ। सुन्दर निबन्ध हुनका निम्ति सुन्दर भाषा र आकर्षक प्रस्तुतिले मात्र पुग्दैन, विचारको स्पष्टता आवश्यक छ। सुन्दर निबन्ध हुनका निम्ति सुन्दर भाषा र आकर्षक प्रस्तुतिले मात्र पुग्दैन, विचारको स्पष्टता आवश्यक छ। साथै यी दुवै विधाका रचनाहरूमा विचारहरूबिच तार्किक सम्बन्ध र समग्र अर्थको एकरूपता हुनुपर्छ। वाक्य र अनुच्छेदहरू पनि स्वाभाविक रूपमा जोडिएका हुनुपर्छ। कतिपय रचनामा विचारको तार्किक सुसम्बद्धता कमजोर भएको र अभिव्यक्तिमा पनि विच्छिन्नता भएको महसुस हुन्छ। आफ्नै सिर्जनामाथि आउने आलोचनालाई म अत्यन्त सहज र सकारात्मक ढङ्गले लिन्छु। कुनै रचनालाई बलियो, सुन्दर र प्रभावकारी बनाउनका निम्ति के-कस्ता तत्त्व आवश्यक पर्छन् र ती तत्त्वहरूको सही र सन्तुलित संयोजन अनि सम्मिश्रण कसरी गर्ने र रचनालाई परिष्कृत बनाउन के गर्नुपर्छ भन्ने सैद्धान्तिक ज्ञान हुँदाहुँदै पनि, सिर्जना गरेको बखत आफूभित्रको समालोचक कतै ‘हाइबरनेसन’मा जाने हुँदा मेरा रचनाहरूमा पनि प्रशस्त कमजोरी हुन सक्छन्। मेरा ती कमजोरी औँल्याइदिनुहुने समालोचक तथा सचेत पाठकहरूप्रति म अनुगृहीत रहनेछु। किनभने आलोचनाले रचनाकारलाई आफ्ना सीमाहरू चिन्न र सिर्जनालाई अझ परिष्कृत बनाउन मद्दत गर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
ताजा खबरJust now

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

कर्पोरट खबर
मुक्त कमैया बस्तीमा  छैन दसैँको उत्साह
ताजा खबरJust now

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह

सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

गोरखापत्र
अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
ताजा खबरJust now

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ । बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

रातोपाटी
इरफान पठान पोखराको क्रिकेट एम्बासडर
ताजा खबरJust now

इरफान पठान पोखराको क्रिकेट एम्बासडर

पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play