बडादशैँको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्व

बडादशैँ नेपाली सनातन संस्कृतिको सबैभन्दा ठूलो, लामो र गरिमामय चाड पर्व हो । आश्विन शुक्ल प्रतिपदा घटस्थापनादेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म मनाइने यो पर्व केवल एउटा धार्मिक अनुष्ठानमात्र होइन, यो त नेपाली समाजको पहिचान, एकता र जीवन्तताको प्रतीक हो । असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवका रूपमा मनाइने दशैँलाई सांस्कृतिक, सामाजिक र आर्थिक दृष्टिकोणबाट निकै महत्वपूर्ण पर्वको रूपमा लिने गरिएको छ ।बडादशैँ नेपाली समाजको बहुमूल्य सांस्कृतिक सम्पत्ति हो । सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक रूपमा एकअर्कासँग समन्वयात्मक साइनो यस पर्वले जोड्ने गर्दछ । यसले विभिन्न जातजाति, भेषभूषालाई एउटै मालामा जोड्ने भएकाले नै बडा दशैँको महत्व बढेको हो । भौगोलिक क्षेत्र अनुसार विभिन्न जातिले आफ्नै शैलीमा दशैँ पर्वलाई मनाएता पनि धार्मिक र सांस्कृतिक पक्ष भने समान रहेको पाइन्छ । यद्यपि, वर्तमान समयमा दशैँ मनाउने शैलीमा केही तडकभडक र विकृतिहरू पनि देखा पर्न थालेका छन् । चाडबाडका नाममा गरिने फजुल खर्च, देखासिकी र जुवातास जस्ता कूसंस्कारबाट टाढा रहँदै यसको मूल मर्मलाई जोगाउनु आवश्यक छ । दशैँको मौलिकता, पवित्रता र आत्मीयतालाई कायम राख्दै यसलाई भ्रातृत्व र समृद्धिको उत्सवका रूपमा भावी पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो । दशैँको जग धर्म र संस्कृतिमा जोडिएको छ । यसले नेपाली समाजको बहुआयामिक सांस्कृतिक परिचयलाई झल्काउँछ । दशैँको मुख्य पक्ष भनेको नवदुर्गा भवानीको पूजा–आराधना हो । घटस्थापनामा जमरा राख्नु, जमरा उमार्न माटो र बालुवाको प्रयोग गर्नु, र जलको अर्चना गर्नुले मानव जीवन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई देखाउँछ । महाअष्टमी, महानवमी र विजयादशमीका दिन गरिने विशेष पूजाहरूले शक्ति र सामर्थ्यको वन्दना गर्छन् । यो पर्वले विभिन्न जनजाति र समुदायलाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ । ठाउँ र समुदाय अनुसार मनाउने शैलीमा केही भिन्नता भए तापनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने मूल मर्म सबैमा समान छ । यो नेपालीहरूको साझा सांस्कृतिक धरोहर हो । दशैँमा गाइने मालश्री धुन, खेलिने लिंगे र रोटे पिङ र जमरा, टीका लगाउने रैथाने परम्पराहरू नेपाली संस्कृतिमा जीवन्त रहेका अमूर्त सम्पदा हुन्, जसले पुस्तान्तरणको काम गरिरहेका छन् । यो पर्व क्षेत्र अनुसार फरक–फरक ढंगले मनाइने गरिएता पनि यसको धार्मिक सांस्कृतिक र मौलिक पक्ष भनेको समान रहेको पाइन्छ । सम्बन्धहरूको पुनरुत्थान र भ्रातृत्व दशैँको सबैभन्दा सुन्दर पक्ष हो । यही सामाजिक आयामले नै सनातन परम्परादेखि नेपाली समाजलाई एक सूत्रमा एकाकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बडादशैँले नयाँ पुस्तालाई आफ्नो संस्कार, मर्यादा र पारिवारिक इतिहास बुझ्ने अवसर दिन्छ । मान्यजनको पाउ परेर आशीर्वाद लिँदा प्रकट हुने आदरभावले नेपाली समाजको उच्च नैतिक मूल्यलाई प्रदर्शन गर्छ । आधुनिक र व्यस्त जीवनशैलीका कारण गाउँदेखि शहर, शहरदेखि प्रदेशसम्म रहेका सम्बन्धहरूलाई जोड्ने पुल हो दशैँ । रोजगारी, शिक्षा वा अन्य सिलसिलामा देश–परदेशमा रहेका परिवारका सदस्यहरू यस समयमा घर फर्कन्छन् । वर्षौंसम्म भेट नभएका आफन्तहरू एकै ठाउँमा जम्मा भई सुख–दुःख साटासाट गर्छन् । यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । समाजमा रिसराग र मनमुटाव त्यागेर टीका लगाउन जाने र आशीर्वाद लिने–दिने चलन छ । सानालाई माया र ठूलालाई आदर गर्ने संस्कारको यसले विकास गर्छ । यसले समाजमा आपसी भ्रातृत्व, सहिष्णुता र शान्ति स्थापना गर्न मद्दत गर्छ जसका कारण यस पर्वलाई सद्भाव र मेलमिलापको पर्वको रूपमा पनि लिने गरिन्छ । बडादशैँले नयाँ पुस्तालाई आफ्नो संस्कार, मर्यादा र पारिवारिक इतिहास बुझ्ने अवसर दिन्छ । मान्यजनको पाउ परेर आशीर्वाद लिँदा प्रकट हुने आदरभावले नेपाली समाजको उच्च नैतिक मूल्यलाई प्रदर्शन गर्छ । यसरी विविध मूल्य र मान्यता, संस्कार र रीतिरिवाज, सद्भाव र मेलमिलाप भएकाले नै दशैँको महत्व बढ्नुको मूल कारण हो भनेर चित्रण गर्न सकिन्छ । हाम्रा संस्कार संस्कृति होस् वा कुनै पर्व कुनै न कुनै प्रकारले यसको आर्थिक पक्षसँग निकटता र परस्पर सम्बन्ध रहिआएको छ । एक अर्थमा भन्ने हो भने यस्ता संस्कार संस्कृति र पर्वहरूलाई राष्ट्रिय अर्थतन्त्रको चलायमान इन्जिन को रूपमा व्याख्या विश्लेषण गर्न सकिन्छ । दशैँ केवल भावना र संस्कृतिमा मात्र सीमित छैन, यसको देशको समग्र अर्थतन्त्रसँग ठूलो र प्रत्यक्ष सरोकार छ । यसलाई नेपाली बजारको सबैभन्दा ठूलो व्यापारिक उत्सव मानिन्छ। सबल पक्ष हुँदाहुँदै पनि व्यक्तिहरूको वा व्यवसायीहरूको मोनोपोलीका कारण चाडपर्वको बेलामा बजार वस्तुहरूमा हुने मूल्यवृद्धिले निम्नस्तरका नागरिकहरूलाई चाडपर्व धान्न पनि मुस्किल हुने कमजोरी पक्षहरू पनि छन् । मूल्यवृद्धि, कालाबजारी र महँगाईलाई नियन्त्रण गरी चाडपर्वलाई समान पहुँचको आधार बनाउनसक्ने हो भने सांस्कृतिक र आर्थिक पक्षमा पनि चाडपर्वको महत्व अझै प्रभावकारी बन्नेमा कुनै दुविधा छैन । विगतका केही तथ्यांकहरूलाई केलाउने हो भने पनि दशैँको अवधिमा देशमा वर्षभरिको झण्डै ३० देखि ४० प्रतिशत आर्थिक कारोबार हुनेनुमान गरिन्छ । खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स, सवारीसाधन र सुनचाँदी जस्ता वस्तुहरूको माग अत्यधिक बढ्छ । जसले गर्दा उत्पादन, आयात र वितरण क्षेत्र चलायमान बन्छ । चाडपर्वको बेला विप्रेषणको प्रवाह अत्याधिक बढेको देखिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दशैँ मनाउन ठूलो मात्रामा पैसा घर पठाउँछन् । यो समयमा नेपाल भित्रिने रेमिट्यान्सले देशको विदेशी मुद्रा सञ्चिति र वित्तीय तरलतालाई ठूलो राहत दिन्छ जसले गर्दा आन्तरिक रोजगारी प्रवर्धनमा समेत टेवा पुग्ने गरेको पाइन्छ ।यातायात, होटल, पर्यटन र खुद्रा व्यापारमा संलग्न लाखौं मानिसहरूले यस बेला राम्रो आम्दानी गर्छन् । किसानहरूले आफ्ना कृषि उपज र खसीबोका बेचेर नगद आम्दानी गर्ने मुख्य अवसर यही हो । धान पाक्ने समय भएकोले पनि किसानहरूले आफूले उब्जाएका खेतीहरू बजारसम्म पुर्याउन मद्दत पुर्याउँछन् । तसर्थ ऋतुको हिसाबले पनि यो पर्व उपयुक्त समयमा मनाउने गरिएको संस्कृतिविदहरूले जानकारी गराउने गर्दछन् । त्यसैले यस पर्वपछिका पर्वहरूलाई प्रकृति अनुकूल का पर्वको रूपमा चित्रण गर्ने गरेको पाइन्छ । तसर्थ निष्कर्षमा बडादशैँ नेपालीहरूको महान् पर्व हो । जसले धार्मिक सांस्कृतिक सामाजिक र आर्थिक पक्षलाई बलियो बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । यसले सनातनदेखि चलिआएको रीतिथि र परम्परालाई अनुशरणात्मक रूपमा पुस्तान्तरण गर्दै लैजाने, समाज र समुदायलाई एकीकृत रूपमा एकतामा जोड्ने प्रयत्न गर्दछ । सामाजिक सद्भाव मेलमिलाप, भाइचारा र बन्दुत्वको समष्टिगत रूप नै दशैँ हो । तात्विक रूपमा महापर्वले आसुरी प्रवृत्तिमाथि दैवीशक्तिको विजय र नवदुर्गा उपासनाको आध्यात्मिक चेतलाई पुनर्जागृत गराउँछ । पारिवारिक पुनर्मिलन र अग्रजहरूको आशिष ग्रहणले यसको सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरतालाई प्रगाढ बनाउँछ । समष्टिगत रूपमा, दशैँको अवसरमा हुने प्रचुर वित्तीय कारोबार, बजार चलायमानता र उपभोग्य प्रवृत्तिको सघनताले राष्ट्रिय अर्थतन्त्रमा बृहत् आर्थिक चक्र इकोनोमिक्स साइकल निर्माण गर्दछ जसले गर्दा यसलाई आर्थिक मानकको पर्वको रुपमा पनि लिने गरिन्छ । बडा दशैँलाई केवल पर्वको रूपमा मात्र नलिएर यसलाई एकता, भातृत्व, समानता र सामूहिकताको भावबाट अंगीकार गर्नसक्ने हो भने हिमालय सभ्यता, हिन्दु सभ्यताको दार्शनिक पक्षलाई नेपाली संस्कार संस्कृति, रीतिरिवाज र चाडपर्वले बलियो बनाउन सक्दछन् । बडादशैँको शुभकामना ।शुद्धोधन–४ रूपन्देही
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


