Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रास्वपा सांसद खगेन्द्र सुनार ‘रेड जोनमा’

रास्वपा सांसद खगेन्द्र सुनार ‘रेड जोनमा’

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद खगेन्द्र सुनार ‘रेड जोनमा’

काठमाडौं । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानविन सुरु भएको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नम्बर–३ बाट विजयी हुनुभएका सांसद सुनार विभिन्न विवाद र महिला हिंसासँग सम्बन्धित विषयमा जोडिएपछि रास्वपाले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । एक महिलालाई दुर्व्यवहार गरेको र सार्वजनिक अभिव्यक्तिहरूमा पनि अमर्यादित गतिविधि गरेकाले सुरुवातदेखि नै सुनारमाथि प्रश्न उठिरहेको थियो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहित उच्च अधिकारीलाई थर्काउनेदेखि विभिन्न सार्वजनिक अभिव्यक्तिहरूमा पनि सुनुवारले आपत्तिजनक शब्द बोलेपछि पार्टीभित्र विभिन्न सुझावहरू आइरहेका थिए । सांसद सुनारले बागमती प्रदेशकी पूर्व-राज्यमन्त्रीसँग आपत्तिजनक लाञ्छना र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सांसद सुनारलाई विवादास्पद अडियो प्रकरणमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पार्टीको अनुशासन आयोगले पत्र पठाएको छ । सोही प्रकरणमा पार्टी महामन्त्री विपिनकुमार आर्चायले सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको मंगलबार विज्ञप्तिमार्फत जानकारी गराउनुभएको थियो । सुनारमाथि सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि पार्टीले रोक लगाएको छ । विज्ञप्तिमा महामन्त्री आचार्यले भन्नुभएको छ, ‘सञ्चार माध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन् । विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।’ महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको महामन्त्री आचार्यले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । प्रमाण संकलन गर्ने, पीडित महिलासँग पनि बुझ्नेरास्वपाको अनुशासन आयोगले सांसद सुनारको सार्वजनिक विवादास्पद अडियोबारे प्रमाण संकलन गर्न सुरु गरेको छ । रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले भन्नुभयो, ‘पार्टीको धारणा आइसकेको छ । हामीले सबै प्रमाणहरू संकलन गरिरहेका छौँ । सांसदसँग पनि हामी कुरा गर्छौं । प्रकरणमा जोडिएको महिलालाई पनि भेट्ने कोसिसमा छौँ । तथ्यहरूको सत्य परीक्षण गरेपछि निष्कर्ष दिन्छौँ ।’ जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमाः पूर्व-मन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा सोमबार समाचार प्रकाशित गरेपछि रास्वपाले विज्ञप्ति जारी गरेको हो । उक्त समाचारमा सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भनिएको छ । आवश्यक परे राज्यले पनि छानविन गर्नुपर्छ : प्रमुख सचेतक बुर्लाकोटीरास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी दिनुभएको छ । बुर्लाकोटीले भन्नुभयो, ‘तत्काल सुरु गर्न भन्ने निर्देशन छ, अनुसन्धान सुरु भइसकेको छ । लामो समय जाँदैन । जे छानविन हुनुपर्ने हो त्यो हुन्छ । राज्यको कानुन कहाँनिर आकर्षित हुन्छ त्यो गर्नका लागि राज्यले गर्नुपर्ने अनुसन्धान गरियोस् । र त्यसमा पार्टीको तर्फबाट सहयोग हुन्छ ।’ रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले अपराध तथा महिला हिंसामा संलग्न भएको पुष्टि भए आफ्नै पार्टीका सांसदलाई समेत कारबाही गर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘एकजना व्यक्तिका पछाडि लागेर राष्ट्रिय स्वतन्त्र पार्टी सती जाँदैन । पार्टी विधानअनुसार आवश्यक परे निलम्बनदेखि ‘राइट टु रिकल’ (पदबाट फिर्ता बोलाउने प्रक्रिया) सम्मका कदम चाल्न सकिने उल्लेख गरिएको छ ।’ भाइरल अडियोबारे उजुरी आएको छैन : नेपाल प्रहरीरास्वपा सांसद सुनारको भन्दै सार्वजनिक भएको अडियो प्रकरणबारे सर्वत्र चर्चा भए पनि प्रहरीले भने छानविन थालेको छैन । सांसद सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएकाले छानविन प्रक्रिया अघि बढाइसकेको रास्वपाले जनाएको छ । तर, नेपाल प्रहरीले छानविनका लागि औपचारिक उजुरी कुरिरहेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले प्रहरीको कुनै युनिटमा औपचारिक उजुरी नआएको जानकारी दिँदै भन्नुभयो, ‘औपचारिक रूपमा अनुसन्धान गर्नलाई केही कानुनी आधारका कुरा हुन्छन्, त्यसअनुसार उजुरी आएपछि मात्र कानुनबमोजिम हेर्नुपर्ने हुन्छ । तर, बाहिर आएका विषयमा हाम्रो हिसाबले विभिन्न च्यानलबाट बुझ्ने काम गर्दै छौँ ।’ उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकताअनुसार सम्बन्धित व्यक्तिलाई पक्राउसमेत गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । छानविनमा सघाउन तयार छु : खगेन्द्ररास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानविन गर्न पार्टी र सरकारलाई सघाउने बताउनुभएको छ । फेसबुकमा एक भिडियो अपलोड गर्दै सुनारले आफूमाथि लागेका आरोपमा छानविनका लागि सघाउने बताउनुभएको हो । भिडियोमा सुनारले भन्नुभएको छ, ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । राज्यले गरेको पार्टीले गरेको सबै खालका छानविनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु ।’ प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निसाना बनाइएको आरोप लगाउँदै सुनारले भन्नुभएको छ, ‘अहिले सामाजिक सञ्जालमा अडियो र भिडियो भन्दै जे सार्वजनिक गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन । त्यो पात्र म होइन । मैले त्यस्तो कुरा बोलेको वा त्यस्तो काम गरेको छैन । प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), कसैलाई बोल्न लगाउने वा आवाजको नक्कल गर्ने जुनसुकै माध्यमबाट भए पनि मलाई फसाउने प्रपञ्च भइरहेको मेरो आशंका छ । ममाथि निर्भिक र निष्पक्ष छानविन होस् ।’ अहिलेसम्म को-को तानिए अडियो प्रकरणमानेपालका राजनीतिक दलका नेताहरूको नैतिक आचरणसँग जोडिएका अडियो काण्डहरू बाहिरिएको यो पहिलो पटक होइन । विगत झण्डै एक दशकमा मात्रै विभिन्न पार्टीका विभिन्न नेताहरू यस्तो अनैतिक आचरणयुक्त अडियो काण्डमा विवादित बन्दै र फस्दै आएका छन् । सार्वजनिक भएका त्यस्ता अडियोका कारण कतिपयको पद नै गुमेको छ । २०७४ सालमा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित कृष्णबहादुर महरामाथि २०७६ सालमा यौन दुर्व्यवहारको आरोप लाग्यो । अडियो सार्वजनिक भएर नैतिक प्रश्न उठेपछि महरा २०७६ असोज १५ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो । अडियो प्रकरणमा जोडिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुभएको थियो । रास्वपाकै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन संवादका क्रममा २ करोड ५० लाख रुपैयाँ मागेको भनिएको अडियो रेकर्ड सार्वजनिक भएपछि पार्टी सदस्यता खारेज हुनुका साथै सांसद पद नै गयो । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत पनि सेक्युरिटी प्रिन्टिङ प्रेसकै खरिद प्रकरणमा जोडिएको भन्दै अडियो बाहिरिएको थियो । पोखराको लिचीबारी जग्गा प्रकरणमा तत्कालीन दुईजना मन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको अडियो सार्वजनिक भयो । सोही प्रकरणमा तत्कालीन भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध घुस रिसवत लिए/दिएको विषयमा थप अनुसन्धान भएको थियो । सुशासन कायम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले घुस मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिनुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
ताजा खबरJust now

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

रातोपाटी
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
ताजा खबरJust now

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

रातोपाटी
कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
ताजा खबरJust now

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play