Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैःँ नेपालीको साझा सांस्कृतिक उत्सव

दशैःँ नेपालीको साझा सांस्कृतिक उत्सव

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैःँ नेपालीको साझा सांस्कृतिक उत्सव

दशैँ नेपालीहरूको सबैभन्दा ठूलो र खुसीको चाड हो । पहिले यो पर्व मुख्यगरी धार्मिक परम्परा र हिन्दू धर्ममा मात्र सीमित जस्तै मानिन्थ्यो तर आजभोलि यो सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने एउटा साझा सांस्कृतिक उत्सव बनेको छ । देशभित्र होस् या विदेशमा, असोज महिना लाग्नेबित्तिकै हरेक नेपालीको घर-आँगनमा दशैँको छुट्टै चहलपहल र रौनकता सुरु भइहाल्छ । दशैँ मनाउनुको पछाडि धार्मिक र पौराणिक इतिहास जोडिएको छ । त्रेतायुगमा भगवान् रामले सीतालाई रावणको कब्जाबाट मुक्त गराई विजय प्राप्त गरेको खुसियालीमा अयोध्यावासीले यो पर्व मनाउन थालेको मानिन्छ । त्यसैगरी, धर्तीमा दानवहरूको अत्याचार बढेपछि देवताहरूको संगठित शक्तिबाट महाशक्ति नवदुर्गा भवानीको उत्पत्ति भएको र उहाँले असत्यमाथि सत्यको विजय गराएको सम्झनामा पनि यो पर्व मनाइन्छ । चान्द्रमास अनुसार आश्विन शुक्ल प्रतिपदाका दिन घरलाई सफा गरी दियो, कलश र गणेशको पूजा गरेर जमरा राखेपछि दशैँ सुरु हुन्छ । नवरात्रभर क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी देवीका नौ रूपको पूजा गरिन्छ । दशमीका दिन मान्यजनको हातबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गरिन्छ । यसरी हेर्दा दशैँ एउटा धार्मिक विधि मात्र नभई पारिवारिक एकता, आपसी प्रेम र नेपाली मौलिकताको प्रतीक पनि हो । दशैँ पर्वको सामाजिक महतत्त्व पनि उत्तिकै छ । काम विशेषले जहाँसुकै पुगेका भए पनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जाने-आउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पुर्‍याउने महतत्त्वपूर्ण कडीका रूपमा लिन सकिन्छ । दशैँको आधार आश्विन शुक्ल दशमीको दिन नै हो । नौ दिनको पूजाआजापश्चात्को दसौँ दिनको महत्वलाई यसले सँगालेको छ । त्रेतायुगमा श्रीरामले रावण जस्तो वीरलाई पराजित गर्नका लागि देवीको अतिरिक्त शक्तिको आह्वान गर्दै नौ दिनसम्म देवीलाई विभिन्न स्वरूपमा पूजाआजा गरेको प्रसंग एकातिर आउँछ भने अर्कोतिर देवीको आह्वानका लागि चैत्र र आश्विनमा दुई पटक नवाह लगाउने चलन पनि छ । हामी आर्यधर्मावलम्बी सनातनी हिन्दूहरूका लागि हाम्रा पूर्वज ऋषिमुनिहरूले हाम्रा भावी सन्ततिका निमित्त यस लोकमा सुख-शान्ति, सुस्वास्थ, दीर्घायुष्यप्राप्ति र जन्मान्तरमा पनि परमानन्द प्राप्तिका निमित्त बिहान उठेदेखि रातमा नसुतेसम्म गर्नुपर्ने धार्मिक नियमहरू हामीलाई बनाइदिएका छन्, जसअनुसार चलेमा यस लोकमा सम्मानित र पछि मोक्षसमेत पाउन सकिन्छ । यो आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त नवरात्रमा दीप, कलश, गणेश स्थापनासहित पूजा गरी श्रीदुर्गा भवानीको विधिपूर्वक पूजा, आराधना गर्नुपर्छ भन्ने शास्त्रीय विधान छ । सनातन धर्मावलम्बी मात्रले वर्षभरिको अति ठूलो चाडका रूपमा विजयादशमीको नामले विजयको प्रेरणा दिने भएकाले मनाउने परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त दुर्गा भवानीको पूजा-आराधना गर्ने र दशमीको दिनमा शास्त्रीय विधानअनुसार दुर्गा विसर्जन गरी सनातनी धर्मावलम्बीले वर्षभरिको अत्यन्त ठूलो चाडका रूपमा लिई मान्यजनको हातबाट टीका-जमरा ग्रहण गरी आश्विन शुक्ल कोजाग्रत पूर्णिमासम्म मनाउने परम्परा छ । श्रीमद्देवीभागवतमा बताइएअनुसार त्रेतायुगको अन्त्यमा मर्यादापुरुषोत्तम भगवान् रामचन्द्रले विश्वकल्याणका निम्ति मनुष्यावतार लिएका र आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयादशमीको साइतमा लङ्कामा रावणविरुद्ध युद्ध गर्न प्रस्थान गरेको उल्लेख छ । देवीको उपासना गरेकोले रावणमाथि विजय प्राप्त गरेको कथा प्रसंग आएको छ । घटस्थापनाभित्रको विज्ञानआश्विनशुक्ल प्रतिपदाका दिनदेखि सनातनीहरूले आफ्नो कुल आचारअनुसार सम्पूर्ण वर्गले घट (घडा) को स्थापना गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको शास्त्रोक्त विधिले आह्वान गरी पूजन गर्दछन् । तामाको घडा वा माटाको घैँटोमा गाईको गोबर टाँसेर जौ गाडी घटस्थापना गर्ने प्रचलन छ । घडामा गोबर टाँस्नुको कारण यसको वैज्ञानिक महतत्त्व छ । गोबरमा अनेक प्रकारका हानिकारक किटाणु नाश गर्ने क्षमता हुन्छ । गोबरले लिपेको भूमिमा वा गोबर रहेको ठाउँमा भूतप्रेत आउन नसक्ने र गोबरले जैविक औषधिका रूपमा काम गर्ने भएकाले पञ्चगव्यमा समेत यसलाई समावेश गरिएको छ । घटस्थापना गर्दा प्रायशः माटोको घडा प्रयोग गरिन्छ किनभने माटो पृथ्वीको अङ्ग हो । क्षमाशीलता र धारण गर्ने गुण पृथ्वीमा रहेको छ । पृथ्वी विष्णुकी शक्ति हुन् । माटोमा पाप हटाउने क्षमतासमेत रहेको तथ्य हामीले शास्त्रमा पाउन सक्छौँ र कहीँकहीँ तामाको घडाको पनि प्रयोग गर्ने गरेको पाइन्छ । तामा पनि पृथ्वीको गर्भबाट निकालिएको हो, पृथ्वीकै अंश हो । घटस्थापना गर्दा जौ टाँस्ने परम्परा छ । जौको जमरा उमार्नुको तात्पर्य जौको गुण हो । जौमा दूधसमान पोषक तत्त्व पाइन्छन् । औषधीय गुणको प्रचुरता पर्याप्त मात्रामा पाइन्छ । जौ सबैभन्दा पहिले सृष्टि भएको अन्न मानिन्छ र सर्वथा शुद्ध मानिन्छ । याज्ञिक कार्यमा पनि देवगणहरूलाई हवि अर्पण गर्न बनाइने चरु गाईको शुद्ध घ्यूमा जौ मोलेर बनाइन्छ र पितृकार्यमा पनि पितृगणलाई जौको पीठोको पिण्डदान गरिन्छ । घटस्थापना गर्दा शुद्ध जलले पूर्णघटमा भगवतीको आह्वान गरिन्छ । अरू तरल पदार्थको सट्टा जलको प्रयोग गर्नुको कारण जल पञ्चतत्त्वमध्येको एक तत्त्व हो । जल पृथ्वीमा जीवन सम्भाव्यताको प्रमुख सूत्राधार हो, प्राणीलाई जलले नै बचाउन सक्छ । यसरी जीवनको पूर्णताका लागि आवश्यक तत्त्वको पूजन र प्रकृतिमा अन्तर्निहित शक्तिलाई ऊर्जामा परिणत गरी आफूमा विस्तारित गर्नु नै दशैँ मनाउनुको मुख्य उद्देश्य हो । सप्तशतीका तीन चरित्रमार्कण्डेय पुराणको सावर्णी मन्वन्तरअन्तर्गतको दुर्गासप्तशती चण्डीमा भगवतीका तीन चरित्रको वर्णन गरिएको छ । प्रथम चरित्रमा महाकाली र अनादिकालमा विष्णुको नाभिबाट प्रकट भएको सहस्रदलको कमलमा उत्पत्ति भएका ब्रह्माजीलाई विष्णुको कर्णमलबाट (कानेगुजी) प्रकट भएका दुई शक्तिशाली महादानव मधु र कैटभको बारेमा वर्णन छ । ब्रह्माजीले भगवती योगमायाको मानसिक उपासना गरी दानवहरूले दुःख दिएको कुरा भगवतीलाई अनुरोध गरे । भगवतीले आफ्नो योगबलले विष्णुलाई जागा गराई दानवहरूको संहार गरेर सृष्टिक्रम बसाउन प्रेरित गर्नुभयो । मध्यम चरित्रमा भगवती महालक्ष्मी (दुर्गा)को उत्पत्ति र महाराक्षस महिषासुरको आतंक र दुर्गाद्वारा महिषवधको बारेमा वर्णन छ । महिषासुरले दुःख दिएकाले साह्रै आजित भएका देवगणहरू महादेवको शरणमा गए र महादेवको प्रेरणामा सबै देवगणको मुखबाट तेजराशी उत्पन्न भयो । तेजराशीबाट विशाल ज्योतिपुञ्जको निर्माण भयो । त्यही तेजपुञ्जबाट भगवती महालक्ष्मीको उत्पत्ति भयो र देवगणहरूले आफ्ना-आफ्ना शास्त्रास्त्रद्वारा भगवतीलाई सुशोभित गरे । महिषासुरसँग भगवतीको ठूलो रणसंग्राम भयो र नवौँ दिनसम्मको युद्धमा बराबरी भएको र दशौँ दिनको दिनमा भगवतीले महिषासुर वध गरेको प्रसंग उल्लेख छ । यहीँबाट नै दशैँको औपचारिक थालनी भएको भन्ने मत विद्वानहरूले दिएका छन् । उत्तर चरित्रमा महासरस्वतीको चरित्र र शुम्भ-निशुम्भ र रक्तबीजको वधको बारेमा वर्णन छ । पहिला महासरस्वतीले शुम्भ र निशुम्भको वध गर्नुभयो । रक्तबीजले भगवतीसँग युद्ध गर्न तत्पर भयो तर एक थोपा रगत भुइँमा झरे पनि ऊ समान बलशाली दैत्य प्रकट हुन थाले । यो देखेर भगवतीले कालीरूप धारण गर्नुभयो र एक थोपा रगत भुइँमा झर्न नदिई रक्तबीजको रगत नै समाप्त गरी संहार गर्नुभयो । सप्तशती चण्डीको यी तीन सत्चरित्र र यी तीन असत्चरित्र नै अहिले एक्काइसौँ शताब्दीमा पनि उत्तिकै सान्दर्भिक छ । प्रथम चरित्रका महाकाली र मधुकैटभले समाजमा रहेका शारीरिक बल, राजनीतिक बल, आदि जस्ता बलमा घमण्ड गर्ने माथिको दमन गर्न शक्ति प्राप्त गर्नु भन्ने सन्देश दिन्छ । कसैले हामीमाथि बल प्रदर्शन गर्छ भने हामीले पनि त्यस बलमाथि हाम्रै बलले दमन गर्नुपर्छ तर सत्यको पक्षमा । दोस्रो चरित्र महालक्ष्मी र महिषासुरले पनि समय सान्दर्भिक सन्देश दिन्छ । महालक्ष्मी अर्थात् तीन लोक चौध भुवनको मालिक्नीलाई महिषासुरले धनमदले बल प्रदर्शन गर्‍यो र मदले गर्दा अन्त्य भयो । यसैले अहिलेको परिप्रेक्ष्यमा हामी पनि धनवान् हुनैपर्छ कि कसैले हामीलाई धनले दमन गर्न नसकोस् । धनार्जन गर्न कर्म गर्नुपर्छ, त्यो भनेको उद्यम गर्नु भनेको हो । तेस्रो चरित्र महासरस्वती र रक्तबीज हो । यस प्रसङ्गले विश्व समाजमा यस्ता प्राज्ञिक गतिरोधहरू आउन सक्छन्, विभिन्न षड्यन्त्र रचिन सक्छ, त्यस्ता समस्याको निराकरणका लागि हामी सक्षम हुनुपर्छ भन्ने हो । आध्यात्मिक पक्षपञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) को संयोजनबाट बनेको शरीरमा पाँचवटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय र एक सूक्ष्म इन्द्रीय गरी जम्मा एघार इन्द्रीय रहेका हुन्छन् । मानवले मन लागेको कर्म गर्छ, तर मन इन्द्रीयको वशमा हुन्छ । मीठो खाने, राम्रो लाउने, ऐसआराम गर्न खोज्नु यसको स्वभाव हो । मानवको जीवनचक्र कर्म र फलमा नियमित हुन्छ । कर्म र फल केही हदसम्म उसले लिने आहारसँग जोडिएको हुन्छ । भनिन्छ, जस्तो आहार त्यस्तै विचार, जस्तो विचार त्यस्तै व्यवहार, जस्तो व्यवहार त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल । तसर्थ आहार परोक्ष रूपमा फलसँग जोडिएको हुन्छ । आत्मानुभूति गराउने प्रथम दश दिनको समय निकै महतत्त्वपूर्ण रहने गर्दछ । यो नै मुख्य आधार वा जग हो । यस अवधिमा शाकाहारी वर्गभित्र पर्ने सात्विक आहार मात्र ग्रहण गर्नुपर्दछ । वर्जय १० इन्द्रीयबाट अपभ्रंश र संक्षिप्त रूप बडादशईं हुँदै बडादशैँ भएको हुन सक्दछ । दश दिनको प्रयासमा दश इन्द्रीयहरूलाई शान्त बनाउँदै ११औँ इन्द्रीयलाई प्रबल बनाएर एकादशीको दिनमा अल्पहार गरी ध्यान बस्ने र चन्द्रमाको वृद्धिसँगै आत्मासाक्षात्कारको बाटोमा अघि बढ्नु नै बडादशैँको आध्यात्मिक महतत्त्व हो । सांस्कृतिक पक्षदशैँ पर्वको सांस्कृतिक पक्षको कुरो गर्दा यसलाई नेपालीपन र परम्पराको जीवन्त धरोहरकै रूपमा लिनुपर्ने हुन्छ । हुन त दशैँ पर्व हिन्दू संस्कृतिको उपज भएकाले यो हिन्दूहरूको मात्र पर्व हो भन्ने भनाइ पनि हिजोआज यदाकदा उठ्ने गरेको पाइन्छ । यथार्थ भने योभन्दा नितान्त भिन्न छ । हिन्दूहरू त विश्वका अन्य मुलुकमा पनि फैलिएका छन् तर नेपालमा जसरीदशैँ पर्व मनाइन्छ, त्यो परम्परा निःसन्देह नेपालीहरूमा मात्र सीमित छ र जुनसुकै वर्ण-सम्प्रदायका भए पनि सारा नेपाली मात्रले नै यस पर्वलाई उत्तिकै श्रद्धापूर्वक मनाउँदै आएका छन् । हिन्दू मात्रले नभई नेपालका बौद्ध धर्मावलम्बीले पनि दशैँ मनाउने गरेको पाइन्छ । दशैँ समग्रमा नेपाली मात्रकै राष्ट्रिय पर्व हुन पुगेको छ । स्वाभाविक रूपमा जहाँसुकै रहेबसेका भए पनि निधारमा रातो टीका र कानमा पहेँलो जमरा देख्नेबित्तिकै त्यहाँ नेपाल र नेपालीपनको सुवास आउने गर्दछ । यस अर्थमा भन्नुपर्दा यस पर्वले समग्र राष्ट्रकै पहिचान बोकेको प्रष्टै अनुभूत गर्न सकिन्छ । सामाजिक पक्षदशैँ पर्वको सामाजिक महत्त्व पनि उत्तिकै छ । काम विशेषले जहाँसुकै पुगेका भए पनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जाने-आउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पुर्‍याउने महत्त्वपूर्ण कडीका रूपमा लिन सकिन्छ । सानालाई शुभाशीष दिने र ठूलाबाट लिने परम्पराले कोही कसैमा वर्षदिनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्त र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्धि गर्ने पर्वका रूपमा समेत लिन सकिन्छ । दशैँ मान्ने हाम्रो आफ्नै किसिमको मौलिक र आर्ष परम्परा छ । यसै कारण विदेशिएको छोरो घर आउँछ । वर्ष दिन अघिदेखि परदेश गएको श्रीमान्को घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघरलाई नै आफ्नो घर मानी बसेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीले माइतीको दर्शन पाउँछिन् । सम्भवतः संसारमा यति धेरै विविध पक्षले भरिएको पर्वको खोजी गर्दा अन्यत्र कतै पनि पाउन सकिँदैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
ताजा खबरJust now

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

रातोपाटी
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
ताजा खबरJust now

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

रातोपाटी
कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
ताजा खबरJust now

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play