Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुकुम्वासीलाई जग्गा वितरणमा सहज बनाइँदै

सुकुम्वासीलाई जग्गा वितरणमा सहज बनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुकुम्वासीलाई जग्गा वितरणमा सहज बनाइँदै

काठमाडौं । सरकारले सुकुम्वासीलाई जग्गा वितरण प्रक्रिया सहज बनाउने र भूमि प्रशासनलाई स्थानीय तहबाटै प्रभावकारी बनाउने कानुनी प्रबन्ध गरेको छ । भूमि ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले भूमिहीन सुकुम्वासीलाई जग्गा दिने बाटो खुलेको छ भने जग्गाको रजिस्ट्रेसन, नामसारी, दाखेल खारेज तथा रोक्का–फुकुवा जस्ता कामहरू अब स्थानीय तहबाटै सञ्चालन हुने भएका छन् । दशकौँदेखि थाती रहेको भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्नुभएको हो । अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी, गरिबी निवारण तथा संघीय मामिला मन्त्रालयले अढाई लाखभन्दा बढी सुकुम्वासीलाई जग्गा दिने बाटो खुला भएको जनाएको छ । यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ । २०६६ माघ २८ अगावैदेखि आवाद–कमोतमा रहेका तर स्रेस्तामा मात्र वन उल्लेख भएका (धरातलमा बस्ती रहेका) जग्गालाई एकपटक पुनः नक्सांकन गरी सरकारको नाममा ल्याइनेछ । यसबाट ऐलानी तथा सुकुम्वासी बस्तीको कानुनी अड्चन हट्नेछ । नेपाल सरकारको नाममा जग्गा कायम भएपछि भूमिसम्बन्धी समिति वा कार्यदलले स्थानीय सरकारको सिफारिसमा प्रक्रिया अघि बढाउनेछ । जग्गा नभएको अवस्थामा सरकारले आफैं खरिद गरेर भए पनि भूमिहीनलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तै योग्य परिवारलाई कृषि प्रयोजनका लागि न्यूनतम मूल्यांकनको जम्मा सात प्रतिशत र आवासीय प्रयोजनका लागि १२ प्रतिशतमात्र दस्तुर लिई जग्गाको लालपुर्जा (स्वामित्व) दिइनेछ । अध्यादेशले मात्रै भूमिहीनको समस्या समाधान होला ?अध्यादेश जारी भएलगत्तै फेसबुकमार्फत् भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका कानुनी अड्चन हटेको बताउनुभएको थियो । उहाँले राजनीतिक तथा प्रशासनिक नेतृत्व, सम्बन्धित कर्मचारी, स्थानीय तह र समस्या समाधान समितिलाई ‘मिसन मोड’ मा काम गर्न आग्रहसमेत गर्नुभएको छ । त्यसैअनुरूप दुई वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्यसहित आफूहरू अघि बढिरहेको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाको भनाइ छ । उहाँका अनुसार सरकारले जारी गरेका दुई अध्यादेश सुकुम्वासी समस्या समाधानका दृष्टिले एकअर्कासँग अन्तरसम्बन्धित छन् र दुई वर्षभित्र काम सक्ने योजनामा काम अघि बढाइएको उहाँको भनाइ छ । नेपालको संविधानले सबैका लागि भूमिको हक स्थापित गरे पनि संविधान जारी भएको ११ वर्ष बितिसक्दा अढाई लाखभन्दा धेरै सुकुम्वासी अहिले पनि जग्गाको स्वामित्वबाट टाढै छन् । यसको मुख्य कारण हो वन क्षेत्रको जग्गा । यसअघि वन क्षेत्र, मध्यवर्ती क्षेत्रलगायत क्षेत्रमा जग्गा दिने विषय सबैभन्दा चुनौतीपूर्ण थियो । यो व्यवस्थाले वन मासिने भन्दै संरक्षणवादीले विरोध गर्दै आएका थिए । सरकारले पनि यसमा ठोस कदम उठाउन नसक्ने अवस्था थियो । तर, अहिलेको अध्यादेशले यसमा ठोस व्यवस्था गरेको देखिन्छ, जुन सकारात्मक पहल हो । तर, यसका बाबजुद अध्यादेशले कतिपय संशयसमेत निम्त्याएको सरोकारवालाहरू बताउँछन् । सबैभन्दा ठूलो संशय भनेको सुकुम्वासीलाई लगाउने राजस्वको दरको विषय हो । अघिल्ला अध्यादेशमात्र नभएर प्रतिनिधिसभाबाट पारितसमेत भइसकेको भूमिसम्बन्धी विधेयकमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँदा कुनै पनि राजस्व नलिने व्यवस्था थियो । तर, अहिले यसलाई पाँचदेखि १२ प्रतिशत पु¥याउँदा तिर्न नसक्ने सुकुम्वासीले जग्गा नै नपाउने अवस्था हुने हो कि भन्ने डर देखिन्छ । दोस्रो संशय भनेको सरकारले अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई छुट्याएर गरिएको व्यवहार पनि हो । अहिले भूमि समस्या समाधानका झण्डै १२ लाख निवेदनहरू रहेका छन् । त्यसमध्ये अढाई लाख हाराहारीमा मात्रै सुकुम्वासीका छन् । बाँकी अव्यवस्थित बसोबासीका समस्या छन् । तर, साढे नौ लाखभन्दा धेरै अव्यवस्थित बसोबासीको समस्या छाडेको भन्दै सरोकारवालाहरू सशंकित छन् । यसले अव्यवस्थित बसोबासीको समस्याका लागि सरकार उदासीन बनेको हो कि भन्ने आशंका निम्तिएको छ । के–के छ अध्यादेशमा ?मंगलबार नेपाल राजपत्रमा प्रकाशित अध्यादेशमा मुख्यतया पाँचवटा विषय समावेश छन् । पहिलो, वनजंगल भनेर जनिएका तर २०६६ साल माघ १० गतेभन्दा अगाडिदेखि बसोबास हुँदै आएका क्षेत्रमा कोही सुकुम्वासी बसोबास गर्दै आएका छन् भने उनीहरूलाई सोही स्थानमा जग्गा दिने बाटो खुला भएको छ । यसअघि वन क्षेत्रको जग्गा दिने विषय पूर्ण रूपमा खुला गरिएको थिएन । अध्यादेशअनुसार अब नदी किनार, तालतलैयाको किनार, सडकको मापदण्डभित्र बाहेक क्षेत्रमा बसोबास गर्ने जोकोही सुकुम्वासीलाई त्यही क्षेत्रमा जग्गा दिन सक्ने भनेको छ । दोस्रो, यदि कुनै उल्लिखित क्षेत्रभित्र सुकुम्वासी बसोबास गरिरहेका छन् वा कुनै खास ठाउँमा बसोबास नै गरेका छैनन् भने उनीहरूलाई सरकारले नै मापदण्डअनुसार सार्वजनिक जग्गा खोजेर दिने बाटो खुला भएको छ । तेस्रो, यस्ता सुकुम्वासीले आगामी दुई वर्षभित्र जग्गा प्राप्त गरिसक्ने गरी ऐनमै व्यवस्था गरिएको छ । अघिल्लोपटक पनि तीन वर्षको समय तोकिएको थियो । चौथो, अध्यादेशले सुकुम्वासीलाई जग्गा प्राप्तिका लागि राजस्व तिर्नुपर्ने व्यवस्था गरेको छ, यसअनुसार बसोबास प्रयोजनको जग्गामा मूल्यांकनको १२ प्रतिशत र कृषि जग्गामा पाँच प्रतिशत राजस्वको व्यवस्था गरिएको छ । यसअघि अव्यवस्थित बसोबासीको हकमा राजस्व लिने व्यवस्था भए पनि भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका हकमा यस्तो शुल्क नलाग्ने व्यवस्था थियो । पाँचौँ, भूमि समस्या समाधान समितिलाई जिल्ला अदालतसरह मान्यता दिइएको छ । भूमि समस्याका लागि व्यक्तिलाई झिकाउने, बयान लिने, कागजात मगाउनेजस्ता काम गर्न सक्ने गरी अधिकार तोकिएको छ । यी व्यवस्थाले भूमिहीनले जग्गा पाउने सुनिश्चित गराएको दाबी सरकारको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

खसी खोज्न गाउँमै ग्राहक
ताजा खबरJust now

खसी खोज्न गाउँमै ग्राहक

उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

गोरखापत्र
अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
ताजा खबरJust now

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

कान्तिपुर
सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
ताजा खबरJust now

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

कर्पोरट खबर
वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
ताजा खबरJust now

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play