पहिरोले खोस्यो श्रीमान्, घर र खेतबारी, चिनाखेतमा दसैंतिहारको रौनक हरायो

काठमाडौं – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैंतिहार खुसी साट्ने पर्व बनेन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट अनि जीविकोपार्जनको आधार बनेको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि उनको परिवार शोक र अभावमा छ ।

यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारबाट जीवनसाथी मात्र खोसेन, वर्षौँदेखि बस्दै आएको घर, पशुचौपाया र खेतीपातीको आधारसमेत उजाड बनायो । ७० वर्षीय श्रीमान् लालवीर छन्त्याललाई साउन ११ गते आएको पहिरोले सुतिरहेकै ठाउँमा पुरेको थियो । श्रीमान्को निधनपछि घरबारविहीन बनेकी दिलमतीलाई दसैँतिहारको खुसीभन्दा विगतको सम्झना र भविष्यको चिन्ताले सताएको छ ।

“दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्दोरहेछ,” दिलमतीले भनिन्, “जीवनको सहारा श्रीमान्सँगै बस्ने बास पनि खोस्यो । चारवटा भैँसी र पाडासहितको गोठ बगायो। खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदोरहेछ ।”

शरीरमा लागेको घाउ बिस्तारै निको हुँदै गए पनि मनको चोट भने उस्तै छ । श्रीमान् गुमाएको शोकमाथि घरगोठ र आम्दानीको आधारसमेत गुमेपछि दिलमतीको परिवारलाई अब कसरी जीवन अघि बढाउने भन्ने चिन्ताले घेरेको छ।

हजुरबुबा गुमाएका सात वर्षीय दर्पण

दिलमती र लालवीरले आफ्नै दुःखबीच सात वर्षीय नाति दर्पण छन्त्यालको लालनपालन र अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आएका थिए । दर्पणका आमा र बुबाले दोस्रो विवाह गरेपछि हजुरबुबा लालवीर, हजुरआमा दिलमती र काकी गौमायाले उनलाई हुर्काउँदै आएका थिए ।

पहिरो खसेको थाहा पाएपछि नाति दर्पणलाई झ्यालबाट बाहिर निकाल्ने क्रममा दिलमती घाइते भएकी थिइन् । उनले नातिको ज्यान जोगाउन सफल भए पनि आफ्नै जीवनको सहारा बनेका श्रीमान्लाई बचाउन नसकेको पीडा उनलाई छ ।

माया र स्नेह दिने हजुरबुबाको निधनले दर्पणको बालमनमा पनि गहिरो चोट परेको छ । परिवारको अभिभावक गुमाउनु र घरबारविहीन हुनुपर्ने अवस्थाले उनको बाल्यकालमा समेत दुःख थपेको छ। विगतमा परिवारसँगै बसेर मनाइने दसैँतिहार यस वर्ष उनीहरूका लागि पीडादायी सम्झना बनेको छ ।

दुई महिनामै दुईपटक बाढीपहिरो

चिनाखेतका बासिन्दाले यस वर्ष करिब दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरोको सामना गर्नुपरेको छ। साउन ११ र असोज ११ गते आएको बाढीपहिरोले बस्ती, घरगोठ र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएपछि स्थानीयवासी सुरक्षित बसोबासको खोजीमा छन्।

स्थानीय शिक्षक चमेली थापाका अनुसार लगातारको विपद्ले चिनाखेतमा दसैँतिहारको माहोल नै हराएको छ। बस्तीमा पहिरोको जोखिम बढ्दै जाँदा कतिपय स्थानीय आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ सर्ने सोचमा पुगेका छन् ।

“पहिरोले उठिबास लगाएकाले चाडपर्वको माहोल नै हराएको छ,” उनले भनिन्, “दुई महिनाको अन्तरमा लगातार पहिरो आएपछि चिनाखेतवासी थातथलो छाडेर बसाइँ सर्ने क्रम बढेको छ ।”

बस्तीमाथिको पाखोमा सक्रिय पहिरोबाट बग्ने गेगरसहितको भेल खोल्सामा मिसिएर बस्ती र खेतबारीतर्फ पस्ने गरेको छ। बाढीपहिरोको जोखिमका कारण स्थानीयलाई घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन भएको छ ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो। असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनको घर बस्नै नमिल्ने बनाएको छ ।

१५० रोपनी जमिन बगरमा परिणत

चिनाखेतमा बाढीपहिरोबाट ४२ घरपरिवार प्रभावित भएका छन्। वडाध्यक्ष पुनका अनुसार करिब १५० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा, कृषि फार्म, धानखेतलगायत खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

पछिल्लो समय चिनाखेतका बासिन्दाले व्यावसायिक सुन्तला तथा तरकारीखेती विस्तार गर्दै आएका थिए। गाउँमै कृषि व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्ने र रोजगारी सिर्जना गर्ने स्थानीयको प्रयासलाई विपद्ले गम्भीर धक्का पुर्याएको छ ।

स्थानीय भवी छन्त्यालको फल दिने अवस्थामा पुगेका करिब १०० सुन्तलाका बोट रहेको बगैँचा पहिरोले पुरेर बगर बनाएको छ। वर्षौँको मिहिनेत र लगानीपछि आम्दानी दिन थालेका बोटबिरुवा र खेतीयोग्य जमिन नष्ट हुँदा किसानको जीविकोपार्जनमा थप समस्या उत्पन्न भएको छ ।

मगर र छन्त्याल समुदायको बसोबास रहेको चिनाखेतका बासिन्दाले व्यावसायिक कृषिमार्फत आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेका थिए । तर, बस्तीमाथिको पहिरो र खोलामा आउने बाढीले उनीहरूको मिहिनेत मात्र नष्ट गरेको छैन, भविष्यका योजनासमेत अनिश्चित बनाएको छ ।

कृषक धनबहादुर थापाका अनुसार गाउँमै व्यावसायिक कृषि गरेर आत्मनिर्भर र स्वरोजगार बन्ने योजनामा बाढीपहिरो बाधक बनेको छ । खेतीपाती गर्ने जमिन नै जोखिममा परेपछि अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले किसानलाई सताएको छ ।

खानेपानी योजना र सामुदायिक संरचनामा क्षति

बाढीपहिरोले निजी सम्पत्तिसँगै चिनाखेतका सामुदायिक पूर्वाधारमा पनि क्षति पुर्याएको छ। चिनाखेत–डाँडाखानी खानेपानी योजनाको मुहानमा रहेको ट्याङ्की पूर्ण रूपमा क्षति भएको छ। हिमचुली स्पोर्ट्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवनसमेत पहिरोमा पुरिएका छन्।

खानेपानी, सामुदायिक भवन र खेलमैदानमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र सामुदायिक गतिविधि प्रभावित भएका छन्। बस्तीमाथिको पहिरो अझै सक्रिय रहेकाले थप क्षति हुनसक्ने चिन्ता स्थानीयमा छ ।

वडाध्यक्ष पुनका अनुसार गाउँ नै जोखिममा परेपछि भूगर्भविद्को टोलीबाट पहिरोको स्थलगत अनुगमन गराइएको छ। पहिरोको अवस्था अध्ययन गरी रोकथाम तथा नियन्त्रणका लागि बेनी नगरपालिका र प्रदेश सरकारसँग पहल गरिएको उनले बताए ।

थातथलो छाड्ने कि जोखिममै बस्ने ?

लगातारको बाढीपहिरोले घर र खेतबारी जोखिममा पारेपछि चिनाखेतका बासिन्दा सुरक्षित बसोबासको विकल्प खोज्न बाध्य भएका छन्। पुस्तौँदेखि बस्दै आएको थातथलो छाड्नुपर्ने अवस्था आउँदा उनीहरूलाई सम्पत्तिको क्षतिसँगै आफ्नो सामाजिक र सांस्कृतिक जरा गुमाउने चिन्ताले पनि सताएको छ ।

स्थानीय मोती पुनका अनुसार पटकपटक बाढीपहिरो आउन थालेपछि गाउँ छाडेर अन्यत्र जाने विषयमा सोच्नुपर्ने अवस्था आएको छ।

“पटकपटक पहिरो र बाढीले सताउन थालेपछि चिनाखेतवासीले विकल्प खोज्न थालेका छौँ,” उनले भनिन्, “बस्ने बास र कमाउने जमिन नै नभएपछि गाउँ नै छोडेर जानुपर्ने अवस्था आएको छ ।”

सुरक्षित आवासको व्यवस्था नहुँदा जोखिमयुक्त घरमा बसिरहने वा थातथलो छाडेर अन्यत्र जाने भन्ने दोधारमा स्थानीय छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कृषि पेसामा आश्रित परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएको छ ।

पुनःस्थापना र संरक्षणको प्रतीक्षा

चिनाखेतका बासिन्दाले जोखिमयुक्त क्षेत्रमा रहेका परिवारका लागि अस्थायी आवास, सुरक्षित स्थानमा पुनःस्थापना तथा पहिरो र बाढी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न राज्यका निकायसँग माग गरेका छन् । बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि प्राविधिक अध्ययनका आधारमा दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

पहिरोको जोखिम न्यूनीकरण, क्षतिग्रस्त खानेपानी योजनाको पुनर्निर्माण र जीविकोपार्जनका आधार पुनःस्थापना हुन सकेमा मात्रै प्रभावित परिवार सामान्य जीवनमा फर्किन सक्नेछन् ।

यस वर्ष चिनाखेतका धेरै घरमा दसैँको तयारीभन्दा सुरक्षित बसोबासको चिन्ता ठूलो बनेको छ। कसैले आफन्त गुमाएका छन्, कसैले घरबार, पशुचौपाया र खेतीपाती गर्ने जमिन। चाडपर्वले ल्याउने खुसी विपद्को पीडाले छोपेको छ। दिलमती छन्त्यालका लागि भने यस वर्षको दसैँ श्रीमान्को सम्झना, उजाडिएको घर र भविष्यको अनिश्चितताबीच बितिरहेको छ ।

Read Complete Original Article
Published originally on विश्वखबर
Related News

व्यवसायीलाई विभागको निर्देशन- चाडपर्वमा खाद्य स्वच्छता कायम गर्नू
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेण्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो । विभागले ...

यातायात क्षेत्रका समस्या समाधान गर्ने सांसदहरूको प्रतिबद्धता
रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली,... ...

कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने ...

चाडपर्वलक्षित बजार अनुगमनः पाँच व्यवसायीलाई एक लाख पाँच हजार जरिवाना
कलैया समाचारदाताबारा, असोज ३० गते । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा निगरानी बढाएका सरकारी निकायले बाराको निजगढ र कलैयामा गरेको संयुक्त बजार अनुगमनका क्रममा... ...