Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुवै छिमेकीसँगको सम्बन्ध परिणाममुखी बनाउने प्रस्तावित राजदूतका योजना

दुवै छिमेकीसँगको सम्बन्ध परिणाममुखी बनाउने प्रस्तावित राजदूतका योजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुवै छिमेकीसँगको सम्बन्ध परिणाममुखी बनाउने प्रस्तावित राजदूतका योजना

काठमाडौं । भारत र चीनका लागि प्रस्तावित नेपाली राजदूतहरूले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई थप परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै दुवै देशका प्रस्तावित राजदूतहरूले राष्ट्रिय हितको संरक्षण, आर्थिक सहकार्य विस्तार र द्विपक्षीय विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन् । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल-भारतबीचको परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने योजना रहेको सुनाउनुभयो । त्यस्तै, चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्माले राजनीतिक विश्वास कायम राख्दै नेपाल र नेपालीलाई व्यावहारिक लाभ दिलाउने प्रतिबद्धता जनाउनुभयो । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध परेका सातवटा उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल भएको छ । चार व्यक्तिले दर्ता गराएका उजुरीमाथिको सुनुवाइमा अधिकांश उजुरीकर्ता अनुपस्थित भएपछि समितिलाई प्रक्रिया अघि बढाउने विषयमा चुनौती देखिएको हो । असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरु जोशीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्राडा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ । राजनीतिक विश्वास कायम राखेर व्यावहारिक लाभ दिलाउनु मेरो उद्देश्य हो : कल्याणराज शर्माचीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले राजनीतिक विश्वास कायम राख्दै नेपाली र सरकारलाई व्यावहारिक लाभ दिलाउनु आफ्नो उद्देश्य रहेको बताउनुभएको छ । दुई सरकारबीच विश्वास कायम राख्दै नेपालको हित निष्ठापूर्वक प्रस्तुत गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उहाँले चीनको परराष्ट्र मन्त्रालय, कम्युनिष्ट पार्टी राज्य परिषद्, राष्ट्रिय जनकांग्रेस प्रान्तीय सरकार, विश्वविद्यालय र थिंक ट्यांकसँग नियमित सम्पर्क गर्ने पनि प्रतिबद्धता जनाउनुभएको हो । सम्मानित र सबल नेपाली नियोग निर्माण गर्ने, निरन्तर पहुँच र फलोअपमार्फत गलत बुझाइ हटाउने, स्पष्ट कार्यादेश भएका नेपाली संस्थाहरूलाई प्राथमिकता दिनेलगायत विषय उहाँको प्रतिबद्धतामा उल्लेख छ । प्राथमिकतामा रहेका परियोजनाहरू (रसुवागढी पुल, स्याफ्रुबेंसी-रसुवागढी सडक, अरनिको राजमार्ग, काठमाडौं चक्रपथ, केरुङ- रसुवागढी-चिलिमे प्रसारण लाइन, किमाथांका सडक आदि)मा विशेष ध्यान दिने उहाँले बताउनुभयो । प्रशोधित राँगाको मासु, अमिलो फलफूल, घाँस/साइलेज, औद्योगिक पार्क विशेष आर्थिक क्षेत्र आदिमा प्रगति अनुगमन गर्ने पनि उहाँले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ । परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्छु : डा. निश्चलनाथ पाण्डेभारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै राष्ट्रिय हित र जनभावनालाई सर्वोपरि राख्ने प्रतिबद्धता जनाउनुभएको छ । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले नेपाललाई सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने सरकारको लक्ष्यअनुरूप आफूले काम गर्ने स्पष्ट पार्नुभएको हो । उच्चस्तरीय भ्रमण र द्विपक्षीय संयन्त्रको परिचालनलाई पाण्डेले आफ्नो कार्ययोजनाको प्रमुख आधार बनाउनुभएको छ ।प्रधानमन्त्री बालेन शाहको छिट्टै हुने भारत भ्रमणलाई सफल बनाउन दूतावासले पूर्ण तयारी गर्ने जानकारी दिनुभयो । नेपाल र भारतबिच विभिन्न क्षेत्रमा काम गर्नेगरी गठन भएका ४० वटा द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउन एउटा छुट्टै वार्षिक क्यालेण्डर नै तयार पारेर अघि बढ्ने उहाँको योजना छ । खुला सिमानालाई कायम राख्दै अपराध नियन्त्रण गर्न पाण्डेले आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभएको छ । भारतमा ऊर्जाको माग अत्यधिक रहेकाले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौताले व्यापार घाटा कम गर्न ठूलो मद्धत पुग्ने उहाँको विश्वास छ । जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन पाण्डेले थिंक ट्यांक, विश्वविद्यालय र अनुसन्धानकर्ताहरूबीच सहकार्य बढाउने बताउनुभयो । उजुरीकर्ता नै आएनन्विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिलाई उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ । प्रस्तावित राजदूतहरूविरुद्धका उजुरीबारे छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल चलाएको हो । १३ राष्ट्रका लागि प्रस्तावित राजदूतहरूविरुद्ध चार व्यक्तिबाट सातवटा उजुरी परेकोमा अधिकांश उजुरीकर्ता बैठकमा उपस्थित भएनन् । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने उजुरीकर्ताहरू सम्पर्कविहीन भएको समितिका सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो । रास्वपासँगको निकटता र पिआरको आरोपजापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ । जापानमै बसोबास गर्दै आउनुभएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पिआर) रहेको, घरसम्पत्ति भएका कारण स्वार्थको द्वन्द्व हुने र राजनीतिक प्रभावका आधारमा सिफारिस गरिएको दाबीसहित उहाँको नाम अनुमोदन नगर्न माग गर्नुभएको हो । संसदीय सुनुवाइ समिति बैठकमा समिति सचिव तुलबहादुर कँडेलले पढेर सुनाएको उजुरीअनुसार थापाले सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति प्राप्त गरेको र कानागावा प्रिफेक्चरमा आफ्नै घर रहेको विवरण सार्वजनिक रूपमै स्वीकार गर्नुभएको छ । परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि तोकेको कार्यसर्त (टिओआर) मा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति नभएको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उजुरीकर्ताले थापाको उम्मेदवारी मापदण्डविपरीत रहेको दाबी गरेका छन् । उजुरीमा प्रस्तावित राजदूतको जापानमा रहेको घरजग्गा, लगानी र सम्भावित आर्थिक दायित्वका कारण नेपाल सरकारको तर्फबाट आर्थिक तथा कूटनीतिक वार्ता गर्दा गम्भीर स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना हुने जिकिर गरिएको छ । सम्बन्धित देशमै आवासीय हैसियत र सम्पत्ति भएको व्यक्तिलाई राजदूत प्रस्ताव गर्दा जापान सरकारबाट सहमति (एग्रिमेन्ट) प्राप्त नहुने र त्यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का पुग्ने जोखिम औँल्याइएको छ । यसैगरी, खुला प्रतिस्पर्धा र मेरिटका आधारमा राजदूत छनोट गर्ने दाबी गरिए पनि थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँगको राजनीतिक निकटताका आधारमा सिफारिस गरिएको आरोप लगाइएको छ । छनोट प्रक्रियाको पारदर्शिता परीक्षण गर्न र प्रस्तावित कार्यक्षेत्रका नेपाली समुदायको असन्तुष्टिलाई सम्बोधन गर्न समितिले सम्पूर्ण कागजात झिकाई छानविन गर्नुपर्ने माग गरिएको छ । सुनारविरुद्धको उजुरीका दुई प्रमाण झिकाइनेसाउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको छ । एक महिलासँग सुनारको विवाहेत्तर सम्बन्ध र पटक–पटक र ‘टर्चर’ दिएको भन्दै उनकी साथीले उजुरी दिएकी थिइन् । समितिले यससम्बन्धी उजुरीकर्ता र पीडितसँगको छलफलपछि ललितपुर प्रहरीमा भएको मिलापत्रको प्रमाण माग्ने निर्णय गरेको हो । सुनार जर्मनीबाट ‘डिपोर्ट’ भए/नभएको विवरण परराष्ट्र मन्त्रालयमार्फत झिकाउने निर्णय पनि गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । सुनारविरुद्ध अर्को उजुरीसमेत परेको छ । उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पहिले दर्ता गराएको हाम्रो नेपाल पार्टीसँग गिरीबहादुर सुनार आबद्ध रहेको दाबी गरिएको छ । राजदूत नियुक्त हुने व्यक्ति कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने जिकिर गर्दै उजुरीकर्ताले सुनार राजदूत बन्न योग्य नरहेको दाबी गरेका छन् । प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वानसंसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषद्बाट सिफारिस चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कात्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो । केही दिनअघि बसेको न्याय परिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play