ब्रह्मनालसम्मको कुर्सीमोहमा त्यागविहीन राजनीतिको विसर्जन

लोकतान्त्रिक मूल्यमान्यता र आदर्शको खोल ओढेर दशकौंसम्म पार्टी र राज्यको छातीमाथि रजगज गर्ने अनि जीवनको अन्तिम सास, यहाँसम्म कि घाटमा पुग्दासमेत कुर्सी नछोड्ने विकृत राजनीतिक संस्कार आज नेपाली राजनीतिको गिजोलिएको क्यान्सर बनेको छ । राजनीति त्याग, निष्ठा र जनसेवाको पवित्र मार्ग होइन बरू योग्य सहकर्मीहरूको सम्भावनालाई कुल्चँदै, आफ्नै पारिवारिक र गुटगत स्वार्थको खेलौंना सुरक्षित गर्ने ‘कुर्सीको अनन्त पासो’ बनेको छ । चौरासी पूजा उमेरका बुढ्यौली अनुहारहरूले पदलाई व्यक्तिगत सम्पत्ति ठानेर बन्धक बनाउँदा, नयाँ पुस्ताले अवसर पाउनकै लागि अग्रजहरूको प्राकृतिक वा भौतिक विसर्जन कुर्नुपर्ने लज्जास्पद अवस्थाले लोकतन्त्रको उपहास भयो । नेपाली कांग्रेसको १५औं महाधिवेशनको वर्तमान परिदृश्यले यही नांगो र रुग्ण यथार्थलाई फेरि एकपटक उदांगो पारेको छ । जहाँ चुनावको नाटक मञ्चन गरेर, विधानका छिद्रहरू समातेर र कुर्सीको सांलो चुटाउन नचाहने कुत्सित प्रवृत्तिकै कारण पार्टी वैचारिक संस्थाबाट एउटा बन्द गिरोहमा परिणत भएको छ । तसर्थ, अब सतही रूपमा अनुहार फेर्ने र भाषणबाजी गर्ने नाटकले मात्र पुग्दैन, जबसम्म यो ‘ब्रह्मनालसम्मको कुर्सीमोह’ र त्यागविहीन, खोक्रो राजनीतिक प्रवृत्तिको जरो निर्मूल पारिँदैन तबसम्म न कांग्रेस बदलिनसक्छ न जनताको रगत–पसिनाबाट बनेको लोकतन्त्र नै जोगिनसक्छ । लोकतान्त्रिक राजनीतिक प्रणालीमा निर्वाचन सत्ताप्राप्तिमात्रै होइन, जनताको अभिमतको सम्मान र समाजलाई नयाँ दिशा दिने अवसरका रूपमा लिइन्छ तर जब निर्वाचनलाई जित्दा सबै कुरा आफ्नो र हार्दा सबै सर्वस्वहरण हुने खेलका रूपमा परिभाषित गरिन्छ तब लोकतान्त्रिक मूल्यमान्यताहरू सत्ता र शक्तिको स्वार्थी दाउपेचमा बन्धक बन्छन् । लोकतान्त्रिक राजनीतिक प्रणालीमा निर्वाचन सत्ताप्राप्तिमात्रै होइन, जनताको अभिमतको सम्मान र समाजलाई नयाँ दिशा दिने अवसरका रूपमा लिइन्छ तर जब निर्वाचनलाई जित्दा सबै कुरा आफ्नो र हार्दा सबै सर्वस्वहरण हुने खेलका रूपमा परिभाषित गरिन्छ तब लोकतान्त्रिक मूल्यमान्यताहरू सत्ता र शक्तिको स्वार्थी दाउपेचमा बन्धक बन्छन् । नेपाली राजनीतिको वर्तमान परिदृश्य, विशेषगरी नेपाली कांग्रेसको १५औं महाधिवेशनको सन्दर्भले यही गम्भीर सैद्धान्तिक र व्यावहारिक संकटलाई सतहमा ल्याएको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालका पदहरूमा अन्य कसैले उम्मेदवारी नै दिएनन् । कांग्रेसको इतिहासमै यो अहिलेसम्मको अनौठो विजय भन्नुपर्छ । यो निर्विवादित विजयले दुबैजनालाई पार्टीमा सधैं निर्विवादित भूमिका निर्वाह गर्न कार्यकर्ताहरूले दिएको निर्देशन हो । गगन थापा पनि प्रतिस्पर्धाबाट सभापति भएकाले कांग्रेसमा आन्तरिक प्रजातान्त्रिक पद्धति सक्रिय छ भन्ने सन्देश दियो भने जारी मतगणना अनुसार उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौलाजस्ता आशलाग्दा उम्मेदवारु निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरूको मतगणना जारी छ । कांग्रेसको यस अधिवेशनले कांग्रेस पार्टीभित्रको मात्र नभई समग्र नेपाली राजनीतिक संस्कारको अन्तर्यलाई नै नग्न रूपमा उजागर गरेको छ । यहाँ प्रश्न केवल केही अनुहारहरूको फेरबदल वा निर्वाचनको गणितीय परिणामको होइन, प्रश्न त दशकौंदेखि जरा गाडेर बसेको सत्तास्वार्थ, जीवनशैली, निर्णय प्रक्रिया र राजनीतिक प्रवृत्तिको पूर्णविसर्जन वा पुनर्संरचनाको हो । नेपाली राजनीतिको सबैभन्दा ठूलो विडम्बना भनेको नेतृत्वमा पुगेका पात्रहरूमा देखिएको कुर्सीप्रतिको अगाध, अस्वाभाविक र अन्धमोह हो । जबसम्म जीवनको अन्तिम सास र चिकित्सा विज्ञानको भाषामा ब्रह्मनालसम्म पुगेपछिमात्र कुर्सी छोड्ने विकृत मानसिकता जीवित रहन्छ, तबसम्म संस्थागत विकास, पुस्तान्तरण र विधिको शासनको कुरा गर्नु फगत पाखण्डबाहेक केही हुँदैन । चौरासी पूजा गर्ने उमेरमा पनि राष्ट्रपतिको वा पार्टी सभापति पदको कुर्सीमा टाँसिइरहने प्रवृत्तिले यो प्रष्ट पार्छ कि शेरबहादुर र रामचन्द्रहरूका लागि राजनीति समाजसेवा नभई व्यक्तिगत अहम् तुष्टि वा पारिवारिक आर्थिक समृद्धिको साधनमात्र हो । कांग्रेसभित्र शेरबहादुर देउवाबाट पदको सहज हस्तान्तरण नहुनु कुनै संयोग होइन, यो त्यही रुग्ण प्रवृत्तिको परिणति हो जहाँ विधानले रोक्दा पनि आफ्ना निकटस्थ वा परिवारका सदस्यलाई भविष्यमा सत्ता सुम्पिनका लागि वातावरण बनाइराख्ने कुत्सित दाउपेच खेलिन्छ । यस्तो प्रवृत्तिको निरन्तरताले पार्टीभित्र एउटा यस्तो भयावह वातावरण सिर्जना गरेको छ जहाँ नयाँ पुस्ताका सक्षम सहकर्मीले नेतृत्वमा पुग्नका लागि अग्रज नेताहरूको प्राकृतिक वा भौतिक विसर्जन अर्थात् मृत्यु नै कुर्नुपर्ने बाध्यात्मक अवस्था बनाइएको छ । यस संस्कारले राजनीतिलाई बन्धक मात्र बनाएको छैन बरु लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई नै खोक्रो बनाइदिएको छ । यस्तो दुष्चक्रलाई चिर्दै परिवर्तनको नेतृत्व गर्ने दाबी गर्ने नयाँ पुस्ता, विशेष गरी गगन थापालगायतका नेताहरूका सामु अहिले इतिहासले कडा अग्निपरीक्षा तेर्स्याएको छ । यदि बदल्ने कुरा गर्नेहरूले भाषणमा मात्रै क्रान्तिकारी कुरा गरेर व्यवहारमा पुराना शासकहरूको शैली पछ्याउँछन् भने जनताले उनीहरूमा र विगतका पात्रहरूमा कुनै भिन्नता महसुस गर्दैनन् । ओली शैलीका झुठा आश्वासन र दाहाल शैलीका रणनीतिक तिकडमबाट आजित भइसकेका नेपाली मतदाताहरूले अब गगन थापाबाट स्पष्ट प्रतिबद्धता खोजेका छन् । बदल्ने विषयको श्रीगणेश भाषणबाट होइन, आफ्नै कार्यकाललाई स्वेच्छाले निर्धारण गरिएको सीमाबाट हुनुपर्छ । तसर्थ, गगनले अहिले नै आफू एक कार्यकालभन्दा बढी सभापति वा सत्ताको पदमा नबस्ने र पुरानाले जस्तै कुर्सीमा नटाँसिने घोषणा दृढतापूर्वक गर्नैपर्दछ । आगामी दिनमा पनि यही कसीमा उभिनुपर्छ । म्याद सकिएपछि पनि बन्द कोठा वा चुनावको नाटक मञ्चन गरेर आफ्नै अनुहारमा कालो पोत्ने शेरबहादुर देउवाको शैलीबाट पाठ सिकेर नयाँ नेतृत्वले आफ्नो त्याग र निष्ठालाई शब्दमा होइन, कर्ममा प्रमाणित गर्नुपर्छ । हिजोका त्याग र योगदानलाई आजको पदलोलुपताले धमिल्याउने छुट कसैलाई छैन र यो कुनै लाञ्छना नभई समयक्रमले प्रमाणित गरेको अकाट्य यथार्थ हो । विगतमा शेरबहादुरलाई स्वेच्छाचारी हुन नरोक्नुमा गगन र विश्वप्रकाश पनि दोषी छन् । हालको महाधिवेशनले सभापति फेरेको छ । केही नयाँ पदाधिकारीहरू पनि निर्वाचनबाट आउलान् तर के यतिमात्रैले कांग्रेस पार्टी बदलियो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर आउँछ ? अनुहार फेरिएको कागजी परिवर्तन चाहिएको छैन, चरित्र, जीवनशैली, कार्यशैली, व्यवहार, आचरण र सुशासनको पूर्णप्रत्याभूति चाहिएको छ । गएको चितवन क्षेत्र नम्बर २ का मतदाता नेत्रलाल कँडेलजस्ता लाखौं साधारण मतदाता र पार्टीका क्रियाशील कार्यकर्ताहरूले कांग्रेस पार्टीको वैचारिक निष्ठाप्रति आस्था राख्दाराख्दै पनि पछिल्लो निर्वाचनमा घण्टी चिह्नमा भोट हाल्ने घोषणा गर्नु कुनै आवेगपूर्ण दुर्घटना होइन, यो गहिरो मनोवैज्ञानिक असन्तोषको विष्फोटक प्रकटीकरण हो । देशैभर पार्टीको सदस्यता नवीकरण नगर्ने, परिवारसहित कांग्रेसको छाता परित्याग गर्ने र मौनरूपमा अन्य विकल्प रोज्नेको संख्या बढिरहेको छ । इतिहासको गौरवशाली पानाहरूको ब्याज खाएरमात्र बाँच्ने अल्छी र पराश्रित राजनीतिको अन्त्य हुनुपर्छ । राणाविरोधी आन्दोलन र लोकतान्त्रिक संघर्षका गाथा कांग्रेसको इतिहासका अमूल्य निधि अवश्य हुन् तर ती पुराना इतिहासले आजको युवा पुस्ताको रोजगारी, सुशासन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सक्दैनन् । अब पार्टीलाई कसरी अगाडि बढाउने भन्ने प्रश्नको उत्तर खोज्दा यही जडता र वितृष्णाको निदान पहिलो सर्त बन्नुपर्छ । अब कसरी जाने र सुधारको मार्गचित्र के हुने भन्ने प्रश्नको उत्तर खोज्दा सबैभन्दा पहिले जिम्मेवार पदमा बस्नेहरूले आफ्नो आचरण र व्यवहारमा आमूल परिवर्तन आएको अनुभूति जनतालाई गराउन सक्नुपर्छ । एकोहोरो रूपमा ‘हामी बदलियौँ’ भन्दै भाषण गर्दै हिँड्नुको कुनै अर्थ छैन । जबसम्म जनताले व्यवहारमा त्यस परिवर्तनको गन्ध पनि पाउँदैनन् । शेरबहादुर देउवाद्वारा प्रयोग गरिएका कुशासन, भागबण्डा र राजनीतिक भ्रष्टाचारका हत्कण्डालाई नयाँ पुस्ताले निरन्तरता दियो भने जनताले किमार्थ विश्वास गर्दैनन् । गगन थापालगायतका नेतृत्वले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको कार्यशैलीलाई आत्मसात गर्नुपर्छ । धेरै बोल्ने तर काम शून्य गर्ने प्रवृत्ति छोडेर कम बोल्ने, कडा निर्णय गर्ने र परिणामले प्रमाणित गरेर देखाउने बाटो समात्नुपर्छ । पदलाई व्यक्तिगत अधिकार वा प्रतिष्ठाको विषय होइन, फगत कठिन जिम्मेवारी ठान्ने संस्कृतिको विकास गर्नु मुख्य कार्यभार हो । संगठनलाई पुनर्जीवन दिन विगतका त्रुटिहरूको कठोर आत्मसमीक्षा गर्दै नयाँ कार्ययोजना निर्माण गर्नुपर्छ । अधिवेशन नयाँ हुँदैमा स्वतः संस्कार बदलिँदैन, सोच, जवाफदेहिता लिने तरिका, निर्णय प्रक्रिया र संगठन सञ्चालनको समग्र ढाँचा बदल्नुपर्छ । चित्त दुःखेर पार्टी छोडेका लाखौं शुभेच्छुकलाई ‘फर्किएर आऊ, यो घर तिम्रो पनि हो’ भन्नसक्ने नैतिक बल र वातावरण सिर्जना गर्ने योजनाबिना कांग्रेसको पुनरुत्थान सम्भव छैन । कसैलाई जोड्दा आन्तरिक समीकरण बिग्रने डरले जडसूत्रवादी बनेर बस्ने छुट वर्तमान नेतृत्वलाई छैन । निर्वाचन जित्दा सबै कुरा प्राप्ति भयो र हार्दा सबै कुराको विसर्जन भयो भन्ने शून्य-योगको भ्रमबाट मुक्त भएर, हार्नेले जनताको मन अझै जित्न बाँकी छ भनेर थप क्रियाशील हुने र जित्नेले यसलाई जनताको पक्षमा कडा मिहिनेत गर्ने आदेशका रूपमा बुझ्नुपर्छ । इतिहासको गौरवशाली पानाहरूको ब्याज खाएरमात्र बाँच्ने अल्छी र पराश्रित राजनीतिको अन्त्य हुनुपर्छ । राणाविरोधी आन्दोलन र लोकतान्त्रिक संघर्षका गाथाहरू कांग्रेसको इतिहासका अमूल्य निधि अवश्य हुन् तर ती पुराना इतिहासले आजको युवा पुस्ताको रोजगारी, सुशासन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सक्दैनन् । तसर्थ, इतिहासको ब्याज खाने होइन, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका साथ नयाँ इतिहास रच्ने सामर्थ्य आजको नेतृत्वले देखाउनुपर्छ । श्यामकृष्ण खड्गीजस्ता पात्रहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न देखाएको आँटजस्तै प्रत्येक कार्यकर्ताले प्रवृत्तिको विरोध गर्ने साहस जुटाउनुपर्छ । कांग्रेसको यो १५औं महाधिवेशन होस् वा समग्र नेपाली राजनीतिको विरक्तलाग्दो परिदृश्य, एउटा कठोर सत्य प्रष्ट छ, अबको लडाइँ केवल अनुहार फेर्ने वा पद बाँडफाँटको होइन, प्रवृत्ति र आचरणको शुद्धीकरणको हो । जबसम्म ‘ब्रम्हनालसम्मको कुर्सी मोह’ र पदलाई आफ्नो व्यक्तिगत बिर्ता वा पारिवारिक खेलौंना ठानेर बस्ने सामन्ती मानसिकताको जरो उखेलिँदैन, तबसम्म कुनै पनि महाधिवेशन वा कागजी परिवर्तनले इतिहासको कलंक मेट्न सक्दैन । जनताले अब भाषणका खोक्रा आश्वासन र पुराना इतिहासका ब्याज खाने अल्छी राजनीति पटक्कै पत्याउनेवाला छैनन् । यदि नयाँ भनिने नेतृत्वले पनि पुरानै शैली, कुशासनका हत्कण्डा र कुर्सीको अन्धलिप्सालाई निरन्तरता दिन्छ भने, जनताले केवल पार्टीको सदस्यतामात्र होइन, यस्ता जडसूत्रवादी संस्थाहरूलाई नै सधैंका लागि इतिहासको फोहोरको डंगुरमा मिल्काउन बाध्य हुनेछन् । त्यागविहीन राजनीतिक संस्कृतिबाटै सुशासन, पारदर्शिता र वास्तविक जनउत्तरदायित्वमा आधारित नयाँ राजनीतिक युगको श्रीगणेश गर्नु आजको अपरिहार्य विकल्प हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


