यस्ता छन् यसपालि बडादशैँमा कलाकारका योजना

नेपाली मनमा वर्षकै सबैभन्दा ठूलो उत्सव बडादशैँको उल्लास छाउन थालेको छ । गाउँघरदेखि शहरबजारसम्म दशैँको रौनक फैलिएको छ । टाढिएका आफन्तसँग भेटघाटको उत्सुकताले वातावरणलाई उत्सवमय बनाएको छ । तर, यस वर्षको दशैँको उल्लासमा विगतका वर्षमा जस्तो निश्चिन्तता र उमंग भने देखिँदैन । चाडपर्वको मुखैमा आएको बाढीपहिरोले जनजीवन प्रभावित बनाएको छ । कतै सडक अवरुद्ध छन्, कतै यातायात सेवा प्रभावित छ भने कतै घरपरिवारले ठूलो क्षति बेहोर्नुपरेको छ । भोटेकोशीदेखि बुढीगण्डकी आसपासका क्षेत्रमा बाढीपहिरोले निम्त्याएको विपत्तिले थप पीडादायी बनाएको छ । यद्यपि, नेपाली समाजको विशेषता नै दुःख र विपत्तिका बीच पनि आशा जीवित राख्नु हो । संकटका बेला एकअर्कालाई साथ दिने, दुःख बाँड्ने र सम्भव भएसम्म खुसी साट्ने परम्पराले चाडपर्वलाई केवल उत्सवमा सीमित राख्दैन, सामाजिक एकता र मानवीय संवेदनाको प्रतीकसमेत बनाउँछ । त्यसैले यस वर्षको दशैँले विजय, आस्था र पारिवारिक मिलनको सन्देशसँगै विपद्मा परेकाप्रति सहानुभूति, सहयोग र सामूहिक जिम्मेवारीको महत्त्वलाई पनि स्मरण गराएको छ । नेपालीहरूको प्रमुख पर्व बडादशैँ २०८३ को रौनकसँगै कला क्षेत्र पनि उत्सवको तयारीमा जुटेको छ । वर्षभरि चलचित्र, संगीत, रंगमञ्च, टेलिभिजन तथा विभिन्न सांस्कृतिक गतिविधिमा व्यस्त रहने कलाकारहरूका लागि दशैँ व्यस्त दैनिकीबाट केही समय निकालेर आफू र आफ्ना परिवारका लागि छुट्याउने अवसर पनि हो । पर्दामा विभिन्न पात्रका रूपमा दर्शकलाई हँसाउने, रुवाउने र मनोरञ्जन दिने कलाकारहरूको निजी जीवनमा पनि दशैँको आफ्नै महत्त्व छ । कसैका लागि यो परिवारसँग बसेर मिठोमसिनो खाने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा बाल्यकालका सम्झना ताजा बनाउने समय हो । कसैका लागि भने दशैँका अवसरमा स्वदेश तथा विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रममार्फत् दर्शक-श्रोतासँग जोडिने मौका । यसपालि पनि कला क्षेत्रका व्यक्तित्वहरू आ-आफ्नै योजनामा छन् । केही कलाकार विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिका लागि तयारीमा जुटेका छन् । उनीहरू प्रवासमा रहेका नेपालीमाझ पुगेर गीत-संगीत र प्रस्तुतिमार्फत् दशैँको खुसी बाँड्ने योजनामा छन् । विदेशमा रहेका नेपालीका लागि यस्ता कार्यक्रम केवल मनोरञ्जनका माध्यममात्र होइनन्, देश, भाषा, संस्कृति र चाडपर्वसँग जोडिइरहने भावनात्मक अवसर पनि हुन् । त्यस्तै, कतिपय कलाकार भने व्यस्त व्यावसायिक जीवनबाट विश्राम लिँदै परिवार, आफन्त र नाताकुटुम्बसँग दशैँ मनाउने तयारीमा छन् । वर्षभरि सुटिङ, रेकर्डिङ, मञ्चीय कार्यक्रम र सार्वजनिक गतिविधिमा बितेको समयलाई बिर्सेर घरपरिवारसँग रमाउने उनीहरूको योजना छ । मान्यजनको हातबाट टीका ग्रहण गर्ने, आशीर्वाद लिने, बालबालिकासँग खुसी साट्ने र पारिवारिक भेटघाटमा सहभागी हुने अवसरलाई उनीहरूले प्राथमिकतामा राखेका छन् । कलाकारका लागि पनि दशैँ अन्ततः आफ्ना जरा, सम्बन्ध र पारिवारिक आत्मीयतासँग पुनः जोडिने पर्व हो । विपद्को पीडा, यात्रा कठिनाइ र अनिश्चितताका बीच पनि दशैँको प्रतीक्षा रोकिएको छैन । मौसम खुल्दै जाँदा शरद ऋतुका पर्वहरूले नेपाली मनलाई उत्सवको निम्तो दिइरहेका छन् । यही परिवेशमा कला क्षेत्रका व्यक्तित्वहरूले यसपालिको दशैँ कसरी मनाउँदै छन् ? आउनुहोस्, जानौँ कलाकारहरूको दशैँविशेष योजना, पारिवारिक तयारी र यस वर्षको उत्सवसँग जोडिएका उनीहरूका अनुभव । परिवारसँग समय बिताउने र नयाँ चलचित्रको कथा बुन्ने अवसर : कृष्ण मल्ल, वरिष्ठ कलाकारदशैँ सधैँझैँ यसपटक पनि परिवारसँग घरमै बसेर मनाउने योजना छ । लामो समयपछि साथीहरूसँग मिलेर चलचित्र निर्माण गर्ने सोच बनाएकाले दशैँको फुर्सदलाई परिवारसँग रमाइलो गर्दै चलचित्रको कथा बुन्न उपयोग गर्नेछु । दशैँको सबैभन्दा मनपर्ने पक्ष पारिवारिक पुनर्मिलन र सांस्कृतिक महत्त्व हो । देश-विदेशमा रहेका आफन्तहरू भेला भएर सुखदुःख साटासाट गर्नु र गाउँघरमा परम्परा तथा संस्कृतिको रौनक देख्न पाउनु विशेष लाग्छ । तर, ऋणपान गर्ने, अत्यधिक मदिरा सेवन गर्ने र जुवातास खेल्ने प्रवृत्ति गलत हो । त्यसैले आफ्नो आर्थिक क्षमताअनुसार संयमित भएर चाडपर्व मनाउनुपर्छ । हाम्रो घरमा पशुबलि दिने चलन छैन । मासुजन्य परिकारका लागि बजारबाट किनेर ल्याउने गर्छौं । दशैँका सम्झनाहरू सुरक्षित राख्न टीका लगाएका तस्वीरहरू संकलन गरेर राख्ने मेरो बानी छ । सबैलाई अनावश्यक तडकभडक र देखासिकीभन्दा आत्मीयता, सद्भाव र पारिवारिक खुसीलाई प्राथमिकता दिँदै सभ्य तथा सुसंस्कृत ढंगले दशैँ मनाउन आग्रह गर्दछु । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा बडादशैँको हार्दिक मंगलमय शुभकामना ! दशैँले प्रेम, सद्भाव, एकता र मानवीय संवेदनाको सन्देश दिन्छ : उत्तम केसी, अध्यक्ष, नेपाल चलचित्र कलाकार संघदशैँ हाम्रो धर्म, संस्कृति, संस्कार र मौलिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण पर्व हो । यसले परिवारलाई एकताबद्ध बनाउने, आपसी सद्भाव बढाउने र अग्रजबाट आशीर्वाद लिने अवसर प्रदान गर्छ । गत वर्ष अष्ट्रेलियामा दशैँ मनाएको थिएँ भने यस वर्ष नेपालमै मनाउँदै छु । हामी सबै दाजुभाइ, दिदीबहिनी र आफन्तहरू एकै ठाउँमा भेला भएर दशैँ मनाउँदै छौँ । नेपाल चलचित्र कलाकार संघले पनि दशैँका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कलाकारहरूबीच आत्मीयता, एकता र सहकार्यको भावना अभिवृद्धि गरेको छ । कलाकारिता मनोरञ्जनको माध्यममात्र नभई कला, संस्कृति र परम्पराको संरक्षण गर्ने महत्त्वपूर्ण क्षेत्र पनि हो । यद्यपि, बाढीपहिरोका कारण धेरैले जनधनको क्षति बेहोर्नुपरेको हुँदा यस वर्षको दशैँ विगतजस्तो उल्लासमय छैन । यस्तो अवस्थामा पीडित परिवारलाई सम्झँदै सम्भव भएसम्म सहयोग गर्न सबैलाई आग्रह गर्दछु । दशैँले प्रेम, सद्भाव, एकता र मानवीय संवेदनाको सन्देश दिन्छ । अन्त्यमा, सम्पूर्ण नेपाली, कलाकार, चलचित्रकर्मी तथा देशविदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित बडादशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विपत्तिमा परेका परिवारको जीवनमा पनि छिट्टै खुसी फर्कियोस् र हाम्रो संस्कृति, परम्परा तथा राष्ट्रिय एकता सधैँ अक्षुण्ण रहोस् । रीतिरिवाज, संस्कार र सांस्कृतिक परम्पराहरू हाम्रा पहिचान हुन् ः वसन्त वित्यासी थापा, अध्यक्ष, गीतकार संघदशैँमा म आफ्नो जन्मघर तनहुँ जाने गर्छु । बुबाआमा हुनुहुन्न, तर जन्मघर, गाउँ, त्यहाँका आफन्त र बाल्यकालका साथीभाइसँग जोडिएका सम्झनाहरूले मलाई हरेक दशैँमा गाउँतिर तानिरहेका हुन्छन् । दशैँ भनेको मेरा लागि चाडपर्व मनाउने अवसरमात्र होइन, आफ्नो माटोसँग जोडिने, पुराना सम्झनाहरू ताजा बनाउने र आत्मीय सम्बन्धहरूलाई नवीकरण गर्ने समय पनि हो । लामो समयपछि भेटिएका साथीभाइसँग पुराना दिन सम्झिँदै सुखदुःखका कुरा गर्नु, गाउँघरको वातावरणमा रमाउनु र आफ्नै परिवेशमा समय बिताउनुको आनन्द बेग्लै हुन्छ । यस्ता भेटघाट र अनुभवले मलाई मानसिक रूपमा ताजगी दिनुका साथै सिर्जनाका लागि पनि प्रेरित गर्छन् । गाउँको परिवेश, मानिसका भोगाइ, सम्बन्ध र समाजका विविध पक्षलाई नजिकबाट नियाल्ने गर्छु । यिनै अनुभूति र अनुभवहरू मेरा सिर्जनाका आधार पनि बन्ने गरेका छन् । हाम्रा पुर्खाले पुस्तौँदेखि जोगाउँदै ल्याएका रीतिरिवाज, संस्कार र सांस्कृतिक परम्पराहरू हाम्रा पहिचान हुन् । हामीले आफूले सिकेका राम्रा परम्परा र संस्कारलाई व्यवहारमा उतार्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । दशैँजस्ता चाडपर्वले यही अवसर प्रदान गर्छन् । परिवार र आफन्तबीचको सम्बन्ध, ठूलाप्रतिको सम्मान, सानाप्रतिको माया, आपसी सहयोग र सद्भावजस्ता मूल्यलाई नयाँ पुस्ताले अनुभूत गर्न पाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । दशैँमा म सांगीतिक सिर्जनामै रमाउँछु : राजु सिंह, वरिष्ठ संगीतकारदशैँ हरेक वर्ष बदलिँदै गएको महसुस हुन्छ । पहिले दशैँको आगमनसँगै गाउँघरमा चंगा उडाउने, पिङ खेल्ने र साथीभाइसँग रमाइलो गर्ने छुट्टै रौनक हुन्थ्यो । तर, पछिल्लो समय यी परम्परागत गतिविधि क्रमशः घट्दै गएका छन् । दशैँ आउँछ, जान्छ, तर चाडपर्वलाई कसरी अर्थपूर्ण र रमाइलो बनाउने भन्ने विषयमा हामीले सोच्नुपर्ने बेला आएको छ । दशैँ खानपान, नयाँ लत्ताकपडा र पारिवारिक जमघटमा मात्र सीमित हुनुहुँदैन । आफन्तजनसँग भेटघाट गर्ने, आपसी आत्मीयता साटासाट गर्ने र खुसी बाँड्ने अवसर पनि हो यो । चाडपर्वमा मनोरञ्जनको पनि उत्तिकै महत्त्व हुन्छ । पहिले केटाकेटी र युवाका लागि दशैँको मुख्य आकर्षण नै चंगा उडाउनु र पिङ खेल्नु हुन्थ्यो । आकाशभरि रंगीबिरंगी चंगा देखिन्थे भने गाउँघरमा पिङको छुट्टै रौनक हुन्थ्यो । तर, अहिले आकाशमा चंगा उडेको दृश्यसमेत विरलै देख्न पाइन्छ । चंगा नउडाउन र पिङ नखेल्न कसैले उर्दी जारी गरेजस्तो लाग्छ । समयसँगै जीवनशैली र मनोरञ्जनका माध्यम बदलिनु स्वाभाविक हो । तर, हाम्रा मौलिक संस्कृति र परम्परासँग जोडिएका गतिविधि हराउँदै जानु भने चिन्ताको विषय हो । नयाँ पुस्तालाई पनि यस्ता परम्परासँग जोड्न सके दशैँको मौलिकता र सांस्कृतिक महत्त्व जोगाउन सकिन्छ । मेरो हकमा भने हरेक वर्षजस्तै यसपटकको दशैँ पनि सांगीतिक सिर्जनामै रमाएर बिताउने सोच छ । संगीत मेरो कर्ममात्र होइन, आत्मसन्तुष्टि प्राप्त गर्ने माध्यम पनि हो । त्यसैले दशैँको फुर्सदिलो समयलाई सांगीतिक सिर्जनामा उपयोग गर्न मलाई मन पर्छ । यससँगै दशैँले टाढिएका आफन्तजनसँग भेटघाट गर्ने, परिवारसँग समय बिताउने र आत्मीयता साटासाट गर्ने अवसर पनि प्रदान गर्छ । मेरा लागि दशैँको खुसी यही पारिवारिक आत्मीयता र सांगीतिक सिर्जनाको संगममा छ । तडकभडक र देखासिकीभन्दा आपसी सद्भावमा रमाउन मन लाग्छ : आरपी पन्त, वरिष्ठ कलाकारमलाई चाडपर्व तथा विशेष अवसरमा तडकभडक र देखासिकीभन्दा आपसी सद्भाव, खुसी र आत्मीयतासहित रमाउन मनपर्छ । सबैजना मिलेर शुभकामना आदानप्रदान गर्ने, उपलब्ध कुरामै सन्तुष्ट हुँदै रमाउने र देशभित्रका रमणीय स्थलहरूमा घुमफिर गर्ने कुरालाई मैले प्राथमिकता दिँदै आएको छु । यो पटकको बडादशैँमा मेरो कुनै खास योजना छैन । मलाई काटमार मन पर्दैन, तडकभडक र देखासिकी पनि मन पर्दैन । तर, यसपटकको परिस्थिति भने केही फरक रहेको छ । प्राकृतिक प्रकोपका कारण मलाई पहिलेझैँ खुसीसाथ रमाउन मन लागेको छैन । विपत्तिले देशवासीलाई प्रभावित बनाइरहेका बेला व्यक्तिगत खुसीभन्दा पनि सबै नेपालीको सुरक्षा र देशको समृद्धि प्राथमिकतामा हुनुपर्छ भन्ने लाग्छ । सामाजिक सद्भाव, आपसी आत्मीयता र उपलब्ध कुरामै रमाउनुपर्छ । चाडपर्व तथा विशेष अवसरलाई भड्किलो बनाउनुभन्दा सबै मिलेर खुसी साटासाट गर्नुपर्छ । साथै, विपत्तिको समयमा एकअर्काप्रति संवेदनशील हुँदै देश र देशवासीको हितका लागि कामना गर्न सबैमा आग्रह गर्दछु । साथीभाइसँग भेटघाट, बुबाआमाको हातबाट टीका र दुर्गा भवानीको आशीर्वाद : सीताराम पोखरेल, वरिष्ठ गायकयसपालिको दशैँ मनाउन म विराटनगर जाँदै छु । दशैँ भनेकै परिवारसँग भेटघाट गर्ने, बुबाआमाको हातबाट टीका लगाउने, उहाँहरूको आशीर्वाद लिने र आफन्त तथा साथीभाइसँग खुसी साटासाट गर्ने विशेष अवसर हो । वर्षभरि आ-आफ्नो काम र व्यस्ततामा बित्ने भएकाले दशैँले परिवारसँग नजिक हुने, पुराना सम्बन्धलाई नवीकरण गर्ने र आत्मीयता साट्ने अवसर प्रदान गर्छ । त्यसैले मेरा लागि दशैँ केवल चाडपर्वमात्र होइन, परिवार, संस्कार, संस्कृति र सम्बन्धसँग जोडिएको भावनात्मक पर्व पनि हो । विराटनगर पुगेपछि बुबाआमाको हातबाट टीका लगाएर आशीर्वाद लिन्छु । त्यसपछि काली मन्दिर गएर पूजा गर्ने र माता दुर्गासँग सुख, शान्ति, समृद्धि तथा सबैको कल्याणको कामना गर्ने योजना छ । विशेषगरी नेपाली गीत-संगीतको क्षेत्र अझ समृद्ध र उन्नत बनोस्, नेपाली कला, संस्कृति र मौलिकताको संरक्षण तथा प्रवर्द्धन हुँदै जाओस् भन्ने कामना गर्छु । नेपाली गीत-संगीतमा लागेका सबै कलाकारले राम्रो काम गर्ने अवसर पाऊन् र नेपाली संगीतले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि अझ राम्रो पहिचान बनाउन सकोस् भन्ने मेरो चाहना छ । सबै नेपालीको घरमा सुख, शान्ति र समृद्धि छाओस्, आपसी सद्भाव कायम रहोस् र नेपाली गीत-संगीत तथा कला-संस्कृतिको निरन्तर उन्नति होस् भन्ने कामना गर्दछु । मौलिकता, सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिनुपर्छ : सन्तोष श्रेष्ठ, कीर्तिमानी संगीतकारयसपालि दशैँ मनाउन म आफ्नो जन्मघर दाङ गइनँ । वास्तवमा यस वर्ष म दशैँ मनाइरहेको पनि छैन । यद्यपि साथीभाइसँगको भेटघाट र आत्मीयतापूर्ण जमघट भने भइरहेकै छन् । दशैँ हाम्रो आफ्नै मौलिकता, संस्कृति र परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्व हो । यसले परिवारका सदस्यलाई एकै ठाउँमा ल्याउने, टाढिएका आफन्तलाई नजिक बनाउने र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने काम गर्छ । दशैँका बेला हुने सांगीतिक कार्यक्रम, सांस्कृतिक उत्सव र रमाइला जमघटले पनि यस पर्वको रौनकतालाई अझ बढाउँछन् । तर, पछिल्लो समय दशैँ मनाउने शैलीमा केही परिवर्तन आएको महसुस हुन्छ । पर्वको मौलिकता, पारिवारिक आत्मीयता र सांस्कृतिक महत्त्वभन्दा देखासिकी, अनावश्यक खर्च र भड्किलोपनले बढी प्राथमिकता पाउन थालेको देखिन्छ । कतिपय अवस्थामा जुवा खेल्ने, अत्यधिक मदिरा सेवन गर्ने र अनावश्यक प्रतिस्पर्धामा रमाउने प्रवृत्तिले पनि प्रश्रय पाएको छ । यसले दशैँको वास्तविक मर्मलाई कमजोर बनाउँदै लगेको हो कि भन्ने लाग्छ । हामीले पर्व मनाउँदा यसको मौलिकता, सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिनुपर्छ । अर्कोतर्फ, प्राकृतिक प्रकोपले पनि यस वर्षको दशैँलाई प्रभावित पारेको छ । यस्तो अवस्थामा विगतका वर्षमा जस्तो उल्लास र उमंग सबैमा देखिन सकेको छैन । दशैँको उल्लास पहिलेभन्दा कम हुँदै गएको महसुस हुन्छ : सुब्रत आचार्य, निर्देशकयसपटकको दशैँमा पहिलेको तुलनामा उल्लास केही कम भएको महसुस भइरहेको छ । मैले कहिल्यै पनि योजना बनाएर चाडपर्व मनाउने गरेको छैन । किनभने, योजना बनाएर अघि बढ्दा सोचेअनुसारको वातावरण मिलेन भने खुसीभन्दा खिन्नता बढी हुने रहेछ । मेरा लागि दशैँको सबैभन्दा मनपर्ने पक्ष भनेकै लामो बिदा हो । परिवारका सदस्यहरूसँग बसेर खानपिन गर्ने, रमाइलो गर्ने र एकअर्कासँग समय बिताउने अवसर दशैँले दिन्छ । दशैँमा मन नपर्ने पक्ष पनि छन् । हरेक वर्ष दशैँ आउनासाथ पशु अधिकारका विषयमा बहस सुरु हुन्छ । मासु खाने र नखानेबीच विभिन्न तर्कवितर्क चल्छन् । यस विषयलाई लिएर अनावश्यक विवाद गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन । दशैँसँग जोडिएका बाल्यकालका सम्झनाहरू भने अझै ताजा छन् । सानो हुँदा चंगा उडाउँदै गाउँटोल डुल्ने, लिंगे पिङमा मच्चिने र साथीभाइसँग रमाइलो गर्ने क्षणहरू निकै प्रिय लाग्छन् । मलाई लाग्छ, दशैँको वास्तविक रमाइलो भनेको ठूलो योजना बनाउनु वा धेरै खर्च गर्नु होइन । परिवार र आफन्तसँग आत्मीयता साट्नु, पुराना सम्झनाहरू ताजा बनाउनु र सँगै बसेर खुसी बाँड्नु हो । श्रद्धा र भक्तिभावपूर्वक पर्व मनाऔँ : सरिता राजोपाध्याय, कलाकारमाता दुर्गाको आराधना गरेर यो पर्व मनाउँदै छु । दशैँ केवल रमाइलो गर्ने, नयाँ लुगा लगाउने र भेटघाटमा सीमित पर्व होइन, यो आस्था, विश्वास र शक्तिस्वरूपा माता दुर्गाको उपासनासँग जोडिएको विशेष अवसर पनि हो । देवीप्रतिको श्रद्धा र भक्तिभावपूर्वक म यो पर्व मनाउने योजनामा छु । कलाकारिता क्षेत्रमा सक्रिय रहँदा सुटिङ तथा अन्य व्यावसायिक कामका कारण प्रायः व्यस्त हुनुपर्ने भएकाले परिवारलाई पर्याप्त समय दिन पाइँदैन । वर्षभरि कामको सिलसिलामा दौडधुप गरिरहनुपर्ने भएकाले दशैँजस्ता चाडपर्व परिवारसँग नजिकिने, सुखदुःख साटासाट गर्ने र आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने अवसर पनि हुन् । दशैँ मनाउने शैली हरेक परिवारको परिस्थिति र आस्थाअनुसार फरक हुन सक्छ । चाडपर्वको वास्तविक अर्थ तडकभडक, भोजभतेर वा बाहिरी देखावटीपनमा मात्र सीमित नभई मनको शान्ति, पारिवारिक आत्मीयता र आध्यात्मिक विश्वास हो । त्यसैले यस वर्षको दशैँमा सात्विक भोजन ग्रहण गर्दै माता दुर्गाको आराधना गर्न र मनलाई शान्त राख्न आग्रह गर्दछु । सात्विक भोजन गरेर दशैँ मनाऔँ भन्न चाहन्छु । पारिवारिक भेटघाट र केही सांगीतिक प्रस्तुति : सारिका घिमिरे, गायिकाअन्य वर्षको तुलनामा यस वर्षको दशैँ केही फरक र भावनात्मक बनेको छ । देशका विभिन्न स्थानमा पछिल्लो समय आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । यद्यपि, हाम्रा चाडपर्व केवल रमाइलो गर्ने माध्यममात्र होइनन्, यी हाम्रो संस्कृति, परम्परा र पारिवारिक सम्बन्धलाई जीवन्त राख्ने महत्त्वपूर्ण आधार पनि हुन् । जस्तोसुकै परिस्थिति आए पनि आफ्नो संस्कार र परम्परालाई निरन्तरता दिनु हाम्रो दायित्व हो । त्यसैले परिस्थितिलाई आत्मसात् गर्दै यस वर्ष पनि दशैँ मनाउने तयारीमा छु । म यो दशैँमा आफ्नो घरपरिवारसँगै ललितपुरमा रहेर बुबाआमाको हातबाट टीका लगाउने, उहाँहरूको आशीर्वाद लिने र परिवारका सदस्यसँग समय बिताउनेछु । मेरा लागि दशैँको सबैभन्दा ठूलो खुसी भनेकै बुबाआमाको हातको टीका, उहाँहरूको आशीर्वाद र परिवारसँगको आत्मीयता हो । कलाकारका रूपमा दशैँको समयमा केही सांगीतिक प्रस्तुतिहरूमा पनि सहभागी हुँदैछु । गीतसंगीतमार्फत् दर्शक तथा श्रोतासँग जोडिने अवसरलाई मैले सधैँ विशेष रूपमा लिने गरेकी छु । पारिवारिक मिलनसँगै सिर्जना : दीपक शर्मा, संगीतकारदशैँ मेरा लागि परिवार, आफन्त र प्रियजनसँग भेटघाट गर्ने विशेष अवसर हो । यसपटक चलचित्र ‘छ माया छपक्कै-२’ को गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक भइसकेको छ भने अन्य केही गीत पनि सार्वजनिक हुने क्रममा छन् । त्यसैले परिवारसँग समय बिताउँदै आफ्ना सिर्जनाको प्रचार–प्रसारमा पनि ध्यान दिने योजना छ । दशैँ मन पर्नुको मुख्य कारण हाम्रो संस्कार, संस्कृति र पारिवारिक आत्मीयता हो । वर्षभरि व्यस्त रहने आफन्तसँग भेटघाट गर्ने, दुःख-सुख साटासाट गर्ने अवसर दशैँले दिन्छ । तर, दुर्गा माताको नाममा पशुबली दिने परम्परालाई विस्तारै हटाउँदै हिंसारहित रूपमा पर्व मनाउन सके अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ । दशैँसँग जोडिएको बाल्यकालको एउटा सम्झना अझै ताजा छ । करिब १० वर्षको हुँदा दशैँमा मामाघर जानुपर्ने थियो, तर मसँग चप्पल थिएन । मामाको पसलमा पुगेर चप्पल मागेँ र केही दिनमा पैसा दिने बताएँ । त्यसपछि मामाले मुस्कुराउँदै भन्नुभयो, ‘ल, ठीक छ । यो चप्पल मेरो दशैँको दक्षिणा भयो ।’ मामाको त्यो मायाले मलाई निकै खुसी बनाएको थियो । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा बडादशैँको हार्दिक मंगलमय शुभकामना !
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित
विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। ...

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...


