नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडाैं । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरीपूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला... ...

बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ... ...

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन
चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ... ...

विद्रोह तर बेग्लै (कथा)
त्यो खबर थाहा पाएको क्षण ममाथि मानौँ सगरमाथा नै खसेको थियो । कसरी गर्न सक्छन्, उनले यस्तो काम । मैले पत्याउन पनि सकेकी थिइनँ तर खबर ल्याउने मान्छे असत्य थिएन । उनको कुरा प्रमाणिक थ... ...


