राजदूत नियुक्ति : विवादरहीत हुनु आवश्यक

राजदूतावास रहेको वा दौत्य सम्बन्ध रहेको देशसँग औचित्यका आधारमा राजदूतहरूको नियुक्ति स्वाभाविक हुन्छ । नेपालको इतिहासमा करिब दुई सय वर्षअगिदेखि यस्तो अभ्यास चलिरहेको छ । ब्रिटिश इण्डिया सरकारसँगको सुगौली सन्धिले रानयिक सम्बन्धलाई आरम्भ गरे पनि पचासी वर्षदेखि यो क्रम फराक भएर आएको छ । कुनै पनि दुई देशबीचको सम्बन्ध सुमधुर राख्नका लागि राष्ट्रकातर्फबाट ती देशहरूमा आफ्ना दूतहरू खटाउने गरिन्छ । त्यसरी खटाइएका दूतहरू नै राजदूत हुन् । यो प्राचीनकालदेखिकै परम्परा हो । नेपालले पनि दौत्यसम्बन्ध स्थापित भएका केही देशहरूमा दूतावास खोलेर राजदूतहरू नियुक्ति गर्दै आएको छ । सम्बन्ध स्थापित भएका सबै देशसँग दूतावास सञ्चालन गर्न सम्भव छैन । यसो गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्न जान्छ । त्यसैले केही देशहरूमा मात्र यस्ता दूतावासहरू खोल्ने गरिन्छ । कुनै राष्ट्रलाई केन्द्र बनाएर त्यहाँ दूतावास खोलेर त्यस दूतावासलाई वा त्यहाँ नियुक्ति गरिएका राजदूतलाई वरिपरिका अन्य छिमेकी देशहरूको समेत सम्बन्ध सुमधुर पार्ने जिम्मेवारी तोकिएको हुन्छ । अरू देशहरूले पनि यसै गर्ने गर्छन् । कतिपय पश्चिमा देशहरूले भारतमा राजदूतावास खोलेर नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकालगायतका देशहरूको समेत जिम्मेवारी सुम्पिएका हुन्छन् । हाम्रो देशले पनि यसै गर्ने गर्छ । मुख्यमुख्य युरोपियन मुलुक र अमेरिकालगायत देशहरूमा हाम्रो देशले आफ्ना दूतावासहरू सञ्चालन गर्दै आएको छ । छिमेकी देश भारत तथा चीनमा पनि हाम्रा दूतावास छन् । तिनै दूतावासको माध्यमबाट ती देशहरूसँगको सम्बन्ध प्रगाढ बनाइन्छ । त्यतिमात्र होइन चीन र भारतमा त हाम्रो देशका राजनीतिक राजदूतहरूमात्र होइन महावाणिज्य दूतहरूसमेत पठाउने गरिन्छ । यसका माध्यमबाट वित्तीय सम्बन्धलाई सुमधुर बनाइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकार गठन भएपछि यस सरकारले पुरानो नियुक्तिलाई प्रत्याह्वान गरी, विभिन्न मुलुकमा नयाँ राजदूत नियुक्ति गर्ने सिफारिश गरेको छ । यसरी सिफारिश गरिएका १३ देशका राजदूतहरूको नाम सरकारले सार्वजनिक गरेपछि तिनका विरुद्धमा उजुरी गर्ने समय तोकेर सार्वजनिक सुनवाइको मौका निर्धारण गरिएको छ । हालैमात्र न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि चारजना न्यायाधीशहरूको नाम पनि सिफारिश गरेको छ । उहाँहरूको विरुद्धमा पनि उजुरी आह्वान गरिएको छ । प्रजातान्त्रिक प्रक्रियालाई व्यवस्थित र विश्वसनीय बनाउन यसरी सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिश गरिएका व्यक्तिहरूका विरुद्धमा संसदीय सुनवाइ गर्ने परम्परा अन्यत्र पुरानो भए पनि नेपालमा धेरै भएको छैन । त्यसरी सिफारिशमा परेका व्यक्तिहरू नैतिक पतन हुने खालका शारीरिक आक्षेप र आर्थिक अपचलन अथवा भ्रष्टाचारका घटनामा संलग्न भएको आधार र प्रमाण भए त्यस्ता व्यक्तिहरूलाई सिफारिशपछि पनि ती पदहरूमा नियुक्ति गरिँदैन । जसअनुसार हालै १३ देशका लागि सिफारिश भएका राजदूतहरूमध्ये दुईजनासँग सरकारले ती देशहरूसँगको सम्बन्ध सुमधुर बनाउने आधार र परिमाणमुखी बनाउने योजनाहरूको माग गरेको थियो । जसअनुसार दुईजना राजदूतहरूले आ–आफ्ना योजनाहरू प्रस्तुत गर्नुभएको छ । छिमेकी मुलुक भारतका लागि राजदूतमा सिफारिश हुनुभएका डा.निश्चलनाथ पाण्डेले नेपाल-भारतबीचको परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने आफ्नो योजना रहेको जानकारी गराउनुभएको छ । उहाँले सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने सरकारको लक्ष्य अनुसार आफूले काम गर्ने पनि बताउनुभएको छ । यसका साथै प्रधानमन्त्री बालेन शाहले भारतको भ्रमण गर्न लाग्नुभएको सन्दर्भमा त्यसलाई व्यवस्थित गर्न आफूले तयारी गर्ने पनि उहाँले बताउनुभएको छ । यसैगरी उत्तरी छिमेकी देश चीनका लागि राजदूत सिफारिश हुनुभएका डा.कल्याणराज शर्माले राजनीतिक विश्वास कायम राखेर व्यावहारिक लाभ दिलाउनु आफ्नो उद्देश्य रहेको बताउनुभएको छ । उहाँले प्राथमिकता रहेमा रहेका रसुवागढी पुल, स्याप्रुबेंशी रसुवागढी सडक, अरनिको राजमार्ग, काठमाडौं-चक्रपथ, केरुङ-रसुवागढी चिलिमे प्रसारण लाइन, किमाथाङ्का सडक आदि योजनामा विशेष ध्यान दिने बताउनुभएको छ । उहाँहरूका योजना राष्ट्रको हित अनुकूलका छन् । राष्ट्रिको विकास प्रवर्द्धन गर्नु विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध स्थापितको एउटा आधार बन्दै आएको छ । कुनै पनि योजना आफैंमा नराम्रा हुँदैनन् तर तिनलाई व्यवस्थित र कार्यान्वयन गर्न दृढतापूर्वक लाग्नसक्ने सामर्थ्य पनि हुनुपर्छ । उहाँहरूले प्रतिबद्धताका साथ व्यक्त गरेका उदाहरण भोलिका दिनमा कतिको सफल पार्न सक्नुहुन्छ त्योपछि देखिने कुरा हो । विद्यावारिधि गर्नुभएका उहाँहरू दुवैजनाबाट दृढता अनुसारका काम हुन सक्लान् भन्ने अपेक्षा अहिलेको सन्दर्भ हो । तर, प्रजातन्त्र आएयता केही योग्य, दक्ष, निष्पक्ष र राष्ट्रका लागि अनिवार्य जस्ता भए पनि अरूका हकमा यो सिद्धान्त लागू भएको देखिएको थिएन । सत्तासीनहरूले आफ्नो निकटको मान्छे भनेर राजदूतमा नियुक्ति गरेका व्यक्तिहरू कार्यक्षमताको अभाव भएका, राजनीतिक र चारित्रिक रूपमा बद्नाम भएका व्यक्तिहरू पनि हुनुहुन्थ्यो । अहिले सिफारिश भएका व्यक्तिहरू त्यस्ता छैनन् भन्ने कुरामा विश्वास गरौं तर यति हुँदाहुँदै पनि जापान र साउदी अरबका लागि सिफारिश हुनुभएका दुईजना व्यक्तिमाथि राजदूत हुनका लागि आवश्यक योग्यता नभएको र उहाँहरूलाई राजदूत पदमा नियुक्ति गर्नु हुँदैन भन्ने उजुरी परेका छन् । त्यसरी सिफारिश हुनुभएका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध उहाँको जापानमा स्थायी बसोवासको आवश्यक अनुमतिपत्र (पिआर) भएको र निजी निवास भएको आरोप लागेको छ । जापानमै पिआर भएको र त्यहाँ निजी आवाससमेत भएको व्यक्तिलाई सोही देशको राजदूत बनाउनु उपयुक्त नहुने उजुरीकर्ताको धारणा रहेको छ । अर्कातिर साउदी अरेबियाका निम्ति प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध पनि यस्तै आरोप लागेको छ । उहाँलाई जर्मनीबाट डिपोट गरिएको व्यक्तिका रूपमा चिनाइएको छ भने एक महिलासँग विवाहेत्तर निरन्तर सम्बन्ध रहेको र निजले ती महिलालाई यातनासमेत दिएको कुरा उजुरीमा जनाइएको छ । अर्को देशसँगको सम्बन्ध स्थापित गर्ने मामिला भएको हुँदा त्यसरी राजदूतमा सिफारिश गरिएका व्यक्तिहरू असल चरित्रका हुनुपर्छ भन्नेमा विवाद हुँदैन । असल व्यक्तिहरूबाट देशको मानमर्दन हुँदैन । देशको शिर ठाडो पार्ने र गौरव गर्न सकिने व्यक्तिहरूलाई मात्र नियुक्ति दिनुपर्छ । पञ्चायतकालको अन्त्यतिर अमेरिकास्थित नेपाली राजदूतले त्यहाँको पुस्तक पसलबाट पुस्तक चोरेको भन्ने आरोपले गर्दा पञ्चायती व्यवस्थालाई धराशायी बनाउन त्यही विषय एउटा मसला बनेको थियो । यहाँबाट सिफारिश भएर जाने राजदूतहरूले त्यस्तो देशकै बद्नाम हुने काम नगरून् र असल चरित्र भएका मानिसमात्र राजदूतमा नियुक्त होऊन् । यसतर्फ सरकार सचेत बन्नुपर्छ र आवश्यक योग्यता, क्षमता र नैतिक चरित्रको परीक्षण गरेरमात्र नियुक्ति दिनु आवश्यक हुन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित
विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। ...

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...


