Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आस्था र उल्लासको अनुपम उत्सव

आस्था र उल्लासको अनुपम उत्सव

Share:WhatsAppFacebookX (Twitter)Telegram
आस्था र उल्लासको अनुपम उत्सव

नेपालीहरूको महान् पर्व बडादशैँ केवल एउटा पर्व होइन, यो असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयगाथा हो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइने दशैँको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्व छ । यद्यपि, यस पर्वका प्रारम्भिक नौ दिनलाई नवरात्रि र दशौँ दिनलाई विजयादशमी अर्थात् दशैँका रूपमा विशेष महत्त्वका साथ मनाइन्छ । पौराणिक मान्यताअनुसार, यही पावन तिथिमा आदिशक्ति माता दुर्गाले महिषासुर नामक दैत्यको संहार गरी दानवीय शक्तिमाथि दैवी शक्तिको विजय स्थापित गरेकी थिइन् भने भगवान् श्रीरामचन्द्रले रावणको वध गरी अधर्मको अन्त्य र धर्मको पुनःस्थापना गरेका थिए । यी विजयगाथाले मानवजातिलाई सत्य, साहस, धर्म र न्यायको मार्गमा अविचलित रहन प्रेरणा दिन्छन् । घटस्थापनामा जमरा राखेर सुरु हुने बडादशैँका प्रत्येक तिथिको आफ्नै धार्मिक गरिमा र सांस्कृतिक महिमा छ । सप्तमी अर्थात् फूलपातीमा नवदुर्गाको आराधनासहित शुभशक्तिको आह्वान गरिन्छ भने महाअष्टमी अर्थात् कालरात्रिमा शक्तिस्वरूपा देवीको विशेष पूजा–आराधना हुन्छ । महानवमीमा देवीका विभिन्न स्वरूपको उपासना गर्दै विजयको कामना गरिन्छ । त्यसपछि आउने विजयादशमी आशिष्, आस्था, आत्मीयता र विजयको प्रतीक बनेर आउँछ, जहाँ निधारमा रातो टीका, शिरमा पहेँलो जमरा र अग्रजका हातबाट प्राप्त आशीर्वादले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछन् । अन्ततः कोजाग्रत पूर्णिमासँगै दशैँको धार्मिक अनुष्ठानले पूर्णता पाउँछ । नवरात्रिको शक्तिसाधनादेखि विजयादशमीको विजयोल्लास र कोजाग्रत पूर्णिमाको शरद् सौन्दर्यसम्म फैलिएको दशैँ आस्था र उल्लासको अनुपम संगम हो । यो पर्वले केवल देवीदेवताको विजय स्मरण गराउँदैन, बरु हरेक मानिसभित्र विद्यमान लोभ, मोह, अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक, सद्भाव, करुणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ । दशैँ नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर, पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ । यसरी नवरात्रिको शक्तिसाधनादेखि विजयादशमीको विजयोल्लास र कोजाग्रत पूर्णिमाको शरद् सौन्दर्यसम्म फैलिएको दशैँ आस्था र उल्लासको अनुपम संगम हो । यो पर्वले केवल देवीदेवताको विजय स्मरण गराउँदैन, बरु हरेक मानिसभित्र विद्यमान लोभ, मोह, अहंकार र अन्यायजस्ता आसुरी प्रवृत्तिमाथि विवेक, सद्भाव, करुणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ । यही कारण दशैँ नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर, पारिवारिक पुनर्मिलनको उत्सव र नयाँ आशा, उमंग तथा शुभारम्भको प्रतीक बनेको छ । घटस्थापनाआश्विन शुक्लपक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैँघर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मर्वैवत पुराणअनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी-उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका-जल, थल र आकाश । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नामहरूले देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृतिअनुसार घट कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमंगलका शुभ चिह्नहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम् नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजाको थालनी गरिएको हो । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरु, घण्टी आदि बजाई दुर्गासप्तशती (चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । प्रमुख पूजा र उत्सवसातौँ दिनलाई फूलपाती, आठौँ दिनलाई महाअष्टमी, नवौँ दिनलाई महानवमी एवं दशौँ दिनलाई विजयादशमी भनिन्छ र यी दिनहरूको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैँका लागि पूजासामग्रीस्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ । यस दिन काठमाडौंको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौ वटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कातिर्की देवीलाई एक-एक गरी आह्वान गरेर १६ सामग्रीले पूजिन्छ । अर्को यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यसदिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यसदिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै, यसैदिन गोरखा दरबारको दशैँघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ । महाअष्टमीनवरात्रिको आठौँ दिनमा महाकाली (भद्रकाली)को विशेष पूजाआजा गरिन्छ । देवीभागवत्अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनि-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । साकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्दछन् । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणका लागि खुल्ला रहन्छ । यसैदिन दशैँघर (हनुमानढोका) को मूलचोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् । महानवमीनवरात्रिको नवौँ दिन विशेषगरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसैदिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेषगरी दुई वर्षदेखि १० वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । विजयादशमीनवरात्रिको दशौँ दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भनिन्छ । दशमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दशमी मान्य हुन्छ, एकादशीसहितको दशमी मान्य हुँदैन भनिएको छ । मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौँ मुहूर्त मानेका छन् । कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसंग उल्लेख गरेका छन् । तर, विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ । यस दिनमा भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । १६ सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र १६ सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छकँर्दै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।’ अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैँका लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन् ।टीका लगाउँदा दिने आशीषः-आयु द्रोण सुते, श्रीयं दशरथेशत्रुक्षयं राघवे, एश्वर्य नहुषेगतिश्च पवने, मानं च दुर्योधनेसौर्यं सान्तनवे, वलं हलधरेसत्यंच कुन्तीसुत, विज्ञानं विदुरेभवन्तु भावतां कीर्तीश्व नारायणे ।(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो शान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।)दशैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरूप बन्नु भन्ने कामना गर्दै आर्शीवाद दिने चलन छ-जयन्ती मंगलाकालीभद्रकाली कपालिनीदुर्गा क्षमा शिवरात्रिस्वाहा स्वधा नमोस्तुते ।(संसारलाई नै जित्न सक्ने सामर्थ्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी, जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।) टीका लगाउने र आशीर्वाद लिने काम कहीँ पूर्णिमासम्म भएको पाइन्छ भने कहीँ दशमीको दिनमा मात्र । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा-गाजा या वैद्विक मन्त्र पढी जलाशयमा लगी विसर्जन गरिन्छ । बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजेयस वर्ष विजयादशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्ने छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिको भनाइ छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने बताइएको छ । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा-टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद् ऋतुको उल्लासमय वातावरणमा यो पर्व मनाइने गरिन्छ । तर, यसपटक भने भोटेकोशी र पछिल्लो समय बूढीगण्डकीमा आएको बाढी र यसले पुर्‍याएको क्षतिका कारण विगतमा जस्तो उल्लासमय दशैँ हुन सकेको छैन । बाढी पहिरोले विभिन्न स्थानको सडक सञ्जाल पनि टुटाएको छ । यद्यपि, अनेक पीडाबीच हामीमाझ दशैँ पर्व आएको छ । आउनुहोस् यसलाई साझा पर्वका रूपमा मनाऔँ । बडादशैँ २०८३को सबैमा हार्दिक मंगलमय शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
ताजा खबरJust now

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

रातोपाटी
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
ताजा खबरJust now

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

रातोपाटी
कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
ताजा खबरJust now

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play