काठमाडौं । सडक ढलान योजनाको भुक्तानी दिने क्रममा ७२ हजार रुपैयाँ घुस लिएको अभियोगमा महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई विशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ। विशेष अदालतले बिहीबार सुनाएको फैसलाअनुसार यादवलाई ६ महिना कैदसँगै ७२ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। साथै, पीडित राहत कोषमा २ हजार २८० रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सोनमा गाउँपालिकामा सञ्चालित सडक ढलान योजनाको काम सम्झौताअनुसार सम्पन्न भइसकेपछि उपभोक्ता समितिलाई भुक्तानी दिने क्रममा यादवले विभिन्न बहाना बनाएर दुःख दिएका थिए। भुक्तानी प्रक्रियामा रकम माग गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। उजुरीका आधारमा अख्तियारको टोलीले २०८३ जेठ ८ गते यादवलाई ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। उनलाई महोत्तरीको औरही सडक क्षेत्रमा उपभोक्ता समितिका अध्यक्षसँग रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। पक्राउका क्रममा यादवको साथबाट घुसबापत लिएको ७२ हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँसमेत बरामद भएको थियो। अनुसन्धानका क्रममा सम्झौताअनुसार सडक ढलानको काम सम्पन्न भइसकेको अवस्थामा भुक्तानीका लागि घुस मागेर लिएको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
७२ हजार घुस लिने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई ६ महिना कैद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






