काठमाडौं। तिहारमा अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै तिहारका अवसरमा सञ्चालन हुने परम्परागत देउसी–भैलो कार्यक्रमलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न दिन अनुरोध गरेको हो। मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक रूपमा सञ्चालन गर्न दिन तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै, कुनै जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नारा प्रयोग गर्न नदिने व्यवस्था मिलाउन भनिएको छ। चाडपर्व मनाउने क्रममा जुवातास खेल्न नदिने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्ने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन नदिने व्यवस्था मिलाउन पनि गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न तथा अस्पताल, वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न जथाभावी फोहोर नगर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या परेमा तत्काल प्रहरीको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्र ११४५ मा सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ।
अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





