काठमाडौं । ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका जलविद्युत् आयोजनाले पनि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । मस्यौदाअनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका र धितोपत्र सार्वजनिक निष्कासनका अन्य आवश्यक सर्त पूरा गरेका निर्माणाधीन जलविद्युत् आयोजनालाई आईपीओ निष्कासनका लागि आवेदन दिन सक्ने व्यवस्था गर्न लागिएको छ । व्यापारिक उत्पादन सुरु नभएको कारणले मात्र त्यस्ता आयोजनाको सार्वजनिक निष्कासनसम्बन्धी निवेदन अस्वीकार गर्न नपाइने प्रस्ताव गरिएको छ । यद्यपि, आईपीओ निष्कासनका लागि आयोजनाको भौतिक प्रगति स्वतन्त्र प्राविधिक मूल्याङ्कनकर्ताबाट प्रमाणित भएको हुनुपर्नेछ । साथै आयोजनाको कुल लागत, सम्पन्न हुन बाँकी काम, आवश्यक थप लगानी र वित्तीय स्रोतको सुनिश्चितता भएको विवरण पनि खुलाउनुपर्नेछ । निर्माणको अवस्था, सम्भावित ढिलाइ, लागत वृद्धि तथा अन्य प्रमुख जोखिमका विषयसमेत विवरणपत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ । त्यसैगरी, विद्युत् खरिद सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र तथा अन्य आवश्यक नियामकीय स्वीकृतिको अवस्थाबारे जानकारी दिनुपर्नेछ । सार्वजनिक निष्कासनबाट प्राप्त रकम कुन प्रयोजनमा खर्च गरिने हो भन्ने स्पष्ट योजना पनि पेस गर्नुपर्नेछ । आयोजना निर्माण सम्पन्न हुने अनुमानित अवधि र व्यापारिक उत्पादन सुरु हुने सम्भावित समयसमेत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ । सार्वजनिक निष्कासनबाट प्राप्त रकम आयोजनाको स्वीकृत प्रयोजनमै उपयोग हुने सुनिश्चितता हुनुपर्नेछ भने नेपाल धितोपत्र बोर्डले लगानीकर्ता संरक्षणका लागि निर्धारण गरेका अन्य मापदण्डसमेत पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ । The post ५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






