काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना छन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई पनि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिबाना गरिएको उनले बताए। ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानी गर्दै आएको छ। प्रहरीले सवारीचालकलाई ट्राफिक नियम पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ। सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ।
२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ चालक कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालन्युज






