काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन्। ‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा उनले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गरिन्। मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन्। हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधता जोगाउन र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्याइरहेको उनको भनाइ थियो। जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै उनले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन्। उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताइन्। हिमाली मुलुकले यी चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। “हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ”, उनले भनिन्। कार्यक्रममा भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था, बेलायतको अन्तर्राष्ट्रिय विकास, एन्साब, विकास साझेदार, प्राज्ञिक क्षेत्र, विज्ञ, सामुदायिक अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।
‘हिमाली वनस्पति र च्याउको दिगो उपयोगमा क्षेत्रीय सहकार्य आवश्यक’

Read Complete Original Article
Published originally on नेपालन्युज






