काठमाडौं । हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच लामो समयदेखि चल्दै आएको फ्रान्समा रहेको वाइन कम्पनीको स्वामित्वको कानुनी विवाद अन्ततः अदालतबाहिरै साम्य भएको छ । सम्बन्धविच्छेदको कटुताका बीच अघि बढेको यो मुद्दा दुवै पक्षको आपसी सहमतिमा टुंगिएको हो । ‘हामीले हाम्रो परिवारको सर्वोत्तम हितलाई ध्यानमा राख्दै अदालतबाहिरै विवाद समाधान गरेका छौं र यस विषयमा थप टिप्पणी गर्ने छैनौं,’ दुवै स्टारका प्रतिनिधिहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । साथै, विज्ञप्तिमा मिडियामा ‘स्रोत’ लाई उद्धृत गर्दै आउने कुनै पनि समाचार दुवै स्टार वा उनीहरूका निकट व्यक्तिहरूबाट नआएको समेत स्पष्ट पारिएको छ । पिट र जोलीले सन् २००८ मा ‘स्याटो मिराभल’ नामक वाइन बनाउने कम्पनीको मुख्य सेयर खरिद गरेका थिए र त्यसको ६ वर्षपछि सन् २०१४ मा उनिहरूले त्यही ऐतिहासिक फार्म हाउसमा विवाह गरेका थिए । ‘स्याटो मिराभल’ उच्च गुणस्तरको ‘रोज वाइन’ का लागि विश्वचर्चित पनि छ । के थियो विवाद ? पिट (६२) ले जोली (५१) विरुद्ध दायर गरेको मुद्दामा आफूलाई जानकारी नै नदिई वाइनरीको आफ्नो सेयर रुसी व्यापारी (ओलिगार्च) युरी शेफ्लरको नियन्त्रणमा रहेको लक्जम्बर्गस्थित मदिरा कम्पनीलाई बिक्री गरेको आरोप लगाएका थिए । पिटका अनुसार दुवैबीच एकअर्काको अनुमतिविना सेयर बिक्री नगर्ने सहमति भएको थियो । जोलीको कदमले आफूलाई नोक्सान पुर्याउने नियत राखेको पिटको दाबी थियो । जवाफमा जोलीले पिटमाथि सन् २०१६ मा निजी जेटमा यात्राका क्रममा मादक पदार्थ सेवन गरी आफू र बालबालिकाहरूमाथि हातपात तथा गालीगलौज गरेको आरोप लगाउँदै प्रतिमुद्दा दायर गरेकी थिइन् । उक्त घटनालगत्तै जोलीले सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् । यद्यपि, प्रहरी अनुसन्धानपछि पिटमाथि कुनै अभियोग लगाइएको थिएन र उनले ती आरोपहरू अस्वीकार गर्दै आएका थिए । लामो कानुनी लडाइँपछि गत वर्षको अन्त्यतिर उनीहरूबीच सम्बन्धविच्छेदको अन्तिम टुंगो लागेको थियो । बाँकी रहेको वाइनरीको विवाद सुल्झिए पनि रुसी व्यापारीको कम्पनी ‘स्टोली ग्रुप’ सँग पिटको कानुनी प्रक्रिया भने अझै जारी रहेको बुझिएको छ । ‘ब्रान्जेलिना’ को सम्बन्ध र परिवार सन् २००५ को फिल्म ‘मिस्टर एन्ड मिसेस स्मिथ’ को छायांकनका क्रममा भेटिएका पिट र जोलीलाई मिडियाले ‘ब्रेन्जेलिना’ उपनाम दिएका थिए । त्यो समयमा उनीहरू हलिउडका सबैभन्दा चर्चित र सफल जोडीका रूपमा चिनिन्थे । जोलीको यो तेस्रो विवाह (पहिले बिली बब थोर्नटन र जोनी ली मिलरसँग) भएको थियो भने पिटको दोस्रो (पहिले ‘फ्रेन्ड्स’ अभिनेत्री जेनिफर एनिस्टनसँग) विवाह थियो । यस जोडीका ६ जना सन्तान छन् । सम्बन्धविच्छेदपछि ६ मध्ये ४ जना सन्तानले कानुनी रूपमा आफ्नो थरबाट ‘पिट’ हटाई ‘जोली’ मात्र राखेको हलिउड मिडियाहरूले जनाएका छन् ।
हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच फ्रेन्च वाइन कम्पनीको स्वामित्वमा समझदारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






