Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

स्वेच्छाचारिता र निरङ्कुशता स्वीकार्य छैन, भय र भ्रमको शासन बन्द गर : नेपाली कांग्रेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वेच्छाचारिता र निरङ्कुशता स्वीकार्य छैन, भय र भ्रमको शासन बन्द गर : नेपाली कांग्रेस
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले सरकारका पछिल्ला विवादित गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै ‘भय र भ्रमको शासन बन्द गर’ भन्ने नारासहित ६ बुँदे धारणा सार्वजनिक गरेको छ । आज बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि महामन्त्री प्रदीप पौडेलले कांग्रेसका तर्फबाट उक्त धारणा सार्वजनिक गर्नुभएको हो । कांग्रेसले पछिल्ला घटनाक्रमलाई प्रतिपक्षको आवाज दबाउने, पार्टी नेतृत्वलाई बदनाम गर्ने र राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार प्रयोग गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ । कांग्रेसले आफ्नो विशेष केन्द्रीय महाधिवेशन तथा १५औँ महाधिवेशन नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार सम्पन्न भएको दाबी गर्दै पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न र विभिन्न माध्यमबाट भइरहेको प्रचारलाई निराधार तथा नियोजित भनेको छ । पार्टीले २०८२ पुसमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भएको उल्लेख गरेको छ । त्यसपछि २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेको भन्दै कांग्रेसले लोकतान्त्रिक प्रक्रियामाथि दुष्प्रचार गरेर पार्टीका सदस्य तथा शुभेच्छुकको मानमर्दन गर्ने प्रयास भइरहेको आरोप लगाएको छ । कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध लगाइएका आरोप, तथाकथित अडियो तथा बयानहरूलाई कपोलकल्पित र नियोजित भन्दै आफूहरूमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न र आवश्यक छानबिनका लागि तयार रहेको जनाएको छ । साथै, यस प्रकरणसँग सम्बन्धित सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । त्यस्तै, कांग्रेसले चर्चामा रहेको ‘इनम सापकोटा प्रकरण’लाई गम्भीर रूपमा उठाउँदै प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडेर राज्यका निकाय दुरुपयोग भइरहेको आरोप लगाएको छ । प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता तथा निर्देशनमा अनधिकृत व्यक्तिमार्फत फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने र संवाद गर्ने गतिविधि भएको विषय सार्वजनिक भएको कांग्रेसको दाबी छ । अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्ति तथा प्रमाणमाथि अनधिकृत नियन्त्रण र छेडछाड भएको विषय पनि बाहिर आएको भन्दै पार्टीले राज्य संयन्त्रलाई सत्ताको स्वार्थअनुसार परिचालन गरिएको आरोप लगाएको छ । कांग्रेसले नेपाल प्रहरीका महानिरीक्षक हटाउने घटनालाई समेत यही शृङ्खलाको पछिल्लो कडीका रूपमा व्याख्या गरेको छ । आफ्ना कमजोरी ढाकछोप गर्ने, प्रश्न उठाउने नागरिकलाई तर्साउने र प्रतिपक्षलाई कमजोर बनाउने उद्देश्यले छनोटपूर्ण तथा निर्देशनात्मक अनुसन्धान भइरहेको पार्टीको ठहर छ । यस्ता घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै कांग्रेसले राज्य संयन्त्रको दुरुपयोग गरी अनधिकृत तथा गैरकानुनी काम गर्नेहरूमाथि समेत अनुसन्धान हुनुपर्ने जनाएको छ । कांग्रेसले विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र शक्ति पृथकीकरणलाई संविधानका आधारभूत मूल्यका रूपमा उल्लेख गर्दै यी विषयमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका सबै गतिविधि विधिको शासनमा आधारित हुनुपर्ने उल्लेख गर्दै पार्टीले न्यायपालिका तथा राज्यका संवैधानिक संस्थाहरूको सुदृढीकरण र स्वायत्तताको पक्षमा आफूहरू दृढ रहेको जनाएको छ । पछिल्लो समय सरकार स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै कांग्रेसले असंवैधानिक कदमविरुद्ध आवाज उठाउने नागरिक तथा प्रतिपक्षको अभिव्यक्ति दबाउन खोजिएको बताएको छ । अपारदर्शी निर्णय, पत्रकारमाथिको धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको कांग्रेसको धारणा छ । सरकारका गलत गतिविधिको विरोध गर्दा पार्टीमाथि षड्यन्त्र र आक्रमण हुनु नयाँ नभएको उल्लेख गर्दै कांग्रेसले आफ्नो ८० वर्षे राजनीतिक इतिहासमा यस्ता चुनौती पटक–पटक सामना गरेको जनाएको छ । पार्टीलाई बदनाम गर्ने प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट सशक्त रूपमा प्रस्तुत हुने कांग्रेसले चेतावनी दिएको छ । यसका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा आवश्यक कानुनी परामर्श प्रक्रिया अघि बढाउने र संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्गम्बेको नेतृत्वमा संसद्मा आवश्यक पहलकदमी लिने निर्णयसमेत कांग्रेसले सार्वजनिक गरेको छ । कांग्रेसले सरकारको प्राथमिकता जनताका वास्तविक समस्यामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना, ठप्प बनेको अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटको सम्बोधन सरकारका प्रमुख प्राथमिकता हुनुपर्ने पार्टीको भनाइ छ । प्रश्न उठाउने नागरिकको मुख थुन्ने, प्रतिपक्षसँग प्रतिवाद गर्ने र षड्यन्त्रमार्फत राजनीतिक वातावरण प्रभावित पार्ने गतिविधिमा सरकार केन्द्रित हुन नहुने कांग्रेसले जनाएको छ । १५ औँ महाधिवेशनबाट लिइएको नीतिअनुसार जनसरोकारका विषयमा जिम्मेवार र रचनात्मक सहयोग गर्न पार्टी सधैँ तयार रहेको उल्लेख गर्दै कांग्रेसले सरकारलाई राज्य संरक्षित अफवाह फैलाएर भय र भ्रम सिर्जना गर्ने प्रवृत्ति बन्द गर्न आग्रह गरेको छ । त्यस्तै, सरकारका गलत गतिविधिमाथि ‘प्रतिपक्षीय निगरानी’मार्फत प्रश्न उठाउँदा अत्तालिएर विषयान्तर गर्ने प्रयासमा नलाग्न पार्टी पङ्क्तिलाई आह्वान गर्दै कांग्रेसले विधिको शासन, नागरिक स्वतन्त्रता र जनसरोकारका मुद्दामा दृढ रहन आग्रह गरेको छ । कांग्रेसको सार्वजनिक ६ बुँदे धारणाले पछिल्लो राजनीतिक घटनाक्रममा सरकार र प्रमुख प्रतिपक्षबीच बढिरहेको अविश्वास तथा टकरावलाई थप सतहमा ल्याएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम
PoliticsJust now

‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम

काठमाडौं, कात्तिक १८ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई राज्य, संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री शाहलाई विगतका शासकहरूको अहंकार र स्वेच्छाचारिताबाट पाठ सिक्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले ...

जनताटाइम्स
आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला
PoliticsJust now

आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला

काठमाडौं, कात्तिक १८। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयबारे टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयबारे ...

जनताटाइम्स
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन
PoliticsJust now

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन

वासिङ्टन, कात्तिक १८ । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोर्नुपरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको पार्टी डेमोक्रेटिकले संसद्का दुवै सदन–प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने सफलता हासिल गरेको छ । निर्वाचन परिणामले ट्रम्प प्रशासनप्रति अमेरिकी मतदाताको असन्तुष्टि स्पष्ट पारेको छ । रिपब्लिकन पार्टीले आफ्नो परम्परागत प्रभाव रहेका राज्यहरूमा समेत महत्वपूर्ण सिट गुमाएको छ । ...

जनताटाइम्स
कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा
PoliticsJust now

कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र पार्टी नेतृत्वमाथि उठेका प्रश्न तथा आरोपको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले कांग्रेस र साे पार्टीका नेताहरूविरुद्ध षड्यन्त्र सुरु भएको उल्लेख गर्दै त्यस्ता प्रयासलाई चिर्न पार्टी सक्षम रहेको स्पष्ट पार्नुभयाे । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपसभापति ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play