ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले लोकतन्त्रको अवस्था मापन गर्ने महत्वपूर्ण आधार स्वतन्त्र प्रेस रहेको उल्लेख गर्दै पत्रकार स्वयं असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताए । “पत्रकारले कुनै राजनीतिक दल वा शक्तिको दबाबबिना सत्यतथ्य सार्वजनिक गर्न सक्ने वातावरण निर्माण हुनुपर्छ, कुनै पनि देशमा लोकतन्त्र छ वा छैन भन्ने कुराको सबैभन्दा बलियो आधार त्यहाँको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् कि पाउँदैनन् भन्ने हो”, वरिष्ठ उपसभापति शर्माले भने । वरिष्ठ उपसभापति शर्माले पत्रकारहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैका गतिविधिलाई समान दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसको १५औँ महाधिवेशन र विशेष महाधिवेशनका विषयमा सार्वजनिक भइरहेका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको बताए । पार्टी विधानको दफा १७ को उपदफा २ अनुसार महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको र त्यसपछि निर्वाचन आयोगले पार्टीको अभिलेख अद्यावधिक गरेको वरिष्ठ उपसभापति शर्माले बताए । यस विषयमा सम्मानित अदालतमा समेत बहस भई २०८३ वैशाख ४ गते फैसला आएको उल्लेख गर्दै उनले निर्वाचन आयोगको निर्णय र अदालतको आदेशमाथि प्रश्न उठाउने गरी भइरहेका प्रचारप्रति आपत्ति जनाए । वरिष्ठ उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न भएको र निर्वाचन प्रक्रिया एकै रातमा पूरा भएको उल्लेख गर्दै महाधिवेशनमा सहभागी हुन नसकेका तथा बाहिर रहेका नेता कार्यकर्तालाई समेत समेटेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिए। सरकारले आफ्नो प्राथमिकता विपद्पछिको पुनर्निर्माण, पुनःस्थापना र प्रभावित नागरिकको राहतमा केन्द्रित गर्नुपर्ने वरिष्ठ उपसभापति शर्माले बताए। विपद्बाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकलाई राहत, पुनःस्थापना र आवासको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सरकारको ध्यान अन्य विषयमा केन्द्रित भएकोप्रति प्रश्न उठाए । उनले कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै वर्तमान सरकारलाई पाँच वर्षसम्म निरन्तर काम गर्न दिनुपर्ने पक्षमा पार्टी रहेको बताए । “हामी सरकारलाई पाँच वर्षसम्म काम गर्न दिनुपर्छ भन्ने पक्षमा छौँ । तर सरकारको प्राथमिकता कहाँ छ भन्ने प्रश्न पनि उठाउँछौँ,” वरिष्ठ उपसभापति शर्माले भने। सरकारको नीति तथा कार्यक्रम तथा राष्ट्रिय महत्त्वका विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरे । पार्टी सभापति गगनकुमार थापासँग जोडिएका सार्वजनिक अभिव्यक्ति, श्रव्य सामग्री तथा विभिन्न आरोपका विषयमा कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ । पार्टीले ती विषयमा उठेका प्रश्नलाई बेवास्ता नगर्ने स्पष्ट पार्दै स्वतन्त्र, निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरेको छ । पार्टीको नेतृत्वमाथि लागेका आरोप तथा सार्वजनिक भइरहेका सामग्रीको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह गर्दै वरिष्ठ उपसभापति शर्माले कांग्रेस कुनै पनि प्रकारको अनुसन्धानको सामना गर्न तयार रहेको बताए । “नेपाली कांग्रेस पार्टी आफ्नो नेतृत्वका बारेमा उठाइने प्रत्येक प्रश्नको सामना गर्न र जस्तोसुकै छानबिन गर्न तयार छ । हामी स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धानको पक्षमा छौँ”, उनले भने । कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता, राज्यका संस्थाहरूको सुदृढीकरण र विधिको शासनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । सरकारले कुनै पनि व्यक्ति वा संस्थामाथि अनुसन्धान तथा कारबाही गर्दा पर्याप्त तथ्य, प्रमाण र कानुनी आधार स्पष्ट पार्नुपर्ने वरिष्ठ उपसभापति शर्माको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थामा पारदर्शिता, जवाफदेहिता र कानुनी शासन अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल, सरकारी निकाय र राज्यका अन्य संस्थाले पनि कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताए । वरिष्ठ उपसभापति शर्माले कांग्रेसले सरकारका कामकारबाहीमाथि संसदीय तथा राजनीतिक निगरानी जारी राख्ने र गलत गतिविधिका विषयमा आवाज उठाउने स्पष्ट पारे । पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीलाई सत्तापक्ष र प्रतिपक्ष दुवैसँग समान रूपमा प्रश्न गर्न, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा प्रेस स्वतन्त्रताको रक्षामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

Read Complete Original Article
Published originally on नेपालन्युज






