काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ र रुसी समकक्षी सी चिनफिङ र भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सी र पुटिनसँगको बैठकमा आणविक निःशस्त्रीकरणसहित विभिन्न विषयमा छलफल हुने बताए । “मलाई लाग्छ, राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग एउटा बैठक हुनेछ । त्यो निकै रोचक हुनेछ । हामी आणविक निःशस्त्रीकरणलगायत धेरै विषयमा कुरा गर्नेछौँ,” उनले भने । इरान युद्ध अन्त्य गर्ने प्रयास भइरहेको उल्लेख गर्दै ट्रम्पले त्यस दिशामा आफूहरूले राम्रो काम गरिरहेको दाबी गरे । इरानविरुद्धका कारबाहीमा अमेरिकाले गर्नुपर्ने सबै काम गरिरहेको र इरानलाई पूर्ण रूपमा दबाबमा राखेको उनको भनाइ थियो । ट्रम्पले इरानमा स्थलमार्गबाट हुने आपूर्ति रोक्ने उद्देश्यले सञ्चालन गरिएको अमेरिकी अपरेसन आइरन गेट लागु भइसकेको पनि बताए । “यसको अर्थ स्थलमार्गबाट केही पनि भित्र पस्न सक्दैन । नौसैनिक नाकाबन्दीका कारण समुद्री मार्गबाट पनि केही भित्र आउन सक्दैन,” उनले भने । सन् १९८९ मा स्थापना भएको एपेकमा अस्ट्रेलिया, क्यानडा, जापान, चीन, रुस र अमेरिकासहित २१ सदस्य छन् । सदस्य राष्ट्रका नेताहरू प्रत्येक वर्ष शिखर बैठकमा सहभागी हुँदै आएका छन् । अलजजिरा
सी र पुटिनसँग इरान युद्ध र आणविक निःशस्त्रीकरणबारे छलफल गर्ने ट्रम्पको भनाइ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






