बेइजिङ।चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ। विश्वका तीन प्रमुख शक्तिका राष्ट्र प्रमुखबीच हुन लागेको यस बैठकलाई अन्तर्राष्ट्रिय कूटनीतिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा अमेरिकी र रुसी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख गरेको छ। यद्यपि बैठकको कार्यसूची र छलफलका विषयबारे मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। उक्त भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा नोभेम्बर १७ र १८ मा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिखर सम्मेलनको सन्दर्भमा हुन लागेको हो। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) का अनुसार सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। सिन्ह्वाका अनुसार परिषद्का उपाध्यक्ष ली छिङ्सुआङले सम्मेलनमा अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र चीनका प्रतिनिधिहरूले विभिन्न सत्रमा सहभागिता जनाउने जानकारी दिए। सम्मेलनमा राजनीतिक नेतृत्वका साथै विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ। फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारी सम्मेलनमा सहभागी हुनेछन्। सहभागी विदेशी प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको संख्या सबैभन्दा बढी रहने र सम्मेलनमा सहभागी कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुने लीले जानकारी दिएका छन्। सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक संघका नेताहरू तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन्। ‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने सम्मेलनमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारलाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रमा लगानी र सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। यसैबीच, एपेक नेताहरूको आगामी शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ देखि शेन्जेनमा सुरु भएको छ। परिषद्ले निजी क्षेत्रका सुझाव समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। –रासस /सिन्ह्वा
सी, ट्रम्प र पुटिनबीच नोभेम्बर १९ मा त्रिपक्षीय शिखर बैठक

Read Complete Original Article
Published originally on नेपालन्युज






