काठमाडौं । सिन्धुपाल्चोकमा प्रहरीले स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआन सहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बरामद गरिएको उक्त रकम नेपाली रुपैयाँमा करिब १६ लाख ६ हजार ८०० बराबर हुन आउँछ। पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय उजियानदोजी रहेका छन्। जिल्लाको भोटेकोसी गाउँपालिका-२ स्थित १० किलो क्षेत्रमा रहेको अस्थायी प्रहरी पोष्ट अगाडि नियमित जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्टबाट खटिएको संयुक्त सुरक्षा टोलीले कोदारीबाट काठमाडौं आउँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो गाडी रोकेर जाँच गरेको थियो। प्रहरीका अनुसार गाडीको बीचको सिटमा बसेका सिरेनु ओजीले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको थियो। सोही गाडीका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-५ का २८ वर्षीय मोहन भण्डारीलाई आवश्यक अनुसन्धानपछि प्रहरीले छाडेको छ।
सिन्धुपाल्चोकमा दुई चिनियाँ नागरिक ६६ हजार युआन सहित पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






