सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए। वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको थियो। प्रदर्शनकारीहरूले राष्ट्रिय हित र अस्ट्रेलियाको पहिचानलाई प्राथमिकता दिनुपर्ने मागसहितका प्लेकार्ड र नारा प्रदर्शन गरेका थिए। जुलुसमा आप्रवासन नीतिका आलोचक र राष्ट्रवादी विचारधारा राख्ने समूहहरूको सहभागिता थियो। यस प्रदर्शनको प्रतिवादमा सिड्नी टाउन हल क्षेत्रमा शरणार्थी तथा आप्रवासी अधिकारका पक्षधर समूहहरूले पनि छुट्टै ‘काउन्टर र्याली’ गरेका थिए। उनीहरूले जातीय विभेद र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान र सामाजिक विविधताको पक्षमा नाराबाजी गरेका थिए। पछिल्लो समय अस्ट्रेलियामा बढ्दो जनसङ्ख्या, आवास सङ्कट र सार्वजनिक पूर्वाधारमाथिको दबाबलाई लिएर आप्रवासन व्यवस्थापनबारे बहस चर्किएको छ। एकातिर आप्रवासी समुदायले अस्ट्रेलियाको स्वास्थ्य, शिक्षा, कृषि र निर्माणलगायतका क्षेत्रमा दिएको योगदानको चर्चा हुने गरेको छ भने अर्कोतिर पूर्वाधार र स्रोतमाथिको चापका कारण आप्रवासन नीतिमा कडाइ गर्नुपर्ने माग पनि उठिरहेको छ। यसै सन्दर्भमा अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका आप्रवासी राजीव भुसालले अवसर र आश्रय दिएको देशप्रति आप्रवासीहरूले पनि सम्मान देखाउनुपर्ने धारणा व्यक्त गरेका छन्। आफूलाई स्वागत गर्ने देशको समाज, संस्कृति र मूल्यमान्यताको सम्मान गर्नु हरेक आप्रवासीको दायित्व भएको उनको भनाइ छ।‘कुनै देशले अवसर र राम्रो भविष्य दिएको छ भने त्यसको सम्मान गर्दै समाजमा सकारात्मक योगदान पुर्याउनुपर्छ,’ भुसालले भने, ‘पुस्तौँको मिहिनेतबाट निर्माण भएको समाजलाई कमजोर बनाउने वा अपमान गर्ने व्यवहार स्वीकार्य हुँदैन।’
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्याली

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






