काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसमक्ष सातबुँदे माग अघि सार्दै ती माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीका सेवा, सुविधा र निवृत्तिभरणलगायतका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको हो । महासंघले नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार मानेर निवृत्तिभरणसम्बन्धी व्यवस्था गर्न माग गरेको छ । नयाँ ऐन जारी हुनुअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण उपलब्ध गराउनुपर्ने र ऐन जारी भएपछि स्थायी हुने शिक्षक तथा कर्मचारीका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने महासंघको माग छ । यसका लागि शिक्षा ऐनमा आवश्यक व्यवस्था गरी निवृत्तिभरण ऐनसमेत सोहीअनुसार संशोधन गर्न महासंघले आग्रह गरेको छ । त्यस्तै, अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि अपुग सेवा अवधि अस्थायी सेवाबाट जोडेर निवृत्तिभरण उपलब्ध गराउन माग गरिएको छ । यो सुविधा यसअघि नै निवृत्त भइसकेका त्यस्ता शिक्षकलाई समेत उपलब्ध गराउनुपर्ने महासंघको माग छ । महासंघले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) का शिक्षकका लागि दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाटै तलबभत्ता उपलब्ध गराउन पनि माग गरेको छ । यसैगरी, नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित गरी सरकारसमक्ष पेस गरिएको ५४ सूत्रीय माग तत्काल सम्बोधन गर्नसमेत आग्रह गरिएको छ । महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधानमा सरकारले बेवास्ता गरे कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ । यी हुन् महासंघका ७ माग शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार बिन्दु मानी त्यसअघि स्थायी भएका सबै शिक्षकलाई पुरानो प्रणालीअनुसार निवृत्तिभरण प्रदान गर्ने र नयाँ ऐन जारी भएपछि स्थायी हुने शिक्षक-कर्मचारीका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने व्यवस्था शिक्षा ऐनमा मिलाउन तथा निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने। अस्थायी शिक्षकको निवृत्तिभरण सुविधा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि नयाँ सेवा अवधि मात्र नभई अस्थायी सेवाकालको अवधि जोडेर निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने। दुर्गम तथा स्थानीय भत्ता दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले दुर्गम तथा स्थानीय भत्ता पाउँदै आएको अवस्थामा कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा हटाइएको भत्ता पुनः उपलब्ध गराउनुपर्ने। विगतका वर्षमा खाइपाई सकेको भत्ता महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाई फिर्ता गर्न लगाइएको रकमसमेत सम्बन्धित शिक्षकलाई फिर्ता गराउनुपर्ने। विद्यालय कर्मचारी तथा ईसीडीका शिक्षकको व्यवस्था विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाट तलबभत्ता उपलब्ध गराउनुपर्ने। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने विद्यालय शिक्षा ऐनका लागि विधेयकको मस्यौदा तयार गरी नेपाल शिक्षक महासंघसँग संस्थागत सहकार्य र संवादमार्फत विधेयक तयार गर्नुपर्ने। विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने। ४८ बुँदे माग सम्बोधन नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस भएको ४८ सूत्रीय मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने। शिक्षा नियमावली संशोधन नेपाल शिक्षक महासंघबाट शिक्षा नियमावली (दशौँ संशोधन) को नियम १५७ उपनियम ३ अनुसार मन्त्रालयमा पेस भएको विधानलाई अविलम्ब स्वीकृत गर्नुपर्ने।
सातबुँदे माग अघि सार्दै शिक्षक महासंघले दियो आन्दोलनको चेतावनी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






