सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिककाे अधिकार : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभएको छ । आज मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको हो । उहाँले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री थापा मगरले अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीहरूले प्राप्त गरिरहेको सेवाप्रवाहबारे जानकारी लिनुभएको थियो । साथै, अस्पतालको समग्र अवस्था, सेवा प्रवाहमा गर्नुपर्ने सुधार तथा स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने विषयमा जानकारी लिनुका साथै सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिनुभएको थियो । अनुगमनपछि उहाँले प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा स्वास्थ्य संस्थाहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो । अस्पतालकाे अनुगमन पछि उहाँले भन्नुभयो, “हरेक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार हो । नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको दायित्व हो । आज नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन गरी त्यहाँको अवस्था, बिरामीहरूले पाइरहेको सेवा प्रवाह, सुधार गर्नुपर्ने पक्ष तथा सेवा विस्तारका विषयमा जानकारी लिएको छु । साथै, आवश्यक सुधारका लागि केही महत्त्वपूर्ण निर्देशनसमेत दिएको छु ।”
Read Complete Original Article
Published originally on जनताटाइम्स






