नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले यस्ता धम्की र त्रासबाट आफू नडराउने स्पष्ट पारे । आफूलाई पक्राउ गर्न आउने भए खाली हात नआउन र हतकडी लिएर आउन उनले चुनौतीसमेत दिए । राजाको शासनकालमा समेत आफूले राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले सत्तालाई प्रश्न गरेकै कारण आफू पछि नहट्ने बताए । उनले माओवादी सशस्त्र द्वन्द्वकालदेखि केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले निरन्तर सत्तालाई प्रश्न गर्दै आएको उल्लेख गरे । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफ्नो भूमिका नबदलिने उनको भनाइ थियो । ‘तपाईंलाई पोखरा लैजाला, तपाईंलाई समात्ला’ भन्दै साथीहरूले सचेत गराउने गरेको उल्लेख गर्दै थापाले भने, ‘पक्रने साथीहरूले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात नआउनु, हतकडी चाहिँ लिएर आउनु । खाली हात चाहिँ जान्न । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’ थापाले दोषीलाई कारबाही गर्ने सरकारको प्रयासमा कांग्रेसको साथ रहने तर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले अनुसन्धान गरिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिने र राजनीतिक रूपमा फरक विचार राख्नेहरूमाथि मात्रै कारबाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए । विगतका कमजोरी तथा अनियमितताबारे राज्यले गरिरहेको अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पार्दै उनले अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिए । ‘हामी नेता पनि भन्दैनौँ, नाता पनि भन्दैनौँ । विधिको शासनले जे भन्छ, त्यही गर्नुपर्छ,’ थापाले भने, ‘कोही मान्छे प्रधानमन्त्री बालेन साहसँग नजिक भएको कारणले छुट पाउनु हुँदैन । कोही राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले पनि छुट पाउनु हुँदैन ।’ उनले विगतमा शेरबहादुर देउवा र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि उनीहरू निकट रहेका व्यक्तिले राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउनु हुँदैन भन्ने कांग्रेसको धारणा रहेको स्मरण गराए । तर, राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्र प्रयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने उनको भनाइ थियो । राज्यका संयन्त्रलाई निजी कम्पनीजसरी सञ्चालन गर्ने र तिनको दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध कांग्रेसले आवाज उठाइरहने उनले बताए । थापाले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए । सरकारका राम्रा काममा कांग्रेसले साथ र सहयोग गर्ने तर गलत कामको निरन्तर आलोचना गर्ने उनको भनाइ थियो । सरकारको दबाब र धम्कीका कारण कांग्रेसले आफ्नो आलोचनात्मक भूमिका कमजोर नबनाउने स्पष्ट पार्दै थापाले सत्य, न्याय र विधिको शासनका पक्षमा उभिन पार्टीले नाफा–घाटाको हिसाब नगर्ने बताए ।
सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

Read Complete Original Article
Published originally on पर्दाफास





